सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाको गेटबाट प्रवेश गर्ने वित्तिकै दायाँतिर दर्ता चलानी तथा सोधपुछ कक्ष देखिन्छ । सोही कक्षको भित्तामा सेवाग्राहीको सहजताका लागि नगर प्रमुख देखि सबै शाखा तथा ईकाईहरु सूचीकरण गरिएको छ । सूचीको ९ नम्बरमा छ ‘खानेपानी तथा सरसफाइ इकाई’ ।
खानेपानी, सरसफाइ र स्वच्छता हेर्ने छुट्टै ईकाई स्थापना भएपछि खानेपानी र सरसफाइ सँग सम्बन्धित काम लिएर आउने सेवाग्राही सीधै ‘९ नम्बर’ कोठामा पुग्छन् । वास एलायन्स इन्टरनेसनल (WAI) ले सञ्चालन गरिरहेको वास दिगो विकास लक्ष्य कार्यक्रम (WASH SDG Programme) अन्तर्गत वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले प्रमाणमा आधारित खानेपानी र सरसफाइ सम्बन्धी विभिन्न पैरवी गरेपछि भेरीगंगा नगरपालिकामा वासको छुट्टै ईकाई स्थापना भएको हो ।

यस अघि भेरीगंगा नगरपालिकामा खानेपानी तथा सरसफाइको मात्र काम गर्नका लागि कसैलाई जिम्मेवारी तोकेको थिएन । यसले गर्दा सेवाग्राही पनि अलमलमा पर्ने र कार्यालयले पनि प्राथमिकता दिएर काम सम्पन्न गर्न सकेको थिएन । ‘वासको छुट्टै इकाई स्थापना भएपछि सेवाग्राही र कर्मचारी दुवैलाई सजिलो भएको छ । ईकाई प्रमुख चित्र बहादुर केसी भन्नुहुन्छ ‘सेवाग्राहीबाट माग संकलन, त्यसको सुनुवाई र योजनाबद्ध विकासका लागि पनि सजिलो भएको छ, इकाई स्थापनाले हामीलाई पनि जनउत्तरदायी र जवाफदेही बनाएको छ ।’
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
वास ईकाई स्थापना भएपछि यत्ति धेरै प्रगति
खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्र मात्र हेर्ने छुट्टै इकाई स्थापना भएपछि यस सम्बन्धी मागहरुको सम्बोधन गर्न, योजना बनाउन र कार्यान्वयन गर्न सघाउ पुगेको छ । वास इकाई स्स्थापना भएपछि खानेपानी, सरसफाइ र स्वच्छता (वास प्लान) को कार्यान्वयनमा सघाउ पुगेको छ । यसका लागि नीति नियम, कार्यविधि, निर्देशिकाहरु जारी गरी कार्यान्वयन गरिरहेको इकाई प्रमुख केसीले बताउनुभयो ।
वास प्लानको कार्यान्वयनबाट खानेपानी तथा सरसफाइ क्षेत्रको योजनाबद्ध विकासले प्राथमिकता पाउनेछन् । वास प्लानको प्राथमिकीकरणमा परेका योजनाहरुलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने भएकाले समतामूलक विकास प्रक्रियालाई पनि बढावा पुग्ने उहाँको विश्वास छ । यसले गर्दा खानेपानी तथा सरसफाइको बार्षिक बजेट निर्धारण, स्रोतको खोजी र अद्यावधिक गर्न पनि सजिलो हुनेछ ।
‘इकाई स्थापना हुनु अघि वास क्षेत्र कसले हेर्ने ? खानेपानी तथा सरसफाइको क्षेत्रमा लगानी गर्ने संघसंस्थाहरु आयो भने को सँग समन्वय गर्ने भन्ने अन्यौलता थियो । जसले गर्दा वास क्षेत्रको विकास सोचे अनुरुप भएको थिएन ।’ इकाई प्रमुख केसी भन्नुहुन्छ ‘इकाई स्थापना भएपछि सबै अन्यौलता हटेको छ, सरासर म कहाँ आउँछन्, हामी पनि छिटो छरितो सेवा प्रदान गर्छौं ।’
वास इकाईमा अहिले ४ जना कर्मचारीहरु कार्यरत छन् । नगरपालिकाको फोहोर व्यवस्थापन समेत वास इकाई अन्तर्गत नै सम्पादन हुँदै आएको छ । एक जना इकाई प्रमुख, एक जना गाडी चालक र २ जना सफाइ कर्मचारीद्वारा सञ्चालन हुँदै आएको वास इकाईलाई भविश्यमा कार्यक्षेत्र विस्तार सँगै शाखामा परिणत गर्ने नगरपालिकाको योजना छ ।


749 पटक हेरिएको 

