सिरहा : गाउँ प्रवेश गर्ने वित्तिकै थाहा हुन्छ, यहाँका मानिसहरु सुखी, खुसी र भाग्यमानी छन् । किनकि खानेपानीको कत्ति पनि दुःख छैन, यहाँका समुदायलाई । साना केटाकेटी आमाको काखमा लडीबुडी खेलिरहेका हुन्छन् । घरका आमाहरु नुहाईधुँवाई गर्नमै व्यस्त हुन्छन् । स्कुले केटाकेटी पनि विद्यालयको आफ्नो पोशाक आफै धोईरहेका हुन्छन् । घरआँगनमै पानीको व्यवस्था भएपछि गाउँका अन्य महिला र पुरुषहरु बैठक बसेर गाउँको साझा बिषयमा छलफल गरिरहेका हुन्छन् ।
हेर्नुहोस् यो भिडियो :
सिरहाको नरहा गाउँपालिकाको वडा नंं १ देवीपूरमा यो दृश्य देखिन थालेको त्यत्ति लामो समय भएको छैन । अहिले आमाको काखमा खेलिरहेका बच्चा र आमा दुवै जना कुनै समय पानी ओसार्न व्यस्त हुन्थे । अहिले बैठक बसिरहेका महिला पुरुष पनि पानीको लागि झगडा गरिरहेको हुन्थ्यो । ‘अहिले त खानेपानीको व्यवस्था भएर बैठक बस्न पाएका हौं, हामीलाई ढुक्क छ’ देवीपूर खानेपानी उपभोक्ता समितिकी उपाध्यक्ष हदिसा खातुन भन्नुहुन्छ ‘गाउँमा पानी आउनु भन्दा अगाडि त पानी खोसाखोस गरिरहेका हुन्थ्यौं ।’
खानेपानी उपभोक्ता समितिका अध्यक्ष चीनगाडी सदायले समेत खानेपानीको लागि कैयौं पटक झगडा परेको सुनाउनुभयो । ‘यस्तो आनन्द कहाँ थियो र यहाँका बासिन्दालाई, पहेंलो पानी पिउनुपर्ने बाध्यता थियो, त्यसमा पनि समुदायिक ट्युबेलमा झगडा गरेर लिनुपर्थ्यो ।’
युनिसेफ नेपालको ५६ लाख ४४ हजार ५२० रुपैयाँ अनुदान, देवीपुरका बासिन्दाको १० लाख १८ हजार ८ सय ९३ रुपैयाँ बराबरको श्रमदान र पूर्व वडाअध्यक्ष अशोक शाहले निशुल्क जग्गा उपलब्ध गराएपछि देवीपूरका बासिन्दाले पहेंलो पानी पिउनुपर्ने बाध्यताबाट मुक्ति पाएको हो ।

कोरोना कहरकै बीच पनि सबैको प्रयासबाट देवीपूरमा स्वच्छ खानेपानी उपलब्ध गराउन सम्भव भएको सामाजिक परिचालक सुरेन्द्र कुमार शाहले बताउनुभयो । पूर्व वडाध्यक्ष अशोक कुमार शाहले निशुल्क उपलब्ध गराउनु भएको जग्गामा अहिले ओभर हेड ट्याङ्क निर्माण गरिएको छ । सोही जग्गामा बोरिङ गरिएको पानी ओभरहेड ट्याङकमा जम्मा गरी देवीपुरका १ सय ७६ घरमा वितरण गरिएको छ ।
स्वच्छ पानी पिउन पाएपछि पानीजन्य रोगहरुबाट समेत मुक्ति मिलेको देवीपूर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव महम्मद एकलाखले बताउनुभयो । ‘कसैलाई झाडापखाला हुने, कसैलाई एनिमिया हुने सम्म हुन्थ्यो, अहिले स्वच्छ पानी पिउन थालेपछि त्यस्तै कुनै पनि समस्या देखा परेको छैन’ सचिव महम्मद एकलाखले भन्नुभयो ।

कुनै समय खानेपानीको लागि पोखरी र सामुदायिक ट्युबेलको पानीमा भर पर्दै आएका देवीपुरमा अहिले एक घर एक धाराको व्यवस्था भएको छ । पानीको व्यवस्थापन र सामान्य मर्मत सम्भारको लागि ग्रामीण मर्मत सम्भार कार्यकर्ताको पनि व्यवस्था गरिएको छ । खानेपानी महसुल बापत हरेक घरले मासिक ५० रुपैयाँ संकलन गर्ने गरिएको र सोही रकमबाट आफ्नो पारिश्रमिक र केही मर्मत सम्भार कोषमा समेत जम्मा गर्ने गरिएको मर्मत सम्भार कार्यकर्ता आशा कुमारी महराले बताउनुभयो ।
खानेपानी संरचनामा सामान्य टुटफुट भएमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नै मर्मत गर्ने, समितिले गर्न नसक्ने काममा वडा कार्यालय गुहार्ने र अलि ठूलै रकम लाग्ने काममा गाउँपालिकासँग सहयोग माग्ने समितिको योजना रहेको अध्यक्ष चीनगाडी सदायले सुनाउनुभयो ।



773 पटक हेरिएको 

