
शौचालयको प्यानसेटमा टुक्रुक्क बस्न साथ आफै फ्लस हुन्छ । दिसा पिसाब गरिसकेपछि पनि तपाईले फ्लस बटन दबाई रहनु पर्दैन । अन्य शौचालयमा जस्तो प्यान सेट पखाल्नकै लागि फ्लस गर्न बटन थिचिरहनु पर्ने वा बाल्टिनबाट जगले पानी खन्याई रहनुपर्ने झण्झट यसमा छैन ।
शौचालय प्रयोग गरेपछि हात धुनलाई पनि धारा खोलिरहनु पर्दैन । सेन्सर जडित धाराको अगाडि हात राख्न साथ टुटीबाट पानी झर्न सुरु हुन्छ । हातमा साबुन दलिरहनु पर्ने, हातबाट साबुन फुत्किने समस्या पनि पर्दैन यसमा । किनकि धारासँगै भित्तामा राखिएको डिस्पेन्सरमा हात थाप्न साथ झोल साबुन तपाईको हत्केलामा तुरुक्क झर्छ ।
हात धोइसक्नु भयो ? अब अन्यत्र जस्तो रुमालले पुछिरहनु पर्दैन । भिजेको हात तप तप पानी चुहाउँदै बाहिरिनु पनि पर्दैन । हात सुकाउनलाई ह्याण्ड ड्रायर पनि सँगै राखिएको छ ।
एरोसान सस्टेनेबेल स्यानिटेसन प्रा.लि.ले काठमाडौं उपत्यकामा निर्माण तथा सञ्चालन गरेको शौचालयहरुमा यस्ता सुविधाहरु उपलब्ध छन् । यी बाहेक महिला शौचालयमा स्यानिटरी प्याड किन्ने र फेर्ने सुविधा, बच्चाको डाइपर फेर्ने र स्तनपान गर्ने सुविधा समेत रहेको छ । हात धुने स्टेशन सँगै ऐना पनि राखिएको छ । पुरुष शौचालयको युरिनल हवमा भने होचो बालकको लागि होचो नै युरिनल सेट राखिएको छ ।

यसका साथै अपाङ्गता भएकाका लागि छुट्टै शौचालय र त्यही अनुसारको संरचना निर्माण गरिएको छ । अपाङ्गता भएकाहरुको लागि बनाएको शौचालयमै नुहाउने ठाउँको पनि व्यवस्था छ ।
शौचालयको छानोमा टर्बो फ्यान जडान गरिएको छ । जसले ताजा हावालाई भित्र ल्याउने र भित्रको दुषित हावालाई बाहिर फाल्ने काम गर्छ ।
शौचालयको विशेषता यत्तिमा मात्र सीमित छैन । शौचालयबाट उत्पादित बायोग्याँसबाट क्याफे चलाईएको छ । शौचालयको लागि आवश्यक पर्ने पानी बर्षातको पानीलाई संकलन गरी प्रयोगमा ल्याईएको छ ।

दिसाजन्य लेदोबाट बायोग्यास निकाले पछि कहाँ विसर्जन गर्ने भन्ने समस्या नरहेको एरोसान सस्टेनेबल स्यानिटेसन प्रा.लि.की प्रोग्राम म्यानेजर अर्चना श्रेष्ठले बताउनुभयो । बायोग्यास क्याफेबाट हुने आम्दानी र शौचालय प्रयोगकर्ताले तिर्ने शुल्कबाट कर्मचारीको तलब भत्ता र शौचालय सञ्चालन खर्च बेहोर्दै आएको उहाँले बताउनुभयो ।
एरोसानले काठमाडौ र ललितपुरका ८ ठाउँमा यस्ता शौचालयहरु निर्माण गरी सञ्चालन गरिरहेको छ । यी सुविधा सम्पन्न स्मार्ट शौचालयहरुले सबै शारीरिक क्षमताका मानिसहरुलाई सार्वजनिक शौचालयमा पहुँच बढाएको मात्र छैन, सार्वजनिक शौचालय फोहोर, दुर्गन्धित र प्रयोग गर्नै नसकिने हुन्छन् भन्ने आम मानिसको धारणामा समेत परिवर्तन ल्याएको छ ।
सार्वजनिक शौचालयमा पीपीपी मोडेल
काठमाडौ उपत्यकामा निर्माण भएका यी सार्वजनिक शौचालयहरु महानगरपालिकाले निर्माण गरी ठेक्कामा दिएर सञ्चालन गर्ने खालका होइनन् । न त शौचालयबाट महानगरपालिकाले कर नै उठाउँछ ।
यी शौचालयहरु सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणामा काठमाडौमा पहिलो पटक निर्माण तथा सञ्चालन भएका शौचालयहरु हुन् । यो अवधारणा अनुसार महानगरपालिकाले आवश्यक जग्गाको प्रबन्ध मिलाउने र तोकिएको स्थानमा निजी क्षेत्रबाट शौचालय बनाउने काम हुन्छ ।
एरोसानकी प्रोग्राम म्यानेजर अर्चना श्रेष्ठ सुरुमा जग्गा प्राप्तिका लागि वडा कार्यालय र महानगरपालिकाको कार्यालयसँग छलफल हुने बताउनुहुन्छ । जग्गा प्राप्त भएपछि निर्माण, र निश्चित अवधिसम्म सञ्चालनको जिम्मा एरोसानले लिने गरी सम्झौता गरिन्छ ।
सम्झौता अवधि सम्पन्न भएपछि शौचालयको सबै संरचना सम्बन्धित पालिकाकै हुन्छ ।

सार्वजनिक शौचालयमा सार्वजनिक, निजी साझेदारी अवधारणाले शौचालयको दिगोपना, नियमितता र सरसफाइमा टेवा पुगेको एरोसानका सुपरभाइजर संसारलाल वैद्यले बताउनुभयो ।
एरोसानका सबै शौचालय हबहरुमा दुई सिफ्टका लागि दुई जना सफाइ कर्मचारी र एक जना क्याफे सञ्चालक हुन्छन् । शौचालयको सरसफाइ गर्ने र प्रयोगकर्ताबाट शुल्क उठाउने काम सरसफाइ कर्मचारीकै जिम्मेवारी भित्र पर्दछ । ती कर्मचारीले प्रत्येक घण्टाको शौचालय प्रयोगकर्ताको संख्या समेत टिपोट गर्नुपर्छ ।
शौचालय बिहान ६ बजेदेखि बेलुकी साढे ८ बजेसम्म खुला रहन्छ । उक्त समय अवधि भित्र कुनै न कुनै समयमा हरेक शौचालय हबमा सुपरभाईजर पुगेकै हुन्छन् ।
‘शौचालयको सरसफाइ कतिको भैरहेको छ ? कर्मचारीलाई कुनै अफ्ठ्यारो पो परेको छ कि ? शौचालयको कुनै पार्टले काम गरेको छैन कि ?’ म यस्ता कुराहरुको सुपरिवेक्षण गरेर ठाउँका ठाउँ समाधानको प्रयत्न गर्छु’ एरोसानका सुपरभाइजर वैद्यले भन्नुभयो ।
सफाई कर्मचारीको सुविधा, सरकारी सरह
एरोसान सस्टेनेबल स्यानिटेसन प्रा.लि.का सफाइ कर्मचारी र अन्य कार्यालयका कर्मचारीमा कुनै फरक छैन । कार्यालयको पोशाक लगाएर शौचालयको काउण्टरमा उभिएका सरसफाइ कर्मचारी कुनै सपिङ मलको रिसेप्सनिष्ट भन्दा कम देखिदैनन् ।

एरोसानले आफ्ना सफाइ कर्मचारीहरुलाई सरकारी कर्मचारी सरह सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । सफाइ कर्मचारीहरुको स्वास्थ्य बीमा गरिएको र उपचार खर्च सोही बीमाबाट बेहोर्दै आएको प्रोग्राम म्यानेजर अर्चना श्रेष्ठले बताउनुभयो ।
आफूहरुलाई युनिफर्म, पिपिई, जुत्ता, पञ्जा जस्ता पेशागत सुरक्षात्मक सामग्रीहरु उपलब्ध गराएको पाटन ढोका सार्वजनिक शौचालयमा कार्यरत सफाइ कर्मचारी सन्ध्या देउलाले बताउनुभयो ।
समान तलब, काममा सहजता भएपछि अन्य क्षेत्रमा जागिर खानु र सफाइ कर्मचारीको रुपमा काम गर्नुमा कुनै फरक नहुने कक्षा १२ पढेकी सन्ध्याको भनाइ छ । सरसफाइ कर्मचारी भएर काम गर्दा आफूले सानो बच्चाको लागि समेत समय दिन पाएको उहाँले बताउनुभयो ।
व्यक्तिगत सरसफाइमा ध्यान दिएपछि सामाजिक हेयको दृष्टिले हेरिने सफाइ कर्म सम्मानित पेशाको रुपमा रुपान्तरण हुदै गएको सरसफाइ कर्मचारी पविता खपाङ्गीको अनुभव छ ।
एरोसानका सार्वजनिक शौचालयहरु महिला, पुरुष, बृद्धबृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरु सबैले प्रयोग गर्न सक्छन् । महिलामैत्री, बालबालिकामैत्री, अपाङ्गतामैत्री र प्रविधिमैत्री यी शौचालयहरु सबैका लागि पहुँचयोग्य छन् । नगरव्यापी समावेशी सरसफाइको उत्कृष्ट उदाहरण यी शौचालयहरुमा देख्न पाइन्छ ।
आकाशे पानीको संकलन, भूमिगत पानीको रिचार्ज, दिसाजन्य लेदोबाट बायोग्याँस उत्पादन, शौचालयमै क्याफे सञ्चालन र प्रविधियुक्त यी शौचालयहरु अन्यत्र पनि निर्माण गर्न सकिन्छ । यद्यपि यी शौचालयहरु अनुकरणका लागि अहिलेसम्म कुनै पनि शहरी क्षेत्रले चासो नदेखाएको एरोसानकी प्रोग्राम म्यानेजर अर्चना श्रेष्ठले बताउनुभयो ।


526 पटक हेरिएको 

