नगरव्यापी समावेशी सरसफाइ प्रशिक्षक प्रशिक्षण तालिम शुरु

  वास खबर सम्वाददाता  1339 पटक हेरिएको
🔗
116
Shares

भक्तपुर : नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम आजदेखि सुरु भएको छ । आठ दिन सम्म चल्ने प्रशिक्षक प्रशिक्षण तालिमको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमल राज श्रेष्ठले उदघाटन गर्नुभयो ।

नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी ज्ञान र क्षमता अभिवृद्धि गराई यस सम्बन्धी तालिम सञ्चालन गर्न सक्षम प्रशिक्षक उत्पादन गर्ने हेतुले तालिम आयोजना गरिएको हो ।

तालिमको उदघाटन सत्रमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक भावना शर्माले सरसफाइको क्षेत्रमा दक्ष जनशक्तिको अभाव परिपूर्तिका लागि क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता देखिएको र त्यसैको लागि तालिमको प्याकेज निर्माण गरी प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरिएको बताउनुभयो ।

एन्फोले ‘नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी प्रशिक्षक प्रशिक्षण’ तालिम प्याकेज निर्माण गर्न धेरै पटक छलफल गरी खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा अनुमोदन गरे पछि बल्ल तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

कार्यकारी निर्देशक शर्माले एन्फोले सरसफाइ क्षेत्रमा दक्षता अभिवृद्धि गर्न तालिम प्याकेजहरु निर्माण गरिरहेको र यसले दिगो विकास लक्ष्य ६ प्राप्तिमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि एवं खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिमको माध्यमबाट यस सम्बन्धी स्रोत व्यक्तिहरु उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नगरव्यापी समावेशी सरसफाइको अवधारणाले शहरी क्षेत्रमा बसोबास गर्ने सबै तह र तप्कासम्म समान र समावेशी सरसफाइको पहुँच पुग्ने र यसले दिगो विकास लक्ष्य ६ हासिल गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

‘आठ दिनको तालिमबाट नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी सक्षम स्रोत व्यक्ति हुनुहुनेछ भन्ने विश्वास गरेको छु’ उहाँले भन्नुभयो ।

तालिमका सभाध्यक्ष एवं राष्ट्रिय खानेपानी तथा सरसफाइ तालिम केन्द्रका प्रमुख राजु महतले दिगो विकास लक्ष्य ६ हासिल गर्न नगरव्यापी समावेशी सरसफाइ अवधारणालाई अंगीकार गर्नुपर्ने र यसका लागि आवश्यक जनशक्ति तालिमबाट उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग र वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को संयुक्त आयोजनामा सुरु तालिममा विभागका वास प्रोफेस्नल, परामर्शदाता, विकास साझेदारका गरी २३ जनाको सहभागिता रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार