सरसफाइ योद्धा न्यौपानेको निधन

  वास खवर सम्वाददाता/झापा  1372 पटक हेरिएको
🔗
354
Shares

झापा :  जिल्लाको सरसफाइ तथा स्वच्छता अभियानमा अनवरत क्रियाशील रुद्रबहादुर न्यौपानेको निधन भएको छ । पाँच महिना अघिदेखि विरामी भई उपचाररत न्यौपानेको झापा अर्जुनधारास्थित निवासमा बिहीबार विहान निधन भएको हो ।


खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट झापाबाट सेवानिवृत्त हुनुभएका न्यौपानेलाई झापा जिल्लामा खुला दिसामुक्त अभियानका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने श्रेय जान्छ ।

तत्कालीन जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाको सरसफाइ फोकल पर्सनको रुपमा क्रियाशील न्यौपाने क्लिन झापा नामक संस्थाको अध्यक्ष समेत हुनुहुन्थ्यो ।

झापा जिल्लामा बाह्य विकास साझेदार र सहजीकरण गर्ने संस्थाको सहयोग नभएको अवस्थामा समेत साविक जिल्ला विकास समिति र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाको आन्तरिक श्रोतलाई परिचालन गरी उहाँले साविकका सबै गाउँ विकास समितिमा खुला दिसामुक्तका लागि अभिमुखीकरण भेलाहरु आयोजना गर्दै आउनुभएको थियो ।

झापा जिल्ला खुला दिसामुक्त घोषणाका क्रममा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले सम्मानित गरेका तीन सरसफाइ अभियानकर्मीमध्ये उहाँ समेत एक हुनुहुन्थ्यो । यसैगरी, राष्ट्र खुला दिसामुक्त हुने क्रममा जिल्लागत रुपमा सम्मानित हुनेहरुमा न्यौपाने समेत हुनुहुन्थ्यो ।

न्यौपानेको निधनले पूर्ण सरसफाइ अभियानको एक हस्ती गुमाएको बताउनुहुन्छ, झापालाई मुख्य कार्यक्षेत्र बनाई खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा क्रियाशील सामाजिक संस्था विराट सामुदायिक अध्ययन केन्द्रका सचिव एवम् कार्यकारी निर्देशक रुद्र सिटौला ।

सरकारी सेवाबाट सेवानिवृत्त भएपश्चात् उहाँले कानुनी सहयोग केन्द्र र नोटरी पब्लिक समेत सञ्चालन गरिरहनुभएको थियो भने क्लिन झापा संस्थामार्फत पूर्ण सरसफाइ प्रवद्र्धनमा केन्द्रित हुनुहुन्थ्यो ।

उहाँको निधनमा झापा जिल्ला र प्रदेशमा रहेका खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा क्रियाशील संघसंस्था र अभियानकर्ताहरुले विभिन्न माध्यमबाट श्रद्धाञ्जली तथा समवेदना अर्पण गरिरहेका छन् ।

उहाँको बिहीबार नै अन्त्येष्ठी गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार