यसरी गरौं खानेपानी ट्याङ्कीको शुद्धिकरण

काठमाडौ : खानेपानीको मुख्य ट्याङ्की सफा नगर्नुभएको कति समय भयो ? ट्याङ्की सफा नगरेको लामो समय भइसकेको छ भने तपाईले पिइरहेको पानी दुषित पनि हुन सक्छ ।

किनकि बर्षामासमा भलबाढीले बगाएर ल्याएको ढुंगा माटो, हिलो र अरु फोहोर ट्याङ्की भित्र प्रवेश गरेको हुनसक्छ । तसर्थ तपाईले पिउने पानीलाई मात्र निर्मलीकरण गरेर पुग्दैन, यस्तो अवस्थामा खानेपानीको ट्याङ्कीलाई नै प्रदुषणमुक्त बनाउनु पर्छ । खानेपानीको ट्याङ्कीलाई नै शुद्धीकरण गर्ने विधिलाई Shock Chlorination भनिन्छ ।

कसरी गर्ने Shock Chlorination

Shock Chlorination गर्नु भन्दा पहिले कति लिटर क्षमताको ट्याङ्कीलाई शुद्धीकरण गर्दैछौं भन्ने एकीन गर्नुपर्छ । यदि तपाईले ५ हजार लिटर क्षमताको ट्याङ्कीको क्लोरिनेशन गर्दै हुनुहुन्छ भने १०० ग्राम ब्लिचिङ पाउडरलाई सफा भाँडामा खन्याउनुपर्छ ।

लाङटाङ संरक्षण सरोकार समाज (ल्याकोस) की टिम लिडर इभा मानन्धर भन्नुहुन्छ ‘Shock Chlorination भनेको क्लोरिनको मात्रा धेरै (५ प्रतिशत) राखेर खानेपानी ट्याङ्कीको सफा गर्ने विधि हो, बोतलको पानी शुद्धीकरण गर्दा पियूषको प्रयोग गरी आधा घण्टा पनि पिउन मिल्छ भने Shock Chlorination गरेको पानी एक वा डेढ घण्टा पछि त्यसमा क्लोरिनेशनको मात्रा कति छ भनेर जाँच गरेर पिउनुपर्छ ।

उहाँ अनुसार १०० ग्राम ब्लिचिङ पाउडरलाई १ लिटर पानीमा घोल्ने, पाउडरको मात्रा मिलाई घोलेपछि त्यसलाई सफा कपडामा छान्ने र छानिएको ब्लिचिङ पाउडरको घोललाई पानीको ट्याङ्कीमा हालेर घोल्ने र एक डेढ घण्टा सम्म राख्ने । ‘एक डेढ घण्टासम्म पानीलाई राखेपछि त्यसपछि पानीलाई निकास दिनुपर्छ, त्यसपछि खानेपानीको ट्याङ्कीको शुद्धीकरण हुन्छ ’ टीम लिडर मानन्धरले भन्नुभयो ।

एक डेढ घण्टासम्म क्लोरिनेशन गरेपछि अब खानेपानीको ट्याङ्कीमा पानी भर्नुपर्छ । यसरी भरेको पानी पनि परिक्षण नगरी पिउनु हुँदैन । टीम लिडर मानन्धरले भन्नुहुन्छ ‘हामी सँग टेस्ट कीट हुन्छ, Shock Chlorination गरेपछिको पानीमा क्लोरिनेशनको मात्रा प्रति लिटर पानीमा ०.२ मिलिग्राम क्लोरिन देखियो भने मात्र पिउन योग्य मानिन्छ ।

कहिले कहिले गर्ने ?

खानेपानी आपूर्तिकर्ताले उपभोक्तालाई पानी वितरण गर्नु अघि गुणस्तर कायम गरेर मात्र वितरण गर्नुपर्छ । हरेक खानेपानी योजनामा प्रशोधन केन्द्र बनाउन सम्भव नहुने र खर्चिलो पनि हुने भएकाले ब्लिचिङ पाउडर हालेर ट्याङ्की नै प्रदुषणमुक्त बनाउनु उत्तम उपाय हो ।

Shock Chlorination बेला बेलामा गरिरहनु पर्छ । निम्न अवस्थामा Shock Chlorination गर्न उत्तम हुने खानेपानी तथा ढल निकास विभागको खानेपानी गुणस्तर शाखाका प्रमुख इन्जिनियर रमेश सुवेदी बताउनुहुन्छ ।

  • नयाँ खानेपानी ट्याङ्की शुरुमा प्रयोग गर्दा
  • ठूलो बर्षा भएर पानीको स्रोत धमिलो भएमा
  • ट्याङ्की भन्दा बाहिरका फोहोरहरु भलबाढी, पहिरो आदिका कारण ट्याङ्कीमा मिसिएमा
  • हावाहुरीका कारण ट्याङ्कीमा पात पतिङ्गर पसेर पानी धमिलो भएमा
  • शौचालयको सेफ्टी ट्याङ्क फुटेर ढल मिसिएमा

ब्लिचिङ पाउडर कहाँबाट प्राप्त गर्ने ?

ब्लिचिङ पाउडरमा २५ देखि ३० प्रतिशत क्लोरिनको मात्रा हुन्छ । क्लोरिन भनेको एउटा रसायन हो । यसको मात्रा कम राख्दा किटाणु नमर्ने र बढी भएमा स्वास्थ्यमा हानी हुने भएकाले कति पानीमा कति ब्लिचिङ पाउडर हाल्ने भन्ने मापदण्ड सहित सबैले बुझ्ने गरी बुकलेट तयार पारिरहेको खानेपानी तथा ढल निकास विभागको खानेपानी गुणस्तर शाखाका प्रमुख इन्जिनियर रमेश सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार ब्लिचिङ पाउडर आवश्यकता अनुसार खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट प्राप्त गर्न सकिन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार