
विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी केवल उद्योगलाई कारवाहीको माग गर्दै स्थानीय बासिन्दाले प्रशासनमा उजुरी दिएका छन् । उद्योगबाट निस्कने केमिकलयुक्त पानी खेतीयोग्य जमिनमा पठाउँदा बालीनाली सबै मरेको र खेत समेत बाँझो भएपछि स्थानीयले कारबाहीको माग राख्दै जिल्ला प्रशासन कार्यालय र बूढीगंगा गाउँपालिकामा उजुरी दिएका हुन् । उक्त उद्योग क्रिकेटका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा विराटनगरका युवा उद्योगी पारस लुनियाले सञ्चालन गर्दै आएका छन् ।
उद्योगलाई पटक पटक लिखित र मौखिक रूपमा केमिकलयुक्त दूषित पानी खेतीयोग्य जमिनतिर नफाल्न आग्रह गर्दा पनि कुनै सुनुवाइ नगरेपछि कारबाहीका लागि उजुरी दर्ता गर्न बाध्य भएको स्थानीय विमला देवी शर्माले बताउनुभयो। उद्योगबाट उत्सर्जन हुने प्रदुषित पानीकै कारण बूढीगंगा–३ मा रहेको तीन बिघा जमिन बाँझै राख्न बाध्य भएको उहाँले बताउनुभयो ।
‘उद्योगबाट केमिकल मिसिएको दूषित पानी खेतीयोग्य जमिनमा पसेपछि बाली नष्ट हुने गरेको छ, हामीले पटक पटक भनिसक्यौं । छलफल पनि भयो । तर, उद्योगबाट निस्किने फोहर पानी खेतीयोग्य जमिनमा पठाउन छोडेन ।’ उहाँले भन्नुभयो ।
जुनसुकै बाली लगाए पनि उद्योगबाट निस्किएको केमिकल भएको पानी खेतमा पसेपछि बाली सुकेर मर्ने गरेको उहाँको भनाइ छ ।
यस विषयमा बूढीगंगा गाउँपालिका र उद्योग संगठनमा पटक–पटक छलफल हुँदा पनि अहिलेसम्म उद्योगले केमिकलयुक्त पानी खेतबारीतिर फाल्न छोडेको छैन । ‘हामीले उद्योगबाट निस्किने केमिकल भएको फोहर पानी व्यवस्थित गर्न पटक–पटक छलफलमा भनेका छौं । अहिलेसम्म कुनै सुनुवाइ भएन,’ शर्माले भन्नुभयो ।
विराटनगर–इटहरी सडक खण्डमा जोडिएको बूढीगङ्गा–३ गोकुल चोकस्थित महालक्ष्मी केबल उद्योगबाट केमिकलयुक्त पानीसँगै कालो धुँवा पनि निस्कने गरेको छ । यो उद्योगबाट बूढीगङ्गा–३ का स्थानीय बढी समस्यामा छन् । धुवाँ र उद्योगबाट निस्किने केमिकल मिसिएको दुर्गन्धित पानीले बस्न नसक्ने अवस्था भएको स्थानीय बताउँछन् ।
‘उद्योगीलाई जथाभावी धुवाँ नछाड्न र केमिकलयुक्त पानी नालामा नफाल्न हामीले पटक पटक आग्रह गर्यौ, ‘तर सञ्चालकले हाम्रो आग्रहलाई बेवास्ता गर्दै आएका छन् ।’ उहाँले भन्नुभयो । उद्योग सञ्चालक पारस लोनियाले भने उद्योगबाट प्रदूषित पानी खेतमा नगएको दाबी गर्दै आएका छन् । ‘उद्योगबाट निस्किएको पानी नालीमा जान्छ । त्यही भएर हामीले अहिले खेतीयोग्य जमिनतिर पानी नजाओस् भनेर माटो पनि हालेका छौँ’ उहाँले भन्नुभयो ।


329 पटक हेरिएको 

