काठमाडौ : कुनै कार्यक्रमको उदघाटनको अर्थ हुन्छ कुनै औपचारिक कार्यक्रमको शुभारम्भ कुनै विशिष्ट व्यक्तिबाट गर्नु, गराउनु । तर कार्यक्रमको शुरुवात भएर आधा सम्पन्न भएपछि गरिएको उदघाटनले के महत्व राख्ला ?
विश्व शौचालय दिवसको अवसरमा खानेपानी तथा ढल निकास विभाग र एस्.एन.भी. नेपालले संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रम यस्तै भयो । कार्यक्रमको उदघाटन खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज विसीबाट गराउने कार्यक्रम थियो । कार्यक्रम साढे १२ को लागि तय गरिएको थियो तर उहाँ तोकिएको समयमा आउन सक्नुभएन ।
त्यसपछि कार्यक्रमको अध्यक्षता खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले गर्नुभयो तर कार्यक्रमको उदघाटन थाँती राखियो ।
१२ः३० का लागि आमन्त्रण गरिएका सचिव विसी तीन बजे मात्र आइपुग्नुभयो । त्यत्तिबेला सम्ममा फोहोर पानी, यसको प्रकार र फोहोर पानीको पुनःप्रयोग गर्ने तरिका तथा नेपालमा फोहोर पानी प्रशोधनका लागि भइरहेका कार्यहरु गरी दुई वटा सत्र सम्पन्न भइसकेका थिए ।
त्यसपछि तेस्रो सत्रको कार्यक्रम गर्नु अघि उहाँलाई आसन ग्रहण गराइयो र मध्यान्तरमा कार्यक्रमको उदघाटन भयो । त्यत्ति नै बेला गैरसरकारी संस्थाका केही व्यक्तिहरु सुन्ने नै गरी भन्दै थिए ‘सरकारी कर्मचारीहरु समयबद्ध हुनै सकेनन्, हामी मात्र समयमा आएर के गर्ने ? निर्धारित समय भन्दा ३ घण्टा ढिला आउँदा पनि खासै नमज्जा मानिरहेका छैनन्’
त्यसपछि अपाङ्गता भएकाहरुको तर्फबाट सार्वजनिक शौचालय प्रयोगका क्रममा भोगेका कठिनाई तथा सुधारका उपायको विषयमा छलफल भयो । नेपालमा स्वचालित शौचालय, लागत र यसको सम्भावनाका विषयमा पनि छलफल भयो ।
कार्यक्रममा उपस्थित भएको करिब अढाई घण्टामै सचिव विसीको समापन मन्तव्य दिनुपर्ने पालो आयो । उहाँले समापनका क्रममा आफ्नो दुईवटा कार्यक्रम जुधेको र कार्यक्रममा ढिलाई भएकोमा क्षमा याचना गर्नुभयो ।
नेपालले सरसफाइमा राखेको लक्ष्य तोकेकै समयमा पूरा गर्ने प्रतिबद्धता जनाउँदै सचिव विसीले भन्नुभयो ‘हामी प्रतिबद्ध छौं, तोकिएकै समयमा देशलाई खुलादिसामुक्त घोषणा गर्न सफल हुनेछौं, हामीसँग बाँकी समय पुगनपुग डेढ महिना मात्र बाँकी छ, ३३ जिल्लालाई खुला दिसामुक्त गर्न बाँकी छ, हामीले आ–आफ्नो तह र तप्काबाट देशलाई खुलादिसामुक्त गर्ने अभियानमा एकजुट भएर लागिपर्न निर्देशन दिएका छौ’ उहाँले भन्नुभयो ।
नेपालमा सन् २०११ मा सरसफाइ गुरुयोजना जारी भएपछि चर्पी बनाउने कामले तीब्रता पाएको हो । अहिलेसम्म झण्डै ९३ प्रतिशत नागरिकमा सरसफाइ सुविधा पुगेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले जनाएको छ ।


893 पटक हेरिएको 

