खानेपानी र सरसफाइ सुविधाले विद्यार्थी उपस्थिति दर बढ्यो

सरसफाइमा मासिक ५ रुपैयाँ बालबालिकाको योगदान

  पी.टी.लोप्चन  982 पटक हेरिएको

सिरहा : बिहान १० बजे विद्यार्थीले टनाटन भरिएको कक्षा दुई बजेपछि आधाजसो खाली भईसकेको हुन्थ्यो । दैनिक कक्षा छोड्ने विद्यार्थी मात्र होइन, शैक्षिक सत्र पूरा नगरी बीचैमा छोड्ने विद्यार्थीको संख्या पनि उल्लेख्य थियो । सिरहाको धनगढीमाई नगरपालिका १३ स्थित आधारभूत विद्यालय कैलाशपुर भोर्लेनीका प्रधानाध्यापक अमर कुमार योञ्जन भन्नुहुन्छ ‘विद्यार्थी टिकाउन निक्कै हम्मे -हम्मे परेको थियो ।’

प्रधानाध्यापक योञ्जनका अनुसार पहिले विद्यालयमा एउटा मात्र धारा थियो । पानी पिउन, शौचालयमा प्रयोग गर्न र हात धुन त्यही एउटा धाराको भर पर्नुपर्थ्यो । ३ सय ३५ जना विद्यार्थी अध्ययन गर्ने आधारभूत विद्यालय कैलाशपुर भोर्लेनीमा न पानीको पर्याप्त व्यवस्था थियो, न शौचालयको सुविधा नै ।

प्रधानाध्यापक अमर कुमार योञ्जन त्यत्तिबेलाको अवस्था सम्झिदै भन्नुहुन्छ ‘५ सय लिटरको मात्र ड्रम थियो । त्यही ड्रमको पानी पिउन, शौचालयमा प्रयोग गर्न र हात धुन प्रयोग गर्दा २ घण्टामै रित्तिन्थ्यो ।’

हेर्नुहोस् यो भिडियो :

विद्यार्थीको उपस्थिति दर बढ्यो

आधारभूत विद्यालय कैलाशपुर भोर्लेनीमा अहिले अग्ला होचा सबै विद्यार्थीले पानी पिउन सकिने गरी बनाईएको १० वटा धारा छन् । शौचालयमा धारा खोल्न साथ चौबीसै घण्टा पानी आउँछ । हात धुने स्थानमा ५ वटा धारा छन् । अग्ला होचा बालबालिकाको उचाई अनुसार धारा निर्माण गरिएकाले साना बालबालिकाले पनि हात धुन सक्छन् । अर्को एउटा धारा पनि छ, त्यहाँ भाँडाकुँडा सफा गर्ने गरिन्छ ।

प्रधानाध्यापक योञ्जनका अनुसार अहिले शौचालय र पिउने पानीको बेग्ला बेग्लै वितरण प्रणाली छ । शौचालयमा जाने र पिउने पानीको वितरण प्रणाली नै फरक भएकाले कथंकदाचित एउटा ठाउँमा पानी अभाव हुँदा सबैतिर पानी नै नहुने अवस्था सिर्जना हुँदैन ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा मधेश प्रदेशका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा उदार करुणामयी स्वयंसेवक (एन.सी.भी) र रतौली युवा क्लव (आर.वाई.सी.) ले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम सञ्चालन गरेपछि विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता अवस्था सुधार भएको हो ।

कुनै समय बीचैमा कक्षा छोड्ने बालबालिकाहरु अहिले पढाई हुन्जेलसम्म विद्यालयमै बस्छन् । प्रधानाध्यापक योञ्जन भन्नुहुन्छ ‘खानेपानीले गर्दा शौचालय पनि सफा छन्, पिउने पानीको पनि कुनै समस्या नभएपछि बालबालिकाको उपस्थिति दर बढेको छ । बालबालिकालाई कक्षाकोठामै टिकाउन सकेका छौं ।’

प्यान सेटमा १० भन्दा बढी प्याड भेटेको त्यो पल

एक दिन एक जना स्टाफले खबर ल्याउनुभयो ‘हेड सर टोईलेट त जाम छ’ त्यसपछि प्रधानाध्यापक योञ्जन शौचालयमा पुग्नुभयो । पछि सरसफाइ गरेर हेर्दा १०/१२ वटा प्याड प्यान भित्र भेटियो’ प्रधानाध्यापक योञ्जन भन्नुहुन्छ ‘अहिले त प्याड फेर्ने ठाउँको व्यवस्था छ, जलाउने ठाउँ छ, अहिले त्यस्तो अवस्था भोग्नुपरेको छैन ।’

प्रधानाध्यापक योञ्जनको अनुभवले भन्छ ‘बालिकाहरुले महिनावारी हुँदा प्याड फेर्ने ठाउँ भएन भने घरैमा बस्ने रहेछन्, आएका बालिकाहरुले पनि विसर्जन गर्ने उचित ठाउँ नहुँदा शौचालयको प्यान सेटमा हालिदिने रहेछ ।’

अहिले विद्यालय खानेपानी, सरसफाइ र स्वच्छता कार्यक्रमले प्याड फेर्ने र डिस्पोज गर्ने ठउँ बनाएपछि बालिकाहरुलाई महिनावारी भएको समयमा पनि कुनै समस्या नपर्ने उहाँले बताउनुभयो । यसले गर्दा छात्रा उपस्थिति दर पनि बढेको उहाँको अनुभव छ । ‘पहिले महिनावारी हुँदा कतिपय बालिकाहरु ४/५ दिन विद्यालय आउँदैनथे । तर अहिले अवस्था फेरियो, शौचालय भित्र प्याड चेन्ज गरेर त्यहीबाट प्याड फाल्न मिल्ने ठाउँ बनाईएको छ । अनि जम्मा भएको प्याडलाई त्यही जलाउन मिल्ने व्यवस्था छ’ उहाँले भन्नुभयो ।

फोहोरमैला व्यवस्थापनका लागि पनि सिसाजन्य, प्लाष्टिक, कागज राख्ने बेग्ला बेग्लै टोकरी उपलब्ध गराएको छ ।

विद्यालय वरपरको वातावरण सफा सुग्घर राख्न विद्यालयको आफ्नै नियम छ । प्रत्येक दिन कक्षाकोठा देखि खेलमैदानसम्म १० बज्नु अघि नै सरसफाइ भईसकेको हुन्छ । शुक्रबारको दिन भने शिक्षक विद्यार्थी सबै मिलेर शौचालय देखि विद्यालयको सारा परिसर सरसफाइ गर्ने गरिएको प्रधानाध्यापक योञ्जनले सुनाउनुभयो ।

विद्यालयमा निर्मित खानेपानी, सरसफाइ र स्वच्छता संरचनाको सुचारुपना र दिगोपनाका लागि विद्यालयले ५ हजार बराबरको मर्मत सम्भार कोष स्थापना गरी बैंक खाता सञ्चालन गरिसकेको छ । विद्यार्थीहरुले सरसफाइका लागि प्रत्येक महिना ५ रुपैयाँ संकलन गर्छन् । उक्त रकम पनि सोही मर्मत सम्भार कोषमा जम्मा गर्ने गरिएको उहाँले बताउनुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार