बराहक्षेत्रको ८८ प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानीको पहुँच

बराहक्षेत्रमा १ करोड ६८ लाख लगानी

  वास खबर सम्वाददाता  459 पटक हेरिएको


सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिकाको ८८ प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानीको पहुँच पुगेको छ । सन् २०१८ मा खानेपानी, सरसफाइ र स्वच्छता दिगो विकास लक्ष्य (वास एस.डि.जी.) परियोजना सुरु हुँदा ७९ प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानीको पहुँच पुगेकोमा ५ बर्षको अवधिमा ९ प्रतिशत बृद्धि भएको हो ।

बराहक्षेत्र नगरपालिकामा वास एस.डि.जी.परियोजनाको सामाजिक लेखाजोखा कार्यक्रममा परियोजना कार्यान्वयन अवधिमा सञ्चालित विभिन्न कार्यक्रमहरु र प्राप्त उपलब्धी तथा लगानी विवरण प्रस्तुत गरिएको हो । खानेपानीको घरेलु शुद्धिकरण तथा पानी उमालेर पिउने घरधुरीलाई समेत सुरक्षित खानेपानीको पहुँच पुगेको जनसंख्यामा गणना गरिएको परियोजनाले जनाएको छ ।

उक्त नतिजा प्राप्त गर्नका लागि परियोजना मार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् ।

√ महेन्द्रनगर स्वास्थ्य चौकीमा बराह क्षेत्रमा ६ मा धारा निर्माण, पानीको ट्याङ्की वितरण, शौचालय रंगरोगन
√  जनता मावि बराह क्षेत्र ११ मा ७ वटा धारा र महिनावारी स्वच्छता आराम कक्ष निर्माण
√ सुनसरी आधारभूत विद्यालय बराहक्षेत्र ८ मा १४ वटा धारा र पानीको फिल्टर जडान
√ महेन्द्र मावि बराहक्षेत्र ७ मा ७ वटा धारा निर्माण, विद्यालय रंङरोगन, शौचालय मर्मत, युरिनलमा धारा जडान, फिल्टर जडान, महिनावारी स्वच्छता व्यवस्थापन कक्ष निर्माण
√ वसन्त ऋतु मावि बराहक्षेत्र ७ मा १४ धारा, आदर्श मावि. बराहक्षेत्र २ मा ७ धारा, महिनावारी व्यवस्थापन कक्ष को व्यवस्था
√ रामजानकी विद्यालय बराहक्षेत्र ५ मा १४ धारा
√ प्रकाश मावि बराहक्षेत्र १० मा ७ वटा धारा निर्माण
√ बिपी आधारभूत विद्यालयमा १४वटा धारा निर्माण
√ सिंहदेवी खानेपानी आयोजना निर्माण
√ ११ वटै वडामा टचलेस हात धुने स्थलको व्यवस्था
√ समुदाय स्तरमा सरसफाइ सामग्री वितरण, त्यस्तै अपाङ्गता भएका व्यक्तिलाई सरसफाइ सामग्री वितरण
√ कोभिड अस्पताललाई ७ वटा धारा, पानीको ट्याङ्की निर्माण र स्वच्छता सामग्री सहयोग
√ वास इकाईको लागि कुर्सी १५ थान, फिल्टर, कम्प्युटर, प्रिन्टर, दराज, ¥याक, टेबल र टिभी सहयोग

आधारभूत स्वच्छता स्तर ८५.५प्रतिशत

परियोजना सुरुवात भएको बर्ष सन् २०१९ मा बराहक्षेत्र नगरपालिकामा आधारभूत ६.२ प्रतिशत रहेकोमा हाल ८५.५ प्रतिशत पुगेको छ । यस्तै सुरक्षित सरसफाइ अभ्यास पनि ५ प्रतिशत बाट बढेर २६ प्रतिशतमा पुगेको छ । यी दुवै नतिजाहरु हासिल गर्नका लागि परियोजना मार्फत भएका निम्न कामहरु सम्पन्न भएको वास दिगो विकास लक्ष्य परियोजनाका परियोजना संयोजक हरि बुढाथोकीले बताउनुभयो ।

√  सरसफाइमा व्यवहार परिवर्तनका ३८५५ कक्षाहरु सञ्चालन भएको ।
√  ७ नम्बर वडाको १५ वटा टोल सफा र स्वच्छ क्षेत्र घोषणा
√  वास च्याम्पियनहरु, एनवास, महिनावारी स्वच्छता व्यवस्थापन, पूर्ण सरसफाइ, व्यवहार परिवर्तन सम्बन्धी प्रशिक्षक प्रशिक्षण जस्ता क्षमता विकास तालिम ।
√  पालिका तथा विद्यालय स्तरमा वास समितिहरु गठन/पुनर्गठन भई संस्थागत भएको ।
√  भित्ते लेखन, पोष्टर पम्प्लेट, रेडियो, टिभी, सडक नाटक जस्ता कार्यक्रम द्वारा वास व्यवहार परिवर्तन ।
√  समुदाय, स्थानीय जनप्रतिनिधी, धार्मिक गुरुहरुलाई लैङ्गिक तथा वास अधिकारका बारेमा तालिम तथा अभिमुखीकरणद्वारा क्षमता अभिवृद्धि
√  विभिन्न किसिमका रणनीति निर्माणमा सहजीकरण गरी पालिका तथा वडा स्तरमा अनुगमन मूल्याङ्कन ।
√  महिला, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई स्वच्छता सामग्री वितरण तथा क्षमता विकास ।
√  जि.डब्लु.एम्.टी. टुल्स मार्फत महिला, पुरुष, अपाङ्गता भएकाहरुलाई कार्यभार, सहभागिता तथा निर्णय प्रक्रियामा सक्रिय भएको र स्थानीय तहको योजना निर्माण प्रक्रियामा सक्रिय भएको ।

√  विद्यालय एस.आई.पी.मा वास समायोजन गरिएको तथा तीन तारे पद्धति अभ्यासको सुरुवात र सुनौलो १००० दिन कार्यक्रम सञ्चालन भएको ।
√  वास अनुगमन पद्धति स्थापनाका लागि आई.टी सामग्री तथा खानेपानी जाँचका लागि किट सहयोग ।

परियोजनाको माध्यमबाट पछाडि पारिएका वर्गको निर्णय प्रक्रियामा सहभागिता स्तर ६ प्रतिशतबाट बृद्धि भएर ९ प्रतिशत पुगेको छ । यस्तै विद्यालयहरुमा शौचालय निर्माण तथा मर्मत गरेपछि शौचालय र विद्यार्थी संख्याको अनुपात पनि कम भएको छ । परियोजनाका अनुसार प्रारम्भिक अवधिमा एउटा शौचालय बराबर २१४ छात्रा रहेकोमा अन्तिम अवधिमा १०५ जना छात्रा बराबर एउटा शौचालयमा झार्न सफल भएको छ ।

यस्तै आधारबर्षमा एउटा शौचालय १०५ जना छात्रहरुले प्रयोग गर्नुपर्ने अवस्था रहेकोमा हाल उक्त अवस्थामा सुधार भई ६७ जनामा झरेको छ ।

नीति निर्माणको काम २० प्रतिशत बाट ८० प्रतिशत

वास दिगो विकास लक्ष्य कार्यक्रम सुरु हुँदा नगरपालिकामा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी नीति निर्माणको अवस्था २० प्रतिशत मात्र थियो ।

परियोजना सन्चालनको दौरानमा नीति नियमहरु बनेपछि अहिले यो अवस्था ८० प्रतिशत पुगेको परियोजना कार्यान्वयन गर्दै आएको संस्था सि.एस.डि.सी.ले जनाएको छ । वास दिगो विकास लक्ष्य परियोजनाका परियोजना संयोजक हरि बुढाथोकीका अनुसार यसका लागि निम्न कार्यक्रमहरु सञ्चालन गरिएका छन् ।

√  वास प्लान पोलिसी निर्माण
√  वास प्लानको लागि डाटा संकलन
√  वास च्याम्पियन, डाटा संकलक र पालिका प्रतिनिधीहरुलाई एनवास तालिम ।
√  पालिकाको अनुगमन समितिलाई अनुगमन चेक लिष्ट विकास सम्बन्धी तालिम प्रदान
√  वास प्लान निर्माणमा सहजीकरण र सहयोग ।
√  वास ऐन, नीति, नियम र कार्यविधि निर्माणमा सहजीकरण र सहयोग ।

बराहक्षेत्रमा १ करोड ६८ लाख लगानी

उल्लेखित कार्यक्रमहरु सञ्चालन गर्नका लागि वास दिगो विकास लक्ष्य परियोजनाले बराहक्षेत्र नगरपालिकामा मात्र १ करोड ६८ लाख १८ हजार ८ सय ४७ रुपैयाँ लगानी गरेको छ । बराहक्षेत्र नगरपालिकामा खानेपानी, सरसफाइ र स्वच्छता दिगो विकास लक्ष्य (वास एस.डि.जी) परियोजनाको सामाजिक लेखाजोखा कार्यक्रममा जनवरी सन् २०१९ देखि जुन सन २०२३ सम्म भएको लगानी विवरण सार्वजनिक गरिएको हो ।

परियोजनाले नगरपालिकाका मेयर, उपमेयर, नगरपालिकाका विभिन्न विषयगत समितिका प्रमुख तथा सदस्यहरु, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधी, कार्यपालिका सदस्यहरु, विभिन्न दलका प्रतिनिधीहरु, नगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यहरु, विद्यालयका शिक्षक तथा बाल क्लवका सदस्यहरु, खानेपानी, सरसफाइ उपभोक्ता महासंघ, विभिन्न खानेपानी उपभोक्ता समितिहरु तथा अन्य सरोकारवालाहरुको उपस्थितिमा सामाजिक लेखाजोखा गरिएको हो ।

सामाजिक लेखाजोखा कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले वास दिगो विकास लक्ष्य परियोजनाले नगरपालिकाबासीको खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी आनीबानीमा व्यापक सुधार ल्याएको बताउनुभयो ।

परियोजनाबाट स्वच्छता सम्बन्धी बानी व्यवहार परिवर्तनमा भएको उपलब्धीलाई निरन्तरता दिन परियोजना मार्फत परिचालित वास च्याम्पियनहरुलाई स्वच्छता प्रबद्र्धनका लागि नगरपालिकाले खटाईने बताउनुभयो । उहाँले परियोजना मार्फत घोषणा गरिएका सफा र स्वच्छ क्षेत्रको अवधारणालाई निरन्तरता दिदै थप टोलहरुलाई पनि सफा र स्वच्छ क्षेत्र घोषणा गर्दै लगिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बराहक्षेत्र नगरपालिकाको वडा नंं ७ भित्रका १५ वटा टोल सफा र स्वच्छ क्षेत्र घोषणा भएका छन् ।

सामाजिक लेखाजोखा कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका प्रोग्राम कोअर्डिनेटर केदार खतिवडाले बराहक्षेत्र नगरपालिकाले आगामी दिनमा वास प्लानले निर्दिष्ट गरे बमोजिम दिसाजन्य लेदो व्यवस्थापनमा जोड दिनुपर्ने, वास च्याम्पियनहरु मार्फत सरसफाइ व्यवहार परिवर्तन सञ्चारको कामलाई बढावा दिनुपर्ने, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको क्षमता अभिवृद्धि गर्दै खानेपानी सुरक्षा योजनालाई अद्यावधिक गर्नुपर्ने र विद्यालय, समुदाय, सार्वजनिक स्थल लगायतमा समावेशी खानेपानी र सरसफाइ सेवाका बिषयमा नियमित पैरवी गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सि.एस.डि.सी.का अध्यक्ष इन्द्र कुमार कर्णले खानेपानी, सरसफाइ र स्वच्छता बानी व्यवहार परिवर्तनको काम निक्कै चुनौतीपूर्ण रहेको र निरन्तरको सचेतनामूलक कार्यक्रमबाट केही परिवर्तनहरु देखिएको बताउनुभयो ।

उहाँले सरसफाइ अभियानको सुरुवात गर्ने बेला शौचालयमा दिसा गरे बापत कति पैसा पाउँछ भनेर सोध्ने समुदायले अहिले आफैले शौचालय बनाएर सही तरिकाले प्रयोग गर्दै आएको बताउनुभयो । ‘यी दृष्टान्तहरुले हामीले चालेको पाइला सफलता उन्मुख छ भन्ने देखाउँछ, हामीले धेरै मानिसको स्वच्छता बानी व्यवहार परिवर्तन गर्न सफल भएका छौं ।’ उहाँले भन्नुभयो ।

लेखाजोखा कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, वडाध्यक्ष तथा बाल क्लवका सदस्यहरुले कार्यक्रम प्रतिको धारणा र सल्लाह सुझाव व्यक्त गरेका थिए ।

प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सामुदायिक समाज उत्थान केन्द्र (सि.एस.डि.सी.) ले सन् २०१९ देखि वास एस.डि.जी. कार्यक्रम कार्यान्वयन गरिरहेको छ । यही डिसेम्बरदेखि परियोजनाको अवधि समाप्त हुँदैछ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार