
काठमाडौ : पछिल्लो समय प्रायः जसो नगरपालिकाहरुले शहरव्यापी समावेशी सरसफाइको मुद्दालाई जोड दिन थालेको छ । शहरव्यापी समावेशी सरसफाइ (Citywide Inclusive Sanitation) एक विश्वव्यापी नयाँ अवधारणा हो ।
यस अवधारणाले समानुपातिक र सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ सेवाहरूबाट नगरबासी सबै लाभान्वित हुने परिकल्पना गर्दछ । शहरव्यापी समावेशी सरसफाइ योजनाको कार्यान्वयनबाट मात्र शहरभित्र बसोबास गर्ने विभिन्न तह र तप्काका नागरिकलाई सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइ सुविधा उपलब्ध गराउन सकिन्छ ।
नगरक्षेत्र भित्र बसोबास गर्ने आफ्ना नागरिकलाई सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइ (Safely Managed Sanitation) सुविधा उपलब्ध गराउन सबैभन्दा पहिले ‘शहरव्यापी समावेशी सरसफाइ’ योजना बनाउनुपर्दछ । एक व्यवस्थित शहरव्यापी समावेशी सरसफाइ योजना निर्माण ६ चरणमा पूरा हुन्छ ।
एवाग र ५०० बी सोलुसन्स्ले भक्तपुरको चाँगुनारायण नगरपालिकामा ‘‘शहरव्यापी समावेशी सरसफाइ योजना’ बनाउँदाको ज्ञान तथा अनुभव आदानप्रदान गर्दै 500B Solutions का प्रबन्ध निर्देशक डा. मिङमा शेर्पाले ‘शहरव्यापी समावेशी सरसफाइ योजना’ चक्र पूरा गर्न ६ वटा चरण पूरा गर्नुपर्ने बताउनुभयो ।
500B Solutions र Eawag-Sandec, Switzerland ले आयोजना गरेको CWIS सम्बन्धी ज्ञानको आदानप्रदान गोष्ठीमा डा. शेर्पाले चाँगुनारायण नगरपालिकामा ‘शहरव्यापी समावेशी सरसफाइ योजना’ बनाउँदाको हरेक चरणको अनुभव सुनाउनुभयो।

यी हुन् शहरव्यापी समावेशी सरसफाइ योजनाका ६ चरण
चरण १. बुझाइको विकास र योजना निर्माण गर्ने प्रतिबद्धता
शहरव्यापी समावेशी सरसफाइ योजना निर्माणको यो सुरुवाती चरण हो । यो चरणमा नगरपालिकामा मुख्य सरोकारवालासँग ‘शहरव्यापी समावेशी सरसफाइ र यसको आवश्यकता’ बारेमा बढी भन्दा बढी बुझाउनु पर्दछ । शहरव्यापी समावेशी सरसफाइको महत्व बुझाउन सकेमा मात्र यस सम्बन्धी योजना बनाउन सकिने भएकाले यस सम्बन्धी बुझाइको विकास गराउनुपर्दछ ।
चाँगुनारायण नगरपालिका सुरुमा मेयर तथा हरेक वडाको प्रतिनिधित्व रहने गरी यस सम्बन्धी सुरुवाती गोष्ठी आयोजना गरिएको र नगरपालिका र 500B Solutions बीच CWIS Plan निर्माण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको डा. शेर्पाले जानकारी गराउनुभयो ।
चरण २. सरसफाइको वर्तमान अवस्थाको विश्लेषण
शहरव्यापी समावेशी सरसफाइ योजना निर्माणको दोस्रो चरणमा सरसफाइको वर्तमान स्थितिको विश्लेषण गर्नु हो । सरसफाइको वर्तमान स्थिति पत्ता लगाउन सक्यौं भने मात्र भविश्यमा के गर्ने भन्ने योजना बनाउन सजिलो हुने भएकाले यो एक महत्वपूर्ण चरण हो । यस अन्तर्गत घरधुरी सर्वेक्षण, लक्षित समूह छलफल, फिल्ड भिजिट, द्धितिय तथ्याङ्कहरुको समीक्षा आदिको माध्यमबाट नगरक्षेत्र भित्रको सरसफाइको अवस्था पत्ता लगाउनुपर्छ ।
चरण ३. संयुक्त कार्य र लक्ष्यको मापदण्ड निर्धारण
यो चरणमा घरधुरी सर्वेक्षणबाट आएका नतिजाहरुलाई बैधता दिने र आगामी योजना निर्माण प्रक्रियामा संयुक्त रुपमा गरिने कार्य र लक्ष्यहरु निर्धारण गर्नुपर्दछ । यसका लागि सर्वेक्षणबाट आएका नतिजाहरुलाई सार्वजनिकीकरण गर्ने गोष्ठी आयोजना गर्नुपर्दछ । गोष्ठीमा सकेसम्म हरेक वडाबाट प्रतिनिधित्व हुने गरी सहभागिता गराउनुपर्दछ ।

चरण ४. सरसफाइको उपयुक्त प्रविधि र प्रणालीको विकल्प रोज्ने
सबै भूगोलमा एउटै किसिमको प्रविधि र प्रणालीले काम गर्दैन । त्यसैले यो चरणमा नगरपालिकाको कुन कुन क्षेत्रमा के कस्तो प्रविधि र प्रणाली उपयुक्त हुन सक्छ ? यसबारेमा विभिन्न विकल्पहरुको खोजी गर्न सकिन्छ । प्रविधिको विकल्पहरुका लागि SaniChoice को मद्दत लिन सक्नुहुन्छ । SaniChoice मानव मलमूत्र व्यवस्थापनका लागि उपयुक्त विकल्पहरु दिने एक खुला अनलाइन स्रोत हो ।
जस्तै 500 B सोलुसन्सले चाँगुनारायण नगरपालिकाको भुभाग हेरी शहरी क्षेत्रमा ढल प्रणाली, यातायातको सुविधा पुगेको र सेप्टिक ट्याङ्क भएको ठाउँका लागि दिसाजन्य लेदो प्रशोधन केन्द्रमा प्रशोधन गर्ने र यातायातको सुविधा नपुगेको ठाउँका लागि दुईखाल्डे शौचालय वा बायोग्यास सिस्टम जडान गर्ने विकल्प प्रस्तुत गरेको डा.शेर्पाले बताउनुभयो ।
चरण ५. सरसफाइ प्रणालीका विकल्पहरूको विस्तृत विश्लेषण
पाँचौं चरणमा सरसफाइ प्रणालीका विकल्पहरूको विस्तृत विश्लेषण गर्नुपर्दछ । यस अन्तर्गत कुन प्रकारको सरसफाइ प्रणालीका लागि कति रकम लाग्छ ? के कस्ता सम्भाव्यताहरु छन् ? जग्गाको उपलब्धता कतिको हुनसक्छ ? भन्ने बिषयमा समेत विश्लेषण गरिन्छ । सम्भाव्य स्थानहरुको समेत पहिचान भएपछि जग्गा प्राप्तिका लागि नगरपालिकाले प्रक्रिया अगाडि बढाईन्छ ।
चरण ६. शहरव्यापी समावेशी सरसफाइ योजनाको मस्यौदा निर्माण
शहरव्यापी समावेशी सरसफाइ योजनाको अन्तिम तथा छैटौं चरणको कार्य शहरव्यापी समावेशी सरसफाइ योजनाको मस्यौदा निर्माण हो । नगरभित्रको सरसफाइलाई सुरक्षित, व्यवस्थित र समतामूलक बनाउने यो महत्वपूर्ण मार्गदर्शक दस्तावेज हो । यस अन्तर्गत अल्पकालीन (एक बर्ष भित्र गरिने काम), मध्यकालीन (२ देखि ३ बर्षभित्र गर्न सकिने काम) र दिर्घकालीन (४ देखि ५ बर्षभित्र गर्न सकिने काम) को प्राथमिकीकरण गरिन्छ । उक्त योजनाको मस्यौदालाई नगरपालिकाको नगर परिषदले अनुमोदन गर्नुपर्छ । त्यसपछि नगरपालिकाले स्रोत जुटाएर यसको प्राथमिकीकरण अनुसार कार्यान्वयन गर्दै लैजानुपर्छ ।


819 पटक हेरिएको 

