काठमाडौ : विश्व चर्पी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । हरेक बर्षको नोभेम्बर १९ तारीखमा मनाउदै आएको विश्व शौचालय दिवस केन्द्र, प्रदेश र स्थानीय तहसम्म विभिन्न कार्यक्रम गरी मनाइने तय भएको छ ।
दिवसका दिन SNV नेपालको सहयोगमा खानेपानी तथा ढल निकास विभागले छलफल तथा कार्यपत्र प्रस्तुतीकरण कार्यक्रमको आयोजना गरेको छ । ललितपुरको एक होटलमा आयोजना गरिएको कार्यक्रममा नेपालमा सरसफाइ अभियान र फोहोर पानी व्यवस्थापन, ठूला तथा साना शहरमा फोहोरपानी व्यवस्थापनका लागि नेपालले गर्दै आएको काम, अपाङ्गता भएका व्यक्तिहरुका लागि खानेपानी र सरसफाइ तथा नीतिगत व्यवस्था र प्रतिबद्धताका विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ ।
कार्यक्रम खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज विसीको प्रमुख आतिथ्यमा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टको अध्यक्षतामा हुने विभागले जनाएको छ । कार्यक्रममा खानेपानी तथा सरसफाइसँग सम्बन्धित अन्य मन्त्रालयका सचिव तथा सहसचिवहरुको समेत सहभागिता हुनेछ ।
काठमाडौ विश्वविद्यालयले पनि विश्व चर्पी दिवस मनाउने
काठमाडौ विश्वविद्यालय केन्द्रीय क्याम्पस धुलिखेलले पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व शौचालय दिवस मनाउने भएको छ । दिवसको अवसरमा क्याम्पसले फोटो, पोष्टर र निबन्ध प्रतियोगिता गर्ने भएको छ । क्याम्पसले सार्वजनिक शौचालय, मन्दिर, बजार जस्ता सार्वजनिक स्थलको अस्थायी शौचालय लगायतको विषयमा फोटो तथा पोष्टर प्रतियोगिता गर्न लागेृको हो ।
प्रतियोगितामा भाग लिन चाहनेले आज बेलुकी पाँच बजेभित्र आवेदन दिनुपर्ने र दिवसका दिन प्रथम, द्धितिय र तृतीय प्रतियोगीलाई पुरस्कृत गरिने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले फोटो र पोष्टर दुवै तर्फ प्रथम पुरस्कार १५ हजार, द्धितिय पुरस्कार १० हजार र तृतीय पुरस्कार ५ हजार रुपैयाँ तोकेको छ ।
दिवसका दिन नोभेम्बर १९ तारीखमा विहान काठमाडौमा प्रभातफेरी कार्यक्रम हुनेछ । त्यसपछि भृकुटीमण्डपबाट काठमाडौ विश्वविद्यालय केन्द्रीय क्याम्पस धुलिखेलमा गई विभिन्न छलफल कार्यक्रमको आयोजना गरी प्रतियोगितामा स्थान हासिल गर्न सफल प्रतियोगीलाई त्यही दिन पुरस्कार वितरण गरिनेछ ।
नेपाललाई यही डिसेम्बर भित्र खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेर कार्यक्रम अघि बढाइएपनि अझै पनि ठूलो जनसंख्या शौचालयको पहुँच बाहिर छ। अहिलेसम्म ४२ जिल्लालाई खुला दिशामुक्त जिल्ला घोषणा गरिएको छ।


937 पटक हेरिएको 

