नेपालगञ्जमा स्वास्थ्य संस्थाजन्य फोहोरमैला व्यवस्थापन सहज बन्दै

  रासस  502 पटक हेरिएको

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेका साना तथा ठूला एक सय पाँच स्वास्थ्य संस्थाको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन को काम सहज बन्दै गएको छ । नेपालगन्ज उपमहानगरपालिकाले जि.आई.जेड. को सहयोगमा एकीकृत स्वास्थ्य संस्थाजन्य फोहोरमैला व्यवस्थापन गर्न सुरु गरेपछि स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन गर्न सहज भएको हो । स्वास्थ्य संस्थाजन्य फोहोरको एकीकृत व्यवस्थापन गर्न थाले यता विभिन्न अस्पताल, ल्याब, पोलिक्लिनिकमा ढुवानीका साधन पुग्छन् ।

नेपालगन्जमा रहेका मेडिकल कलेज, नर्सिङ होम, अस्पताल, मेडिकल, ल्याब लगायतका विभिन्न स्वास्थ्य संस्थाबाट निस्कने स्वास्थ्य संस्थाजन्य फोहोर स्वच्छ नेपाल, हाम्रो अभियान नामक संस्थाले निश्चित शुल्क लिएर एक वर्षदेखि व्यस्थापन गर्दै आएको संस्थाका अध्यक्ष भानु भट्टले जानकारी दिनुभयो । सो संस्थाले स्वास्थ्यसंस्थाजन्य फोहोर उठाउनका लागि स्थानीय सरकारसँग १० वर्षको ठेक्का लिएको छ ।

स्वास्थ्य संस्थाबाट दुई प्रकारको फोहोर उठाएको संस्थाले प्रतिदिन हानिकारक स्वास्थ्य संस्थाजन्य फोहोर करिब ९० किलोग्राम र सामान्य स्वास्थ्यसंस्थाजन्य फोहोर प्रतिदिन एक सय ५० किलोग्राम उठेको जानकारी दिएको छ । अध्यक्ष भट्टले उक्त फोहोर व्यवस्थापनका लागि वातावरण विज्ञ सहित १२ जनाको जनशक्ति भएको जानकारी दिँदै त्यसका लागि एउटा बक्स ट्रली र साधारण ट्रली भएको बताउनुभयो ।

“सुरुमा हामीले पाँच लाख घाटा खाएर काम गर्यौँ । तर अहिले परिस्थिति बदलिएको छ”, उहाँले भन्नुभयो । संस्थाबाट उठाएको फोहोर उपमहानगरपालिकाको वडा नं २३ स्थित हिरमिनियास्थित ‘ल्याण्डफिल साइट’ परिसरमा व्यवस्थापन गरिएको छ । विभिन्न अस्पताल, मेडिकल, नर्सिङ होम, क्लिनिकले निकालेको फोहोरको तौलका आधारमा रु. तीन सयदेखि रु. ७० हजारसम्म मासिक शुल्क तिर्ने गरेका छन् ।

वातावरण इन्जिनियर प्रकाश डिसीले एकीकृत स्वास्थ्य संस्थाजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि त्यसको परिणाम सकारात्मक देखिएको उल्लेख गर्दै यसमा सबैको सहयोग आवश्यक हुने बताउनुभयो । फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनका लागि जिआइजेडले दुईवटा अटो क्लेब मेसिन र एउटा बेलर मेसिन सहयोग गरेको छ ।

फोहर व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकाले संरचना समेत निर्माण गरेको छ । संरचना निर्माणमा रु। ४६ लाख लागत लागेको बताइएको छ । कतिपय फोहोरलाई प्रशोधन समेत गर्ने व्यवस्था मिलाइएको छ ।

स्वास्थ्यसंस्थाजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापन गर्न सहज भएको छ । उपमहानगरपालिकाले नियमित रूपमा निस्कने प्रतिदिन २५ टन फोहोरको व्यवस्थापन गर्दै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार