काठमाडौ : बर्षायाम र चाडपर्वका कारण लामो समय रोकिएको मेलम्ची खानेपानीको पाइप लाइन विछ्याउने काम एकैपटक पचास भन्दा बढी ठाउँबाट शुरु भएको छ । अहिले वितरण सञ्जाल अन्तर्गतको पाइप लाइन खन्ने, विछ्याउने र भल्व च्याम्बरहरु बनाउने काम भइरहेको काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिनुभयो ।
‘अहिले हामी घरघरमा धारा लैजान भल्व च्याम्बरहरु बनाइरहेका छौं, वितरण सञ्जाल प्रणाली (पानी ट्याङ्की देखि भल्व च्याम्बरसम्मको पाइपलाइन) अन्तर्गतको पाइपलाइन खनिरहेका छौं’ उहाँले भन्नुभयो ।
प्रवक्ता ढकालका अनुसार वितरण सञ्जाल अन्तर्गत विछ्याउनुपर्ने ६ सय ७० किलोमिटर पाइप मध्ये अब ५० किलोमिटर मात्र विछ्याउन बाँकी छ । यस्तै थोक वितरण प्रणाली अन्तर्गत विछ्याउनुपर्ने ७७ किलोमिटर पाइप मध्ये ६५ किलोमिटर विछ्याइसकेको अब १२ किलोमिटर मात्र विछ्याउन बाँकी छ । मेलम्चीको सुरुङ खन्ने काम सँगै पाइप पनि विछ्याइ सक्ने गरी काम भइरहेको प्रवक्ता ढकालले बताउनुभयो ।
‘मेलम्चीको सुरुङ खन्न १२ सय मिटर जत्ति बाँकी छ, सुरुङ खनिसक्न पुस माघ त लागिहाल्छ, हामी पनि त्यही तरिकाले काम गरिरहेका छौं, मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा आइपुग्दा हामी पानी पोखरी निर्माण, घरघरमा धारा जडान, भल्ब च्याम्बरहरुको निर्माण र वितरण सञ्जाल प्रणाली र थोक वितरण प्रणाली अन्तर्गतका सबै पाइपहरु पनि विछ्याईसक्छौं’ प्रवक्ता ढकालले भन्नुभयो ।
मेलम्चीको पानी काठमाडौमा ल्याउने मिति तोक्दै, सार्दै गर्दै आएको सरकारले काठमाडौ उपत्यकाका बासिन्दालाई नयाँ बर्ष २०७५ मा मेलम्चीको खानेपानी उपहार दिने भन्दै आएको छ ।


783 पटक हेरिएको 

