सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका वडा नंं. १६ को परवाणीपुर जुन दिन सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा हुँदै थियो, सोही कार्यक्रममा सहभागी हुन म पनि परवाणीपुर पुगेको थिएँ । कार्यक्रम सुरु हुन केही समय बाँकी रहेकाले आयोजना स्थल नजिकैको बस्तीका आमाहरुसँग खानेपानीको कुरा गर्ने मेसो मिलाएँ ।
दुःखकै कहानी सुनाउने क्रममा तेस्रो महिलाले नै ती दुई जना महिला बीचको नाता खुलाई दिनुभयो । ती दुई सौताले यस अघि कहिल्यै नखोलेका आन्तरिक कुरा पनि खोलेका छन् ।
बाटो सँगैको एउटा घरमा केटाकेटी, युवायुवती र बृद्धा अवस्थाका महिलाहरुको जमघट थियो । मनमनै सोचें ‘यहाँ चाहिं सामूहिक रुपमा कुराकानी गर्न पाए पुस्तान्तरण सँगै खानेपानीको बदलिँदो आयामका बारेमा पनि केही न केही कुरा थाहा पाउनेछु ।’
खानेपानीको लागि झेलेका दुःखका कहानी सुरुमा सुनाए पनि रेकर्ड गर्ने भनेपछि विभिन्न कारण देखाउँदै युवापुस्ता पछि हटे । दुई जना आमाहरु भने दुःखका ती दिनहरु र वर्तमानको सुखको कथा सुनाउन तयार हुनुभयो । अनि दुवै जना खाटमा पलेंटी कसेर बस्नुभयो ।
खानेपानीको लागि भोक खपेका, मुद्दा खेपेका, निन्द्रा त्यागेका र जवानी खर्चेका ती दिनहरुको बारेमा कुराकानी मात्र के सुरु भएको थियो, त्यही बेला एक जना गेरु वस्त्रधारी महिला आईपुग्नुभयो । खानेपानीको सुख दुःखका कथा भन्ने अब हामीसँग ३ जना हुनुभयो ।

त्यत्तिञ्जेलसम्म अघिल्ला दुई जना आमाहरु सौता सौता हुनुहुन्छ भन्ने थाहा थिएन मलाई । दुःखकै कहानी सुनाउने क्रममा तेस्रो महिलाले नै ती दुई जना महिला बीचको नाता खुलाई दिनुभयो । त्यसपछि झन् रमाईलो वातावरण बन्यो । ती दुई जना सौताले यस अघि कहिल्यै नखुलाएका आन्तरिक कुरा पनि खुलाएका छन् ।
तीनै जना महिलाले खानेपानीको लागि झेलेका कठिनाई र स्वर्गतुल्य अहिलेको अवस्थाबारे बताईरहँदा छोरी, बुहारी, नाती नातिना र गाउँका अन्य महिला पनि वरिपरि बसेर सुनिरहेका थिए । परवाणीपुरलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रममा जानका लागि पनि गाउँका अन्य घरका मानिस समेत त्यहाँ भेला भएका रहेछन् ।
हेर्नुहोस् सौता सौता बीचको खानेपानी कहानी :
नयाँ आँपचौरको पानी पिउने ७ सय ६३ घरको सुरक्षित खानेपानीमा पहुँच
कुनै समय दिसा तैरिरहेको पानी पिउनुपर्ने बाध्यतामा बाँचेका परवाणीपुरका ७ सय ६३ घर सुरक्षित खानेपानीको पहुँचमा पुगेका छन् । लालबन्दी नगरपालिकाको वडा नंं. १६ स्थित नयाँआँपचौर खानेपानी तथा सरसफाइ आयोजनाबाट वितरित पानी सुरक्षित छ भन्ने सुनिश्चितता भएपछि उक्त समुदायलाई केही दिन अघि मात्र सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।
नयाँ आँपचौर खानेपानी योजना मार्फत कालिन्जोर खोलाको करिव साढे दुई किलोमिटर टाढादेखि ३ वटा मुहानबाट बस्तीसम्म पानी ल्याएर वितरण गरिएको छ । कूल ३६.७९ किलोमिटरमा फैलिएको यो योजनाले २ वटा रिजर्भ्यायरमा पानी संकलन गरी ७ सय ६३ घरमा धारा जडान गरी खानेपानी सेवा वितरण गरिरहेको छ । यसबाट ५ हजार २ सय ५३ जना लाभान्वित भएका छन् । सेवा क्षेत्रभित्र २ वटा सामुदायिक विद्यालय, २ वटा निजी विद्यालय र अन्य ३ वटा संस्थाहरु समेत रहेका छन् ।
नयाँ आँपचौर खानेपानी तथा सरसफाइ योजना निर्माणका लागि लालबन्दी नगरपालिका, युनिसेफ नेपाल, बैकल्पिक उर्जा प्रबद्र्धन केन्द र समुदायले गरी कुल १ करोड, ११ लाख ८८ हजार ८ सय ६४ रुपैयाँ लगानी गरेका छन् ।


567 पटक हेरिएको 

