काठमाडौ : वाटर एड नेपालले पाँच बर्षे रणनीतिक कार्यक्रमको घोषणा गरेको छ । ‘‘सबैका लागि सबैतिर स्वच्छ खानेपानी, सभ्य शौचालय र राम्रो सरसफाइ’’ भन्ने नाराका साथ वाटर एड नेपालका कन्ट्री डाइरेक्टर तृप्ती राईले सन् २०२३ -२०२८ सम्मको रणनीतिक कार्यक्रम सार्वजनिक गर्नुभयो ।

रणनीतिक कार्यक्रम सार्वजनिक समारोहमा कन्ट्री डाइरेक्टर राईले दिगो र सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता मार्फत जीवन परिवर्तन वाटर एडको दूर दृष्टि भएको र यसको प्राप्तिका लागि मुख्य २ वटा लक्ष्य निर्धारण गरिएको बताउनुभयो ।
कार्यक्रम सञ्चालनका लागि छानिएका नगरपालिकाहरूले सुरक्षित र दिगो खानेपानी, सरसफाइ र स्वच्छतामा विश्वव्यापी पहुँचको दिशामा उल्लेख्य परिवर्तन हासिल गर्ने पहिलो लक्ष्य रहेको छ भने अर्को लक्ष्य ‘सुधारिएको जनस्वास्थ्यका लागि लैंगिक उत्तरदायी खानेपानी, सरसफाइ र स्वच्छतालाई प्राथमिकता दिने’ रहेको छ ।
लक्ष्य प्राप्ति गर्ने रणनीति
वाटर एडले पहिलो लक्ष्य खानेपानी, सरसफाइ र स्वच्छतामा विश्वव्यापी पहुँच हासिल गर्न निम्न रणनीतिहरु अपनाउने बताएको छ ।
– सुरक्षित, दिगो र भरपर्दो खानेपानी, सरसफाइ र स्वच्छता सुविधाहरुमा पहुँच बढाउन खानेपानी, सरसफाइ र स्वच्छता नीतिहरू, योजना र उत्तरदायित्व संयन्त्रहरूलाई सुदृढ गर्न सरकार, खानेपानी तथा सरसफाइ सेवा प्रदायक, विभिन्न संघ संस्थाहरू, उपभोक्ता समितिहरू र वास क्षेत्रका अभियन्ताहरुसँग सहकार्य गर्ने ।
– सार्वजनिक क्षेत्र, निजी क्षेत्र, गैर-सरकारी संस्थाहरू, नागरिक समाज, र प्रयोगकर्ता समूहहरूसँग रणनीतिक साझेदारीलाई बढावा र सवलीकरण गर्न नवीनतम खानेपानी, सरसफाइ र स्वच्छता (WASH) व्यवस्थापन र भरपर्दो सेवाका नमुनाहरु प्रदर्शन गर्न उत्प्रेरित गर्ने ।
– अनुसन्धान र प्रमाणमा आधारित भएरु खानेपानी, सरसफाइ र स्वच्छताको प्राथमिकीकरण र वित्तिय लगानीका लागि पैरवी गर्ने ।
– व्यवहार परिवर्तन र सुरक्षित रुपमा व्यस्थापन गरिएको खानेपानी, सरसफाइ र स्वच्छतालाई अगाडि बढाउन अनुसन्धान र नवीनतामा लगानी गर्ने ।
– सीमान्तकृत समुदाय, महिला तथा किशोरीहरुको खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी अधिकार र आवश्यकताहरूको लागि निर्णय प्रक्रिया र वास सेवाहरूको व्यवस्थापनमा सक्रिय रूपमा योगदान दिने । उनीहरूको खानेपानी र सरसफाइ अधिकार र जिम्मेवारीहरू बारे सचेत गराउन समुदायको संलग्नतालाई सहजीकरण गर्ने ।
– विश्वव्यापी पहुँचको लागि पहिचान गरिएका अन्य क्षेत्र, सफलता र व्यापक परिवर्तनलाई प्रभावकारी रूपमा अबलम्बन गर्न सक्रिय रूपमा लाग्ने ।

दोस्रो लक्ष्य प्राप्तिका लागि अपनाईने रणनीति
‘सुधारिएको जनस्वास्थ्यका लागि लैंगिक उत्तरदायी खानेपानी, सरसफाइ र स्वच्छतालाई प्राथमिकता दिने’ दोस्रो लक्ष्य प्राप्तिका लागि वाटर एड नेपालले निम्न रणनीतिहरु अपनाउने जनाएको छ ।
नवजात शिशु, बच्चा, किशोर र मातृ स्वास्थ्यका लागि सार्वजनिक स्वास्थ्य कार्यक्रमहरूमा खानेपानी, सरसफाइ र स्वच्छताको लागि मुख्य प्रविष्टि बिन्दुहरूको थप मूल्याङ्कन गर्ने रणनीतिक कार्यक्रममा उल्लेख छ ।
यस्तै नर्सहरू, स्वास्थ्यकर्मीहरु र सार्वजनिक स्वास्थ्य संस्थाहरूको सञ्जालसँग अन्वेषण गर्ने, प्रभावकारी खानेपानी, सरसफाइ र स्वच्छता तथा जनस्वास्थ्य कार्यक्रमहरूको डिजाइन र कार्यान्वयन गर्न प्रमाणमा आधारित अनुसन्धान, नीतिगत संवाद र प्राविधिक सहयोग मार्फत स्वास्थ्यमा खानेपानी र सरसफाइको एकीकरणलाई प्रबर्द्वन गर्ने जनाएको छ । स्वच्छता व्यवहार परिवर्तनको प्रभावलाई बढावा कार्य जारी राख्ने रणनीतिमा भनिएको छ ।

वाटर एड सरकारको भरपर्दो विकास साझेदार : सहसचिव खत्री
खानेपानी मन्त्रालयका सहसचिव तिरेश खत्रीले खानेपानी र सरसफाइ क्षेत्रमा वाटर एड नेपालले गरेको उल्लेखनीय कार्यको प्रसंशा गर्नुभयो । उहाँले खानेपानी र सरसफाइ र स्वच्छता क्षेत्रको विकासको लागि वाटर एड सरकारको भरपर्दो साझेदारको रुपमा रहेको उल्लेख गर्नुभयो ।
हेर्नुहोस् सहसचिव खत्रीको मन्तव्य :
पाँच बर्षे रणनीतिक कार्यक्रम घोषणा समारोहमा बेलायती दुतावासकी वास एडभाइजर कमला केसीले वाटर एडसँग सहकार्य गर्न पाउँदा गर्व अनुभूति भएको बताउनुभयो ।
हेर्नुहोस वास एडभाइजर केसीको मन्तव्य :
राष्ट्रिय जनगणना २०७८ को नतिजाले अझै पनि ४.५ प्रतिशत अर्थात १३ लाख जनसंख्यामा शौचालयको पहुँच पुग्न बाँकी छ । ४८.६ प्रतिशत जनसंख्याको सुरक्षित रुपमा व्यवस्थापन गरिएको सरसफाइमा पहुँच पुगेको छ ।
तथ्याङ्क अनुसार ८२ प्रतिशत अर्थात २ करोड ४० लाख जनसंख्या अझै अप्रशोधित, असुरक्षित पानी पिउन बाध्य छन् । १७.६ प्रतिशत जनसंख्यामा मात्र सुरक्षित खानेपानीको पहुँच पुगेको छ ।
यस्तै जेएमपीको रिपोर्टले २ प्रतिशत फोहोरपानी मात्र प्रशोधन गरेर खोलामा विसर्जन गर्ने गरिएको देखाएको छ । १ करोड १० लाख जनसंख्याको साबुन पानी सहितको हात धुने सुविधामा पहुँच पुग्न बाँकी छ । ६२.१ प्रतिशत जनसंख्यामा मात्र आधारभूत स्वच्छता सुविधा पुगेको छ ।
हेर्नुहोस् कार्यक्रमका केही औपचारिक/अनौपचारिक तस्बिरहरु :

















1598 पटक हेरिएको 

