धनगढी : धनगढी उप-महानगरपालिकाले फोहोर बोक्ने गाडीमा जीपीएस प्रणाली जडान गरेको छ । यो प्रणाली जडान भएपछि हरेक घरधनीले घर नजिक गाडी आएको जानकारी मोबाइलबाटै थाहा पाउनेछन् । फोहोर बोक्ने गाडी आफ्नो घर नजिक आइपुगेको नोटिफिकेसन मोबाइलमा आउने भएपछि फोहोर लिने गाडी कहिले आउँछ भनेर कसैलाई सोधिरहनु नपर्ने भएको छ ।
धनगढी उप(महानगरपालिकाले हाल दुई वटा गाडीमा जीपीएस प्रणाली जडान गरेको नगर प्रमुख गोपाल हमालले बताउनुभयो। फोहोरमैला संकलनलाई थप प्रभावकारी बनाउन समाजका लागि युवा संस्थाको सहकार्यमा उप(महानगरपालिकाले लुना जीपीएसको यो सेवा प्रयोगमा ल्याएको उहाँले बताउनुभयो । सो एप मार्फत नगरवासीले सहजै फोहोर संकलन गर्ने गाडी कहाँ आइपुग्यो भनेर थाहा पाउन सक्नेछन् ।
धनगढी उपमहानगरपालिकाका फोहोरमैला व्यवस्थापन तथा सरसफाइ शाखा प्रमुख अशोक अवस्थीले पनि से २ च ३७१० र से १ त ७३९४ नम्बरका गाडीमा जिपीएस जडान गरिएको बताउनुभयो।
गाडी घर नजिकै पुग्दा उक्त एपले नगरबासीको मोबाइलमा नोटिफिकेसन पठाउने भएकाले फोहोर संकलनमा सहज भएको छ । प्रविधि प्रभावकारी भएमा फोहोरमैला संकलन गर्ने अन्य गाडीहरुमा समेत उक्त प्रविधि जडान गरिने नगर प्रमुख हमालले बताउनुभयो । फोहोर बोक्ने गाडीमा जिपिएस सिस्टम जडान भएपछि नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउने नगरपालिकाको योजनामा थप मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
फोहोर लिने गाडी कत्तिबेला आउने भन्ने थाहा नहुँदा कतिपय नगरबासीले फोहोर बाहिर सडकमा जम्मा गर्ने र गाडी पुग्दा कुकुर तथा अन्य जनावरले छरेर फोहोर छरपष्ट पार्थे । फोहोर लिन जाँदै गरेको गाडी नै कहाँ आईपुग्दैछ भनेर हेर्न मिल्ने भएपछि त्यसरी फोहोर बाहिर ननिकाल्ने र यसले शहरी स्वच्छतालाई सहयोग पुग्ने उहाँले बताउनुभयो ।