
पोखरा : भक्तपुरको चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी पूर्ण सरसफाइ उन्मुख नमुना क्षेत्रको अध्ययन अवलोकन भ्रमणमा निस्केका छन् । पूर्ण सरसफाइ उन्मुख क्षेत्रको अध्ययन, अवलोकन गरी अवलम्बन गर्न योग्य क्रियाकलापहरुलाई आफ्नो कार्य क्षेत्रमा समेत लागु गर्ने हेतुले अध्ययन अवलोकन भ्रमण आयोजना गरिएको नगरपालिकाको वास शाखा प्रमुख सुरेन्द्र लामिछानेले जानकारी दिनुभयो ।
अवलोकन भ्रमणमा चाँगुनारायण नगरपालिकाको ९ वटै वडाबाट एक एक जना जनप्रतिनिधी, वास शाखा अन्तर्गतका कर्मचारी र प्रत्येक वडाका वास सहजकर्ताहरु, इन्जिनियर, पत्रकार लगायतको सहभागिता रहेको छ ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
भ्रमणको पहिलो दिन मंगलबार तनहुँको आबुखैरेनी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले सञ्चालन गरिरहेको खानेपानी प्रणालीको अवलोकन गरिएको छ । समितिका अध्यक्ष नस्तुराम कँडेलले खानेपानी उपभोक्ता समितिको पृष्ठभूमि र समितिले दिईरहेको सेवाबारे जानकारी गराउनुभयो ।
उहाँले सामूहिक धारा हुँदै निजी धारामा प्रवेश गर्दाको संघर्षको चरण हाल १ हजार भन्दा बढी घरधुरीलाई पानी वितरण गरिरहेको सफलताको नालीबेली पनि प्रस्तुत गर्नुभयो ।

खानेपानीका संरचनाहरुको अवलोकन पछि आबुखैरेनी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको कार्यालयमा गरिएको छलफलमा नगरप्रवक्ता एवं वडा नं. ८ का अध्यक्ष जनक खत्रीले आबुखैरेनी खानेपानी उपभोक्ता समितिले उपभोक्तालाई स्वच्छ पानी उपलब्ध गराउन गरिएको प्रयास आफूहरुका लागि सिकाईको बिषय भएको बताउनुभयो ।
उहाँले चाँगुनारायण नगरपालिका भित्र समेत विभिन्न उपभोक्ता समितिहरुले खानेपानी वितरण गरिरहेको उल्लेख गर्दै उक्त खानेपानी उपभोक्ता समितिका सदस्यहरु पनि भ्रमण टोलीमा रहेकाले यो अवलोकन भ्रमण फलदायी रहने विश्वास व्यक्त गर्नुभयो ।
भ्रमणको दोस्रो दिन आज स्याङ्जाको वालिङमा सञ्चालित दिसाजन्य लेदो प्रशोधन केन्द्रको विभिन्न चरणको अवलोकन गर्ने कार्यक्रम छ ।



532 पटक हेरिएको 

