धादिङ : धादिङको खनियाबास गाउँपालिकाका कार्यपालिका सदस्य तथा शाखा प्रमुखहरुलाई पूर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण गरिएको छ । शान्ति नेपालको आर्थिक सहयोगमा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति खनियाबासको आयोजनामा पूर्ण सरसफाइ अभिमुखीकरण तालिम आयोजना गरिएको हो ।

गाउँपालिका कार्यपालिका सदस्य र शाखा प्रमुखहरुलाई पूर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण गर्ने, सुरक्षित खानेपानी र पानी शुद्धिकरण गर्ने विधिबारे जानकारी गराउने, खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) र एनवास एप्लिकेसनको प्रयोग गरी खानेपानी, सरसफाइ तथा स्वच्छता सँग सम्बन्धित तथ्याङ्क संकलन गर्ने बारे अभिमुखीकरण गराउने तथा खनियाबास गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छताको कार्ययोजना तयार गर्ने उद्देश्यले अभिमुखीकरण गरिएको इन्जिनियर जीवन गुरुङले जनकारी दिनुभयो ।

अभिमुखीकरण तालिमको प्रमुख अतिथि समेत रहेका संघीय सांसद रामनाथ अधिकारीले चर्पीको महत्वबारे चर्चा गर्दै गाउँमा आएको बिदेशी पाहुना चर्पी खोज्दै आफ्नो घरमा आईपुगेको स्मरण गर्नुभयो । ‘म बच्चा हुँदा फ्रेन्च नागरिक घुम्न आउनु भएको थियो । त्यसबेला हाम्रो घरमा मात्र शौचालय थियो । ती पर्यटक हाम्रो घरमा बास बस्न आउनुभएको थियो । पछि बुझ्दा शौचालय भएको घर खोजेर बास बसेका रहेछन् ।’
आफू निर्वाचित धादिङको क्षेत्र नं. २ भित्र रहेका ७ वटा स्थानीय तहमा यही मंसिर महिना भित्रै आफ्नो अगुवाईमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी अभिमुखीकरण गोष्ठी सञ्चालन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पूर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण तालिमको अध्यक्षता समेत रहेका खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले पूर्ण सरसफाइ कार्यक्रमको लागि राष्ट्रिय योजना आयोगबाट प्राप्त अनुदानलाई स्वास्थ्य संस्था तथा विद्यालयमा मापदण्ड अनुरुप सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाको पूर्ण सरसफाइ कार्यक्रमको अभियान यही मंसिर महिना भित्रै विधिवत रुपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संघीय सांसद रामनाथ अधिकारीको प्रमुख आतिथ्य एवं गाउँपालिका अध्यक्ष रण बहादुर तामाङको अध्यक्षतामा भएको अभिमुखीकरण तालिम गाउँ कार्यपालिकाका सदस्यहरु, गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरुको सहभागिता थियो ।


590 पटक हेरिएको 

