मध्यकर्णाली जलाधारको विषयमा छलफल

दैलेख : दैलेख सामुदायिक वन उपभोक्ता महासंघ दैलेख शाखाले सञ्चालन गर्न लागेको जलीय प्राकृतिक श्रोत सुधार पानी कार्यक्रमले दैलेखका सरोकारवाला सँग मध्यकर्णाली जलाधारको स्वास्थ्य प्रतिवेदनका विषयमा छलफल गरेको छ ।

छलफलको क्रममा खानेपानीको सुविधा मुश्किलले ५० प्रतिशतमा मात्र पुगेको, पानीको श्रोतको संरक्षणमा वैकल्पिक उपायका विषयमा सरकारको तर्फबाट खासै चासो नभएको लगायत प्रमुख समस्याहरु औल्याइएको थियो ।

मध्यकर्णाली जलाधार क्षेत्र दैलेख, कालिकोट र अछाम जिल्लाका जलाधार क्षेत्रमा गरिएको अध्ययन अनुसार साना ठूला १ सय ६२ नदीनालाको पानी श्रोतको अवस्था र मुहान तथा पानीका श्रोतको संरक्षणमा सामुदायिक पहल गर्ने पानी परियोजनाको लक्ष्य रहेको सामुदायिक वन उपभोक्ता महासंघ दैलेखका अध्यक्ष मनिराम शर्माले जानकारी दिनुभयो ।

छलफल कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाले जलश्रोत देशको मुख्य सम्पति र वातावरणीय हिसावले पनि अत्यावश्यक भएकोले संरक्षणमा सवै क्षेत्र गम्भीर हुनुपर्ने बताउनुभयो ।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले वनसम्पदा जोगाउन उल्लेख्य काम गर्दै आएको सामुदायिक वन उपभोक्ता महासंघले पानी परियोजना चलाउन लागेकोले सफल हुनेमा विश्वस्त रहेको बताउनुभयो ।

कालिकोटको नरहरिनाथ गाउँपालिकाकी उपाध्यक्ष मनशोभा बुढाले देशको आम्दानी बढाउन, जैविक विविधता र वातावरण अनुकूलनका लागि पानीको श्रोतको संरक्षण व्यवस्थापन अपरिहार्य रहेको बताउनुभयो ।

छलफलमा सहभागी जनप्रतिनिधि, नागरिक समाज, निजी क्षेत्र र उपभोक्ता समेतलाई परियोजनाका मुख्य प्राविधिक सल्लाहकार दीपक रिजाल, जलाधार व्यवस्थापन विज्ञ भोला ढकाल र नदी बेसिन टीमलिडर भूपेन्द्र शाहीले सहजीकरण गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार