राष्ट्रिय सरसफाइ सम्मेलन गर्ने सिविसानको निर्णय

  वास खबर सम्वाददाता  574 पटक हेरिएको
🔗
75
Shares

काठमाडौ : CWIS Alliance Nepal (सिविसान) ले राष्ट्रिय सरसफाइ सम्मेलन (National Sanitation Conclave) आयोजना गर्ने भएको छ । सरसफाइ श्रृंखलाको हरेक चरणमा वृहत छलफल गरी सबै नगरपालिकामा मानव मलमूत्र व्यवस्थापनको कामलाई अझ गति दिने उद्देश्यले राष्ट्रिय सरसफाइ सम्मेलन आयोजना गर्न लागेको हो ।

सरसफाइ सम्मेलनमा सरसफाइ श्रृंखला (भण्डारण, खाली गर्ने, ढुवानी, प्रशोधन, पुनःप्रयोग वा विसर्जन) को विविध बिषयमा कार्यपत्र प्रस्तुतीकरण हुनेछ । देशभरिका नगरपालिकाका मेयर, सरसफाइ अभियन्ता, विकास साझेदार, सरसफाइ श्रृंखलाको विभिन्न चरणमा अभ्यासरत संघसंस्था, सरसफाइकर्मी र अन्य सरोकारवालाहरुको सहभागिता रहने उक्त सम्मेलनमा कार्यपत्र माथि व्यापक अन्तरक्रिया हुनेछ ।

राष्ट्रिय सरसफाइ सम्मेलन पालैपालै सातै प्रदेशमा आयोजना गर्ने र सातौं बर्षमा अन्तर्राष्ट्रिय प्रतिनिधीहरुको समेत उपस्थितिमा नगरव्यापी समावेशी सरसफाइमा नेपालले हासिल गरेको उपलब्धी समेत दर्शाउने परिकल्पना गरिएको छ ।

सम्मेलन आयोजनाको बिषयमा थप गृहकार्य गरी सम्मेलनका क्रियाकलाप, मिति र स्थान निर्धारण हुनेछ ।

सिबिसान बैठकमा सिबिसानको विधानलाई पूर्णता दिने र सिबिसानका सबै सदस्यहरुले हस्ताक्षर गरी स्वीकृत गर्ने निर्णय भएको छ । यस अघि सिबिसानको ११ औं पूर्ण बैठकले सिबिसानको विधानका बिषयमा बुँदागत छलफल गरी अन्तिम रुप दिईएको थियो ।


बैठकमा सिबिसानले सन् २०२३ मा सम्पन्न गरेका कार्यक्रमहरुको बिषयमा समीक्षा एवं सन् २०२४ मा गरिने कार्यक्रमहरुको बारेमा समेत छलफल गरिएको छ ।

सिबिसानले तीन वटा प्रमुख बिषयगत क्षेत्रहरु, नीति निर्माण र अनुमगनका लागि सहजीकरण, सरसफाइको वकालत, प्रबर्द्वन तथा प्रचारप्रसार र क्षमता अभिवृद्धिको क्षेत्रमा विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।

सन् २०२२ को डिसेम्बरमा गठन भएको सिबिसानमा शहरी सरसफाइमा क्रियाशील विकास साझेदार सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र र मिडिया गरी १८ वटा संघसंस्थाहरु सदस्य छन् ।

बैठकमा सिबिसानकी सदस्य सचिव सुधा श्रेष्ठले हरेक एजेण्डाहरु प्रस्तुत गर्दै त्यस उपर छलफल गराउनु भएको थियो । सिबिसान बैठकको अध्यक्षता गर्नुभएकी वाटर एड नेपालकी कन्ट्री डाइरेक्टर तृप्ति राईले बैठकमा उठेका बिषयवस्तुहरुको निष्कर्ष सहित समापन गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार