पर्साको दुईवटा स्वास्थ्य चौकीमै छैन, शौचालय

पर्सा : देशभर सरसफाइ अभियान चलिरहेका बेला पर्साको पोखरिया नगरपालिका र पकाहा मैनपुर गाउँपालिकाको स्वास्थ्य चौकीमा समेत शौचालय नभएको पाइएको छ ।

पोखरिया नगरपालिका – ६ श्रीसियामा रहेको भवनमा स्वास्थ्य चौकी सहित हुलाक र वडा समितिको कार्यालय भएपनि अहिलेसम्म शौचालय बनेको छैन । 

कार्यालयका कर्मचारीले नजिकैको नेरा प्राथमिक विद्यालयको शौचालय प्रयोग गरेपनि दैनिक सेवा लिन आउने सेवाग्राही खुला ठाउँमा दिसा पिसाब गर्न बाध्य छन् । एउटै भवनमा तीन वटा कार्यालय सञ्चालनमा रहेकाले सेवाग्राही पनि धेरै आउने र दिसापिसाबका लागि समस्या पर्ने गरेको छ ।

उता पकाहा मैनपुर गाउँपालिका – २ सुर्जाहाको स्वास्थ्य चौकीमा पनि शौचालय बन्न सकेको छैन । स्वास्थ्य चौकीमा शौचालय नभएपनि सुर्जाहा गाउँलाई एक वर्ष अगाडि नै खुला दिसामुक्त घोषणा गरिएको छ ।

स्वास्थ्य चौकीमा शौचालय बनाउन रिङ ल्याएर राखेको एक बर्ष भइसक्दा समेत स्वास्थ्य चौकीले शौचालय नबनाई त्यत्तिकै राखेको छ । स्वास्थ्य चौकीको अगाडि र पछाडिको ऐलानी जग्गा गाउँलेले कब्जा गरेकाले शौचालय बनाउन गाह्रो भएको स्वास्थ्य चौकीका प्रमुख रमेश मेहताले बताउनुभयो । स्वास्थ्य चौकीमा दैनिक ५० जनाको हाराहारीमा विरामी आउने र शौचालय अभावमा खुला ठाउँमै दिसापिसाब गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

स्वास्थ्य चौकीमा कार्यरत दुईजना महिला कर्मचारी भने शौच गर्न घरमै जाने गरेको बताउँछन् । उनीहरुको घर कार्यालयबाट करिब ३ सय मिटरको दुरीमा रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार