तेह्रथुम : तेह्रथुमको फेदाप गाउँपालिकामा लिफ्टिङ प्रणालीबाट खानेपानी आपूर्ति गर्न खानेपानी आयोजना निर्माण भइरहेको छ । साविक जलजले–२ स्थित चापाबोटे र पधेँरे मुहानबाट लिफ्टिङ प्रणालीबाट पानी तानेर खानेपानी योजना निर्माण सुरु भएको हो ।
आगामी माघ मसान्त सम्ममा खानेपानी वितरण गर्ने गरी निर्माणको काम भइरहेको चापाबोटे–पधेँरे खानेपानी आयोजनाका उपाध्यक्ष होम कोइरालाले बताउनुभयो ।
आयोजना ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समिति (फनबोर्ड) को आर्थिक सहयोग तथा देउराली सोसाइटी, तेह्रथुमको सहजीकरणमा निर्माण हुन लागेको हो । आयोजनाका लागि फनबोर्डले ५० लाख २ हजार नगद र १४ लाख रुपैयाँ बराबरका आवश्यक सामाग्रीहरु उपलब्ध गराएको देउराली सोसाइटीका अध्यक्ष मोहन भण्डारीले बताउनुभयो ।
आयोजनाका लागि १ सय २ घर उपभोक्ताले प्रति परिवार ३ हजारका दरले ३ लाख बढी रुपैयाँ नगदै जम्मा गरिसकेका छन् । उनीहरुले १५ लाख रुपैयाँ बराबरको श्रमदान समेत गर्नुपर्ने अध्यक्ष भण्डारीले बताउनुभयो । उपभोक्ताले प्रति परिवार ४२ दिनसम्म श्रमदान पनि गर्नुपर्नेछ ।
यसरी वितरण गरिनेछ पानी
भर्टिकल उचाई २ सय ४५ मिटर र सतही रुपमा १ हजार ५० मिटर तल रहेको चापाबोटे र पधेँरे मुहानबाट पानी तानेर टयाङ्कीमा जम्मा गरी खानेपानी वितरण गरिनेछ । प्राविधिक नरबहादुर लिम्बु अनुसार दुई वटै मुहानमा ८–८ घन मिटरका पानी जम्मा गर्ने ट्याङ्की निर्माण भइरहेको छ ।
पानी तानेर माथि लैजानका लागि दुई ७.५ एचपीका मटर जडान गर्ने तयारी रहेको छ । ‘आयोजना निर्माणको काम अघि बढेको छ, मंसिर मसान्त सम्ममा रिजर्ब ट्याङ्कीमा पानी पु-याउँछौँ’ लिम्बुले भन्नुभयो ‘त्यसपछि पाइपमार्फत घर–घरमा मिटर प्रणाली मार्फत पानी वितरण हुनेछ ।’ खानेपानी वितरणका लागि बस्ती भन्दा माथि १२ घन मिटरको पानी जम्मा गर्ने ट्याङकी निर्माण भइरहेको छ ।
आयोजना निर्माण हुने भएपछि गाउँ छाडेर बसाई जान लागेकाहरु पनि रोकिएका भञ्ज्याङ आधारभूत विद्यालयका प्रधानाध्यापक मेघराज बस्नेतले बताउनुभयो । ‘विद्यालयमा पनि बालबालिकाले पानीको सुविधा पाउने भए,’ प्रअ बस्नेतले भन्नुभयो, ‘पानी नहुँदा अहिले घरैदेखि पानी बोकेर ल्याउनुपर्छ, शौच गर्न झाडी छिर्नुपर्ने अवस्था छ ।’
आयोजनाबाट साविक जलजले–२, ५ र सिम्ले–५ का बासिन्दालाई लाभ पुग्नेछ । जलजले–९ का १९ घर, २ का ४९ र सिम्ले– ५ का ३४ गरी जम्मा १ सय २ घरपरिवार सहित एक विद्यालयलाई समेत लाभ पुग्ने प्राविधिक नरबहादुर लिम्बुले बताउनुभयो ।


1065 पटक हेरिएको 

