तीन तारे विद्यालय : जो अरु विद्यालयका लागि समेत अनुकरणीय छ

  वास खबर सम्वाददाता  2574 पटक हेरिएको

बारा : विद्यार्थीहरुले चिसो पानी पिउनुपर्दैन । उनीहरुको इच्छा अनुसार तातो पिउनेलाई तातो र चिसो पिउनेलाई चिसो पानीको व्यवस्था छ, विद्यालयमै । त्यो पनि आरओ (RO)  सिस्टमबाट प्रशोधन गरिएको पानी ।

सरसफाइ सुविधा पनि सबै बालबालिकाका निम्ति पर्याप्त र पहुँचयोग्य छ । उचाई अनुसार पिसाब फेर्ने होचो, अग्लो युरिनलको व्यवस्था गरिएको छ भने छात्रछात्राका लागि छुट्टाछुट्टै र अपाङ्गता भएकाका लागि पनि अलग्गै शौचालयको व्यवस्था छ ।

कक्षा ५ सम्मको मात्र पढाई हुने बाराको कोल्हवी नगरपालिका ५ ककडीमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा महिनावारी हुने बालिकाहरु छैनन् । र पनि महिनावारी हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर स्यानिटरी प्याड व्यवस्थापनका लागि इन्सिनेरेटरको व्यवस्था गरिएको छ ।

बालबालिकाहरुका लागि स्वच्छता सुविधाको पनि कुनै कमी छैन । हात धुनका लागि उचाई अनुसारकै धाराको व्यवस्था गरिएको छ । अग्लो बालबालिकाका लागि अग्लो र होचोको लागि होचो धारा र सोही अनुसार साबुन राख्ने ठाउँको व्यवस्था गरिएको छ ।

विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता सुविधा भएपछि बालबालिकाहरुले बाहिर दिसापिसाब नगर्ने र विद्यालयमा स्वच्छ वातावरण निर्माण हुने प्रधानाध्यापक कल्याणी कुमारी चौधरीको अनुभव छ ।

बालबालिकालाई विद्यालयमै दिवा खाजाको व्यवस्था पनि छ । खाजा खानु अघि र खाएपछि पछि पनि साबुन पानीले मिचीमिची हात धुने बानीको विकास गरिएको छ । शौचालय गएपछि पनि विद्यार्थीहरुले साबुन पानीले हात धुन्छन् । विद्यालयमा गरिएको यी सबै अभ्यास घरमा समेत अबलम्बन गरिने भएकाले घरका अन्य सदस्यहरुको बानी व्यवहार परिवर्तन गर्न समेत सघाउन पुग्ने गरेको प्रधानाध्यापक चौधरी बताउनुहुन्छ ।

विद्यालयको लागि आवश्यक खानेपानी, सरसफाइ र स्वच्छताका पूर्वाधारहरु युनिसेफ नेपालको आर्थिक सहयोगमा पानी, वातावरण जीवन संस्थाले निर्माण गरेपछि विद्यालयले स्वमूल्याङ्कन गर्दा तीन तारा प्राप्त गर्न योग्य भएपछि श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई ‘तीन तारे विद्यालय’ घोषणा गरिएको प्रधानाध्यापक चौधरीले बताउनुभयो ।

तीन तारे घोषित यो विद्यालयको गेटबाट प्रवेश गर्ने वित्तिकै बेग्लै वातावरण पाउनुहुन्छ । तपाई हामी पनि विद्यालयकी प्रधानाध्यापक कल्याणी कुमारी चौधरीसँगै विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता सुविधाहरु हेरौं न त !


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार