जथाभावी फोहोर गर्ने ३ सय ८२ जनालाई कार्वाही, ४ महिनामा उठ्यो सवा ९ लाख जरिवाना

सांसदका होटेललाई पनि जरिवाना

  वास खबर सम्वाददाता  445 पटक हेरिएको


बीरगञ्ज : बीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर गर्ने ३ सय ८२ जनालाई कार्वाही गरेको छ । सडक पेटीमा जथाभाबी फोहोर फ्याल्ने विरुद्ध महानगरले १७ पुसबाट जरिवाना गर्ने अभियान चलाइएको हो । महानगरले चलाएको अभियानबाट हालसम्म ९ लाख २५ हजार ५ सय ५ रुपैयाँ राजश्व संकलन भएको महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सरफुद्दिन मियाँले जानकारी गराउनुभयो ।

जथाभाबी फोहोर फ्याँक्दा सहर नै दुर्गन्धित भएपछि महानगरले कारबाही सुरु गरेको हो । महानगरलले हालसम्म सामान्य परिवारदेखि सांसदले सञ्चालन गरेका होटललाई समेत कारबाही गरेको महानगरले जनाएको छ । हालसम्म सीता अस्पतालबाट सबैभन्दा बढी ५१ हजार रुपैयाँ जरिवाना असुल गरेको छ ।

जथाभाबी फोहोर फ्याल्ने बानीलाई निरुत्साहित गर्न वीरगन्जमा महानगरले यो अभियान चलाएको सरसफाइ व्यवस्थापन शाखा प्रमुख मियाँले बताउनुभयो ।

पूर्व सांसद रुँग्टाका होटललाई समेत कारबाही गरी जथाभाबी सडकमा फोहोर फ्याल्ने कसैलाई पनि नछाडिएको महानगरले जनाएको छ। सामान्य परिवारदेखि लिएर सांसदलाई समेत कारबाहीको दायरामा ल्याइएको शाखा प्रमुख मियाँले बताउनुभयो ।

‘फोहोरको सहर’ को रुपमा पहिचान बनाएको वीरगन्ज महानगर पछिल्ला समय परिवर्तन हुँदै आएको छ । सुरुसुरुमा जथाभाबी फोहोर फ्याल्नेहरुले आफ्नो व्यवहारमा सुधार ल्याउन थालेका छन् ।

शाखा प्रमुख मियाँ भन्नुहुन्छ ‘अहिले निक्कै परिवर्तन भएको छ, किनकि मान्छेहरुले अब फोहोर फाल्नु अघि एक पटक सोचविचार गर्ने भएका छन् ।’ महानगरले फोहोर सङ्कलनका लागि तीन सिफ्टमा समय विभाजन गरेको छ । महानगरले बिहान साढे ५ बजे देखि १० बजेसम्म, दिउँसो १ बजेदेखि ५ बजे र बेलुका ७ देखि ९ बजेसम्म फोहो संकलन गर्ने समय तोकेको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार