काठमाडौ : डोल्पालाई खुलादिसामुक्त जिल्ला घोषणा गरिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज विसीको प्रमुख आतिथ्य तथा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख तथा जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) डोल्पाका अध्यक्ष शेर बहादुर बुढाको सभापतित्वमा डोल्पालाई विहीबार ४२ औं खुला दिसामुक्त घोषणा गरिएको हो । डोल्पा, कर्णाली अञ्चलमा तेस्रो खुला दिसामुक्त जिल्ला भएको छ ।
घरघरमा चर्पी हाम्रो सान, सफा स्वच्छ डोल्पाबासीको पहिचान भन्ने मूल नाराका साथ आयोजना गरिएको घोषणा सभामा सरसफाइ सम्बन्धी प्लेकार्ड बोकेर आएका डोल्पाका गाउँ गाउँका बासिन्दाले विभिन्न झाँकी प्रस्तुत गरेका थिए ।
खुला दिसामुक्त जिल्ला घोषणा समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं खानेपानी तथा सरसफाइ सचिव कृष्णराज विसीले डोल्पा जस्तो हिमाली जिल्लालाई ४२ औं खुलादिसामुक्त जिल्ला घोषणा गर्न पाउँदा गर्वित भएको बताउनुभयो । उहाँले खुलादिसामुक्त दिसा लुकाउने अवस्था मात्र भएको र राष्ट्रको लक्ष्य पूर्ण सरसफाइ भएकाले त्यतातिर उन्मुख हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले सन् २०१७ भित्र देशलाई नै खुलादिसामुक्त गर्नुपर्ने दायित्व रहेको तर समय भने नजिक आइसकेको बताउनुभयो । उहाँले अहिले पनि धेरै जिल्लाहरु खुलादिसामु्क्त घोषणा गर्ने चरणमा रहेकोब बताउनुभयो ।
गत भदौ २५ गते सत प्रतिशत घरमा चर्पी निर्माण भई प्रयोग भइरहेका जिल्लाहरुलाई तत्काल खुला दिसामुक्त घोषणा गर्ने व्यवस्था मिलाउन राष्ट्रिय स्वच्छता तथा सरसफाइ समन्वय समितिको सचिवालयले भोजपुर, संखुवासभा, पाल्पा, डोल्पा, हुम्ला, मुगु, दार्चुला र कञ्चनपुरलाई परिपत्र गरेको थियो । सचिवालयले परिपत्र गरेपछि खुलादिसामुक्त घोषणा भएको यो पहिलो जिल्ला हो । डोल्पा पछि हुम्लालाई खुलादिसामुक्त गर्ने तयारी भईरहेको र समय निश्चित भइनसकेको खानेपानी तथा ढल निकास विभाग, वातावरणीय सरसफाइ शाखाका प्रमुख एवं सचिवालय सदस्य सचिव प्रेमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
फोटो : टेकम वलीको फेसबुकबाट