संघीय र स्थानीय सरकारको संयुक्त लगानीमा १ हजार शौचालय निर्माण हुँदै

  वास खबर सम्वाददाता  631 पटक हेरिएको
🔗
42
Shares

काठमाडौ : खानेपानी मन्त्री महिन्द्र राय यादवले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा एक हजार सार्वजनिक शौचालय बनाउने गरी कार्यक्रम राखिएको बताउनुभयो । उहाँले सङ्घीय सरकारको ५० र स्थानीय सरकारको ५० प्रतिशत लगानीमा एक हजार आधुनिक सार्वजनिक शौचालय निर्माणको लक्ष्य राखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सहरी क्षेत्रमा शौचालयमा समस्या समाधान गर्ने योजना बनाएर बजेटको व्यवस्था गरिएको हो । त्यसैले सङ्घको चार करोड र स्थानीय तहको चार करोड रुपियाँ गरी आठ करोडको लागतमा अत्याधुनिक र महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिमैत्री शौचालय बनाउन सूचना प्रकाशित गरिसकिएको छ ।”

सार्वजनिक शौचालय सञ्चालनको स्वामित्व स्थानीय तहलाई हुनेछ। उहाँले सहरलाई सफा र व्यवस्थित राख्न तथा शौचालयको सहज पहुँचका लागि प्रभावकारी रूपमा काम अघि बढाइएको बताउनुभयो ।

खानेपानी मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले काठमाडौँमै महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय नरहेको अवस्थालाई दृष्टिगत गरी आधुनिक शौचालय निर्माणका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो । उहाँले खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतका २० वटा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले शौचालय निर्माणको प्रक्रियागत काम थालनी गरिसकेको बताउनुभयो ।

उहाँले सार्वजनिक शौचालय कस्तो हुने भन्ने विषयमा मापदण्ड बनाउने तयारी भइरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “सहरी क्षेत्रमा र राजमार्गमा सार्वजनिक शौचालयको अवस्था भयावह छ, यसको निराकरणका लागि विस्तृत योजना सहित काम अघि बढाइएको छ ।”

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले काठमाडौँमै शौचालयको पहुँचको सन्दर्भमा उठेका सवाल सम्बोधन गर्न महानगरले विभिन्न क्षेत्रसँग समन्वय गरेर सार्वजनिक शौचालय निर्माण कार्य अघि बढाएको बताउनुभयो ।

उहाँले महानगरले ४४ वटा र निजी क्षेत्रबाट १२० वटा सार्वजनिक शौचालय सञ्चालनमा गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “टेकुसहित चार स्थानमा अत्याधुनिक शौचालय निर्माण गरिएको छ, त्यहाँ सुरक्षाको प्रबन्ध पनि छ, महानगरले पाँच करोड रुपियाँ शौचालय व्यवस्थापनकै लागि व्यवस्था गरेको छ, स्थानीय सरोकारवालासँग समन्वय गरेर अत्याधुनिक शौचालय निर्माण गरिने छ ।”


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार