
घोराही : दाङका चार स्थानीय तहले प्लास्टिक मालालाई प्रतिबन्ध लगाउँदै प्राकृतिक फूल माला प्रयोग गर्न आग्रह गरेका छन् । स्थानीय स्तरमा फूल उत्पादनमा लागेका व्यवसायीलाई प्रोत्साहनसँगै प्लास्टिक सामग्रीलाई निरुत्साहित गर्न तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाले प्लास्टिकका फूलमाला प्रयोग नगर्न आग्रह गरेका छन् ।
जिल्लाका १० स्थानीय तहमध्ये तुलसीपुरले सबैभन्दा पहिले असोज २३ गते सार्वजनिक सूचना प्रकाशित गरेर प्लास्टिक माला प्रयोगलाई प्रतिबन्ध गरेको हो । तुलसीपुर उपमहानगरपालिकाले प्लास्टिकका माला बिक्री तथा भण्डारण गर्न नपाइने र त्यसो गरेको पाइएमा कारबाही गर्नेसमेत चेतावनी दिएको छ।
लमही नगरपालिकाले पनि कात्तिकको ११ गते सूचना जारी गर्दै प्लास्टिकका माला प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको छ । लमही नगरपालिका प्रमुख जोगराज चौधरीले वातावरणीय रूपमा प्लास्टिक मालाले प्रदूषण गर्ने र स्थानीयस्तरमा कृषकले उत्पादन गरेका फूलले बजार नपाउने भएका कारण पालिकाले प्लास्टिक मालालाई प्रतिबन्ध गरेको बताउनुभयो ।
स्थानीय तहको निर्णयसँगै व्यावसायिक फूल खेती गर्दै आएका किसानले सकारात्मक रूपमा लिएका छन् । घोराही उपमहानगरपालिका–१४ का पुष्प व्यवसायी लोकेन्द्र रोकामगरले स्थानीय सरकारको निर्णयले आफूहरूलाई उत्साहित बनाएको बताउनुभयो। जिल्लाका विभिन्न स्थानमा करिब २४ बिघा क्षेत्रफलमा व्यावसायिक फूल खेती हुँदै आएको कृषि ज्ञान केन्द्र दाङका अधिकृत देवा महराले जानकारी दिनुभएको छ । उहाँले पछिल्लो समय पुष्प व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लामा पुष्प व्यवसाय गर्ने किसानको सङ्ख्यासमेत बढ्दै गएको बताउनुभयो।
विक्री वितरण गरे १ लाखसम्म जरिवाना
वन तथा वातावरण मन्त्रालयले यस अघि नै सूचना जारी गरी प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीहरु विक्री वितरण गरेको पाइएमा १ लाख रुपैयाँसम्म जरिवाना हुने जनाई सकेको छ । गत साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरी सोही मिति देखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाउने निर्णय गरेकाले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न प्रतिबन्ध गरिएको वातावरण विभागले जनाएको छ ।
अनुगमनका क्रममा उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार सम्म जरिवाना हुने र विभागका महानिर्देशकबाट १ लाखसम्म जरिवाना गरिने सूचनामा उल्लेख छ ।

वातावरणीय प्रदूषण घटाउन प्लाष्टिकको फूलमा प्रतिबन्ध
धनगढी उपमहानगरपालिकाले पनि प्लास्टिकबाट बनेका फूलका मालाको बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको छ । वातावरणीय प्रदूषण घटाउनुका साथै स्थानीयस्तरमै किसानहरूलाई फूलखेतीमा प्रोत्साहन गर्ने उद्धेश्यले प्लास्टिकका फूलमाला प्रयोगमा रोक लगाइएको उपमहानगरले जनाएको छ ।
स्टेज सजाउने, ध्वजापताका लगाउने, बुके बनाउने, खादाका रूपमा यसअघि प्रयोग हुँदै आएको प्लास्टिकको सट्टा फूलको माला प्रयोग गर्ने चलनको विकास गर्न उपमहानगरले नगरवासीहरूमा अनुरोध गरेको छ । ‘भारतबाट आउने प्लास्टिकका फूल र माला आयात रोक्न प्रमुख जिल्ला अधिकारी, भन्सार, सुरक्षा निकायलाई अनुरोध गरिसकेका छौं,’ नगरप्रमुख गोपाल हमालले भन्नुभयो ‘यही फूलको उत्पादन हुन थालिसक्यो । सुरुमा केही महँगो परे पनि फूलखेतीमा आकर्षण बढिसकेको छ । यसले वातावरणमा पनि सकारात्मक प्रभाव पार्नेछ ।’
उपमहानगरले स्थानीय स्तरमै फूलखेती प्रवर्द्धन गर्न उत्पादन तथा सजावटका तालिमहरु प्रदान गरेको जनाएको छ । अहिले धनगढी र कैलारी गाउँपालिकामा किसानहरूले फूलखेती गरिरहेका छन् । स्थानीय उत्पादनले नै माग धान्ने नगरप्रमुख हमालको भनाइ छ ।
धनगढी उपमहानगरपालिकाले यस अघि २०७९ असोज १ गतेदेखि धनगढी उपहानगरपालिका क्षेत्रभित्र प्लास्टिकका झोलाको प्रयोगमा निषेध गरिसकेको छ । उपमहानगरले सूचना जारी गर्दै प्लास्टिकका फूलमाला प्रयोग भएको पाइएमा प्लास्टिकजन्य वस्तु प्रतिबन्ध सम्बन्धी ऐन २०७९ अनुसार कारबाही हुने उल्लेख गरेको छ ।


1012 पटक हेरिएको 

