सेप्टिक ट्याङ्क सफाइ व्यवसायीको समस्या समाधान गर्न खानेपानीमन्त्रीको निर्देशन

  वास खबर सम्वाददाता  817 पटक हेरिएको

काठमाडौ : खानेपानीमन्त्री महिन्द्र राय यादवले सेप्टिक ट्याङ्क सफाइ व्यवसायीको समस्या समाधान गर्नका लागि प्रतिवेदन पेश गर्न खानेपानी सचिव राम आधार साहलाई निर्देशन दिनु भएको छ । सेप्टिक ट्याङ्कबाट निकालेको फोहोरपानी व्यवस्थापनका बिषयमा व्यवसायीको तर्फबाट बुझाएको ध्यानाकर्षण पत्र माथि तत्काल तोक लगाउँदै खानेपानीमन्त्री यादवले प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको हो ।

व्यवसायीले सेप्टिक ट्याङ्की खाली गरेर ल्याएको फोहोरपानी ढल प्रणालीमा खसाले बापत ललितपुर महानगरपालिका र काठमाडौ महानगरपालिकाले भारी जरिवाना गर्न थालेपछि हर्कबहादुर खत्री, गोकुल बहादुर बुढाथोकी, लोकनाथ ढकाल लगायत १० जना व्यवसायीले अर्को व्यवस्था नभएसम्मका लागि तत्काल वैकल्पिक व्यवस्था मिलाईदिन खानेपानीमन्त्री समक्ष ध्यानाकर्षण गराएका हुन् ।

एक महिनाकै बीचमा ४ जना व्यवसायीहरुलाई पक्राउ गरी भारी जरिवाना लगाएको व्यवसायीहरुले बताएका छन् । व्यवसायीहरुका अनुसार हाल करिब ३५ जना व्यवसायीले दैनिक उपत्यकाको ८० गाडी सेप्टिक ट्याङ्कको फोहोरपानी बालकुमारी र शंखमूल स्थित ढल प्रणालीमा खसाल्दै आएको छ ।

उक्त ठाउँमा विसर्जन गर्न काठमाडौ र ललितपुर महानगरपालिकाले प्रतिबन्ध लगाएपछि हाल यो सेवा बन्द गर्नुपरेको व्यवसायीले बताएका छन् । ‘हामीले निश्चित शुल्क लिएर काठमाडौ उपत्यका रिङरोड भित्र र बाहिर यो सेवा दिईरहेका छौं । यस मन्त्रालय अन्तर्गत बनिरहेका फोहोरपानी प्रशोधन केन्द्रहरुमा समेत यस्तो फोहोरपानी मिसाउने प्रावधान नरहेको र छुट्टै यस्तो फोहोरपानी प्रशोधन केन्द्र समेत नबनिसकेको अवस्थामा अर्को व्यवस्था नभएसम्म तत्कालको लागि केही व्यवस्थापन गरिदिनुहुन अनुरोध गर्दछौं’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

व्यवसायीले शौचालय बाट निकालिएको फोहोरपानीको गुणस्तर ढलको पानीको गुणस्तर भन्दा राम्रो रहेको समेत दाबी गरेका छन् ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार