
काठमाडौ : खानेपानीमन्त्री महिन्द्र राय यादवले ललितपुरको धोविघाटमा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रको अवलोकन गर्नुभएको छ । मन्त्री यादवले आयोजना कार्यान्वयन निर्देशनालय (PID) अन्तर्गत निर्माण भइरहेको र निर्माण व्यवसायीले अलपत्र पारी ठेक्का रद्द गरिएको फोहोरपानी प्रशोधन केन्द्रहरूका विषयमा जानकारी लिनुभयो ।
उहाँले गोकर्ण, हनुमानघाट लगायतका स्थानमा निर्माणाधीन फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माणको अवस्था, कार्यप्रगति, परामर्शदाताको भूमिका, निर्माण व्यवसायीका समस्या लगायतका बिषयमा समेत आयोजना निर्देशक राजेन्द्र सापकोटा मार्फत जानकारी लिनुभयो ।
मन्त्री यादवले धोविघाट, गोकर्ण, हनुमानघाट लगायतका फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माण कार्यलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउन निर्देशन दिनुभयो । फोहोरपानी प्रशोधन केन्द्रहरू तोकिएको समयमा नै सम्पन्न हुनुपर्ने र त्यसका लागि सबैले उच्च मनोबलका साथ काम गर्नुपर्ने उहाँले बताउनुभयो । ‘निर्माण व्यवसायीहरूलाई काम गर्ने वातावरण बनाउनुपर्छ, सहजीकरण गर्नुपर्छ’ उहाँले भन्नुभयो ‘काम सम्पन्न गर्नुपर्ने मिति र कामको गुणस्तरमा कुनै सम्झौता हुँदैन ।
समयमा काम सम्पन्न नहुँदा लागत बढ्ने र देशलाई नोक्सान हुने भएकाले कानून बमोजिम त्यस्ता ठेक्का रद्द गरेर भए पनि काम सम्पन्न गर्नुपर्छ ।’
खानेपानी मन्त्रालयका सचिव राम आधार साहले निर्माण व्यवसायीले काम छाडेर अलपत्र पारेका कारण ठेक्का रद्द गरिएको धोविघाटको दोस्रो फोहोरपानी प्रशोधन केन्द्रको निर्माण कार्य अगाडि बढाउन सरकारबाट स्रोत सुनिश्चित गर्न मन्त्रालयबाट पहल भइरहेको जानकारी दिनुभयो ।
खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठले धोविघाटका दुईवटा फोहोरपानी प्रशोधन केन्द्रहरु एक अर्कासँग आवद्ध रहेको बताउनुभयो । उहाँले अर्को केन्द्रको निर्माण कार्य समेत यथाशीघ्र अगाडि बढाउन स्रोत सुनिश्चितताको आवश्यकता औंल्याउनु भएको आयोजना उपनिर्देशक एवम् प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस अवसरमा आयोजना कार्यान्वयन निर्देशनालय (PID) का आयोजना निर्देशक राजेन्द्र सापकोटाले धोविघाटमा निर्माणाधीन प्रतिदिन ७ करोड ४० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताका दुईवटा फोहोरपानी प्रशोधन केन्द्र मध्ये प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको प्रशोधन केन्द्रको निर्माण कार्य आगामी तीन महिनाभित्र सम्पन्न हुने जानकारी दिनुभयो ।
आयोजना निर्देशक सापकोटाले प्रतिदिन ३ करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको अर्को केन्द्रको बाँकी निर्माण कार्यलाई अगाडि बढाउन नेपाल सरकारबाट रू. २ अर्ब २० करोडको स्रोत (एक आर्थिक वर्षपछि आवश्यक पर्ने रकम) सुनिश्चित हुनासाथ ठेक्का प्रक्रिया अगाडि बढाउने अवस्था रहेको बताउनुभयो ।
एसियाली विकास बैङ्कका Country Director Arnaud Cauchois ले काठमाडौंका नदीलाई स्वच्छ एवम् सफा राख्नका लागि फोहोरपानी प्रशोधन केन्द्रहरूको निर्माण आवश्यक रहेको औंल्याउदै निर्माण कार्यमा ढिलाई भएमा वा काम नगरी ठेक्का अवधि थप्दै जाने प्रवृत्ति देखिएमा त्यस्ता ठेक्काको पुनरावलोकन गरी कानून बमोजिम अगाडि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा खानेपानी मन्त्रालय र आयोजना कार्यान्वयन निर्देशनालयका पदाधिकारीहरुका साथै निर्माण व्यवसायी र परामर्शदाताहरूको समेत सहभागिता थियो ।


680 पटक हेरिएको 

