
ललितपुर : काठमाडौ उपत्यकाको एक मात्र दिसाजन्य लेदो प्रशोधन केन्द्र पुनः सञ्चालनमा आएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले महालक्ष्मी नगरपालिका र विभिन्न संघसंस्थाको सहकार्यमा मर्मत सम्भार गरी पुःन सञ्चालनमा ल्याईएको हो ।
निक्कै पुरानो दिसाजन्य लेदो प्रशोधन केन्द्रका विभिन्न संयन्त्रहरुले राम्रो सँग काम नगरेका कारण केही समय यता दिसाजन्य लेदो प्रशोधन केन्द्र सुचारु अवस्थामा थिएन । शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रशोधन केन्द्र पुनः सञ्चालन भएको एन्फोले जानकारी गराएको हो ।
महालक्ष्मी नगरपालिका, शालिग्राम बालगृह, सि.डि.डि. सोसाइटी, वातावरण र जनस्वास्थ्य संस्था एन्फो तथा बोर्डाको सहकार्यमा २०७२ साल चैत्रमा प्रशोधन केन्द्र निर्माण गरिएको थियो । २०७२ वैशाख १२ गतेको भूकम्प पश्चात ललितपुर जिल्लामा निर्मित आपतकालीन अस्थायी र अन्य शौचालयबाट निस्किने दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापनका लागि प्रशोधन केन्द्र निर्माण गरिएको थियो ।
काठमाडौ उपत्यकाको एक मात्र दिसाजन्य लेदो प्रशोधन केन्द्र भएकाले पनि यो अवलोकन एवं सिकाई केन्द्रको रुपमा स्थापित छ । प्रशोधन केन्द्र पुनः सञ्चालनमा आएसँगै विगतमा जस्तै अवलोकन एवं अध्ययन गर्न चाहनेहरुले भ्रमण गर्न सकिने वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक भावना शर्माले बताउनुभयो ।

प्रशोधन केन्द्र, स्रोत पुनर्लाभ गर्न सक्ने प्रणाली
प्रशोधन केन्द्र स्रोत पुनर्लाभ गर्न सक्ने प्रणालीको रुपमा स्थापित छ । मानवमलमूत्र, चिन्न नसक्नेका लागि मात्र फोहोर हो । यसलाई चिनेर स्रोतको रुपमा प्रयोग गर्दा यसबाटै खाना पकाउन बायोग्याँस, बालीनालीका लागि कम्पोष्ट मल र सिँचाईका लागि पानी उत्पादन हुन्छ ।
हप्तामा ६ हजार लिटर अर्थात २ ट्याङकर दिसाजन्य लेदो प्रशोधन गर्दा लुभुको प्रशोधन केन्द्रबाटै बार्षिक ७९९ घनमिटर बायोग्यास उत्पादन हुन्छ भने ६९ घनमिटर प्राङ्गरिक मल र ५२४ घनमिटर प्रशोधित पानी निस्कन्छ । जुन पानी बोटविरुवाका लागि अति पोषणयुक्त हुन्छ ।

प्रशोधन केन्द्रमा दिसाजन्य लेदो प्रशोधनका हुनुका साथै अध्ययन अवलोकन भ्रमणमा आउनेहरुका लागि सिक्न सजिलो होस् भन्ने हेतुले हरेक संरचनामा नाम अंकित गरिएको प्लेट राखिएको छ ।
प्रशोधन केन्द्र भित्रको संरचनाले कसरी काम गर्छ भन्ने बिषयमा पनि होर्डिङ बोर्डमा सचित्र बर्णन गरिएको छ । प्रशोधन केन्द्रको गेट बाट प्रवेश गर्ने वित्तिकै दायाँ पट्टि सबै संरचनाको चित्र देख्न सक्नुहुन्छ ।






799 पटक हेरिएको 

