बायोस्याण्ड फिल्टरमा भविश्य बनाउँदै ‘बिष्णा’

फिल्टर उत्पादनमा बिमारले ब्रेक

  पी.टी.लोप्चन  600 पटक हेरिएको

फिल्टर बनाएर बिक्री गर्ने बिष्णाको जिन्दगी फिल्टरले छानेको पानी जस्तो सङ्लो हुन भने सकेको छैन ।

किराना पसल, भैंसी व्यापार, कुखुरा पालन, खसीबोका बिक्री लगायत व्यवसाय गरिसक्नु भएकी बराहताल गाउँपालिका ८ सुर्खेतकी बिष्णा विकको व्यवसायिक क्षेत्र अहिले अन्यत्र मोडिएको छ । बायोस्याण्ड फिल्टर बनाउने तालिममा वडा कार्यालयले उहाँको नाम पनि सिफारिस गरेपछि व्यवसायिक क्षेत्र बदलिएको हो । बिष्णा विगत दुई बर्ष यता ‘बायोस्याण्ड फिल्टर’ मा भविश्य बनाउँदै हुनुहुन्छ ।

सिमाभि (SIMAVI) र वास एलायन्स इन्टरनेसनल (WAI) ले सञ्चालन गरिरहेको वास दिगो विकास लक्ष्य कार्यक्रम (WASH SDG Programme) अन्तर्गत वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले बायोस्याण्ड फिल्टर निर्माण सम्बन्धी तालिम आयोजना गरेको थियो । तालिममा बराहताल गाउँपालिकाको १० वटै वडाबाट २/२ जनाका दरले सहभागी भएका थिए । सोही तालिम पछि बायोस्याण्ड फिल्टरमा भविश्य देखेर व्यवसायिक रुपमै उत्पादन गर्न लागेको उहाँले बताउनुभयो । बिष्णा भन्नुहुन्छ ‘पाँच दिनको तालिममा बायोस्याण्ड फिल्टर बनाउने तरिका सिकाउनुभयो, सिमेन्ट, गिट्टी बालुवाको गुणस्तर र अनुपात मिलाउन पनि जानियो । तालिम सके लगत्तै फिल्टर उत्पादन गर्न थालिहाल्यौं ।’

फिल्टर बनाउने एउटा फर्म तालिममै उपलब्ध गराए पनि फिल्टर उत्पादन गर्ने क्रममा अर्को फर्म समेत आवश्यक भएपछि बिष्णाले अर्को पनि जोरजाम गर्नुभयो । जसले गर्दा एउटा फर्म हालेपछि नसुकेसम्म यत्तिकै बस्नुपर्ने अवस्थाको अन्त्य भयो ।

सुरुमा १० हजार रुपैयाँ लगानी गरेर बायोस्याण्ड फिल्टर उत्पादन गर्न थाल्नुभएकी बिष्णाले दुई बर्षमा कार्यालयका लागि छुट्टै घर बनाईसक्नु भएको छ । हालसम्म करिब १२ लाख रुपैयाँ लगानी गरिसक्नु भएकी बिष्णाले वडा कार्यालयसँग सहकार्य गरेर पनि फिल्टर उत्पादन गर्न थाल्नुभएको छ । फिल्टर बनाएर बिक्री गर्ने बिष्णाको जिन्दगी फिल्टरले छानेको पानी जस्तो सङ्लो हुन भने सकेको छैन ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

फिल्टर उत्पादनमा बिमारले ब्रेक

बिष्णा बिक आफूलाई बायोस्याण्ड फिल्टरको सफल उद्यमीको रुपमा चिनाउन चाहनुहुन्छ । यसैका निम्ति संघर्षरत बिष्णाले ८६ वटा बायोस्याण्ड फिल्टर विक्री गरिसक्नु भएको छ । गाउँपालिकाको ओदालताल, चुलीडाँडा, फिनीकाँडा, धनीगाढ, बरडाँडा, हुर्के लगायत गाउँमा आफ्नो उत्पादन पुर्‍याईसक्नु भएकी बिष्णाको थाप्लोमा भने ५ लाख ऋणको भार छ ।

वडा कार्यालयको सिफारिसमा बायोस्याण्ड फिल्टर बनाउने तालिम पाएकी बिष्णाले वडा कार्यालयकै अनुदानमा बायोस्याण्ड फिल्टरको कार्यालय बनाउन पनि सफल हुनु भएको छ । तर यो कार्यालयबाट अहिले बायोस्याण्ड फिल्टरको उत्पादन हुँदैन । फिल्टर बनाउने फर्म, डिफ्युजर बक्स, केही किलाकाँटी र चाहिने सामान सबै कार्यालयमै थन्किएका छन् ।

भएछ के भने बायोस्याण्ड फिल्टरको उत्पादन तथा माग पनि बढिरहेकै बेला एकाएक उहाँको छोरीको स्वास्थ्यमा समस्या देखिएछ । मानसिक स्वास्थ्य सँग सम्बन्धित बिमारी भएकाले राम्रै अस्पतालमा उपचार गर्दा पैसा जत्ति सकिएको उहाँले बताउनुभयो ।

‘मैले पाँच लाख रुपैयाँ ऋण एउटा लघुवित्तबाट लिएको छु । अहिले बायोस्याण्ड फिल्टरको माग त छ, तर फिल्टर निर्माण गर्न कच्चा पदार्थ किन्ने पैसा पनि छैन’ उहाँले भन्नुभयो ।

आर्थिक संकटबाट गुज्रिरहेकी बिष्णालाई स्थानीय टेक बहादुर शहकारीको साथ छ । उहाँले नै बायोस्याण्ड फिल्टर निर्माणको काममा सघाउनुहुन्छ । फिल्टर बनाए बापत अहिलेसम्म पारिश्रमिक नमागेका टेकबहादुर व्यवसाय फस्टाउँदै गए पछि हिसाब गर्ने तर आर्थिक संकट परेको बेला अफ्ठयारो नपार्ने बताउनुहुन्छ ।

आफ्नो वडाको घरघरै फिल्टर पुर्‍याउने योजना

छोरी बिरामी भएका कारण आर्थिक संकटले च्याप्दै लगेपछि बन्द भएको बायोस्याण्ड फिल्टर निर्माणको काम चाँडै सुरुवात गर्ने पक्षमा हुनुहुन्छ बिष्णा । बायोस्याण्ड फिल्टर उत्पादन मात्र गर्न सके बजारीकरणमा खासै समस्या नपर्ने भएकाले पनि अबको लगानी खेर नजानेमा उहाँ ढुक्क हुनुहुन्छ ।

‘फिल्टर प्रयोगकर्ताहरु बाटै यसको मार्केटिङ भईसकेको छ । कोही हाम्रो बच्चा बिरामी भईरहन्थ्यो, अहिले पानी फिल्टर गरेर खुवाउन थालेपछि बिरामी हुन छोडेको छ भन्नुहुन्छ, कोही चाहिं फिल्टरको पानी पिउने बानीले खुल्ला पिउँदा घाँडी खसखस गर्छ भन्नुहुन्छ’ बायोस्याण्ड फिल्टर प्रयोगकर्ताको अनुभव सुनाउँदै बिष्णा भन्नुहुन्छ ‘बायोस्याण्ड फिल्टरमा कुनै केमिकल नहुने भएकाले स्वास्थ्यलाई पनि हानी हुँदैन भन्ने बुझिसकेका छन् ।’

बर्षमा कम्तीमा ५० वटा फिल्टर उत्पादन गरी बिक्री गर्ने आफ्नो व्यवसायिक योजना रहेको र सबैभन्दा पहिले आफनो वडाभित्रका ७ सय ५० घरमा ‘एक घर, एक बायोस्याण्ड फिल्टर’ पुर्‍याउने लक्ष्य रहेको उहाँले सुनाउनुभयो ।

पैसा कमाउन जुनसुकै क्षेत्रमा पनि सजिलो छैन भन्ने अनुभव बटुलिसक्नु भएकी बिष्णा बायोस्याण्ड फिल्टरको उत्पादन तथा विक्री वितरणबाट अलग नहुने प्रतिज्ञा गर्नुहुन्छ । ‘मेरो लागि यो काम एउटा व्यापार मात्र होइन । मैले स्वस्थ पानी पिएर मेरो ज्यान स्वस्थ रहन्छ भने मेरा गाउँघरका दिदीबहिनी दाजुभाइको पनि स्वस्थ जिन्दगी रहोस् भन्ने चाहनाले पनि यो कामबाट हात झिक्दिन।’ उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार