
सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ आग्रीगाउँ स्वास्थ्य चौकीमा तीन महिना पहिलेसम्म खानेपानीको राम्रो प्रबन्ध थिएन । स्वास्थ्य चौकी भन्दा तलतिर रहेको आग्रीगाउँका बासिन्दा र स्वास्थ्य संस्थाले प्रयोग गर्ने पानीको मुहान र पाइप पनि एउटै थियो ।
स्वास्थ्य चौकी र आग्रीगाउँको लागि पानी छुट्याउन Υ राखिएको थियो । धेरै जसो समय गाउँलेलाई नै पानी चाहिने भएपछि स्वास्थ्य चौकीतिर आउने पानी बन्द गरेर गाउँतिरै पठाउने गरिन्थ्यो ।
यसो हुँदा स्वास्थ्य चौकीमा सधैंजसो पानीको अभाव हुन्थ्यो । स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (प्रसुति सेवा) समेत भएकाले पानीको अभावमा सुत्केरी गराउन धेरै समस्या हुन्थ्यो । कार्यालय सहयोग धनबीर पुन भन्नुहुन्छ ‘सुत्केरी हुँदा भुँईमा रगत लत्पतिन्छ, सुत्केरीले प्रयोग गर्ने कपडाहरु धुनुपर्छ, टालोहरु धुनुपर्छ । तर यी सबै काम गर्नका लागि पानीको अभावमा निक्कै समस्या हुन्थ्यो ।’
फोहोर कपडाहरु धुन, भुँई पुछ्न, स्वास्थ्य उपकरणहरु अटोक्लेभ गर्न एक जना सुत्केरी गराउँदा करिब सय लिटर पानी आवश्यक पर्छ ।
राम्रो सँग भुँई नपुछे झिँगा भन्किने र थप संक्रमणको जोखिम समेत हुन्थ्यो । तर अहिले खानेपानी प्रसस्त उपलब्ध भएपछि न बेला बेलामा बनाईरहनुपर्ने झन्झट छ, न पानीको अभावमा स्वास्थ्य सेवा प्रभावित हुने अवस्था नै छ । ‘अहिले त १/१ हजार लिटरका दुई वटा हिलटेक टनाटन भरिएको हुन्छ, जत्ति प्रयोग गरे पनि पुग्छ ।’

यसरी भयो प्रशस्त पानीको सुविधा
उही पानीको मुहान, पिउने र प्रयोग गर्ने उपभोक्ता पनि पहिलेकै । पहिले आग्रीगाउँ र स्वास्थ्य चौकीमा जाने पाईप एउटै थियो । अहिले फरक फरक छन् । कालढुङ्गा खानेपानीको मुहान तलतिर रिजर्भ्वायर ट्याङ्क निर्माण गरी आग्रीगाउँका लागि एउटा पाइप लाइनबाट र स्वास्थ्य चौकी र वडा कार्यालयका लागि अर्को लाइनबाट पानी पठाउन थालेपछि स्वास्थ्य चौकीमा खानेपानीको अभाव सदाका लागि अन्त्य भएको हो ।

नेपाल सरकार र यु.एस.ए.आई.डी.को आर्थिक सहयोगमा सञ्चालित USAID’s Health and Hygiene Activity (स्वच्छता परियोजना) ले आग्रीगाउँ स्वास्थ्य चौकीमा खानेपानी आपूर्ति तथा सरसफाइ योजना निर्माण गरेको हो ।
खानेपानी आपूर्ति तथा सरसफाइ योजना अन्तर्गत पाइपलाइनको काम, शुद्धिकरण सहितको पानी भण्डारणको व्यवस्था, पुरुष, महिला तथा अपाङ्गता भएका व्यक्तिका लागि छुट्टा छुट्टै शौचालय र स्वास्थ्य चौकी भित्र हात धुने बेसिन, फिल्टर लगायतको व्यवस्था गरिएको हो ।
यसका लागि करिब १३ लाख रुपैयाँ लगानी भएको छ । ती मध्ये स्वच्छता परियोजनाले १० लाख ८९ हजार ९ सय ५४ रुपैयाँ बेहोरेका छन् भने कुल लागतको २ प्रतिशत मर्मत सम्भार कोषमा जम्मा गर्नुपर्ने रकम सहित सिम्ता गाउँपालिकाले २ लाख ६ हजार १ सय १९ रुपैयाँ लगानी गरेको छ ।
पानीले भगायो संक्रमणको जोखिम
स्वच्छता परियोजनाले स्वास्थ्य चौकीमा खानेपानी आपूर्ति तथा सरसफाइ योजना निर्माण गर्नु भन्दा पहिले आँगनमा एउटै मात्र धारा थियो । भित्र बिरामीको परिक्षण गरेपछि हात धुनलाई बाहिरै आउनु पर्थ्यो ।

स्वास्थ्य चौकीका सिनियर अहेब झलक रावल भन्नुहुन्छ ‘पहिले बिरामी छोईसकेपछि हात धुनलाई बाहिर निस्किनु पर्थ्यो । अहिले हरेक कोठामा हात धुने बेसिन बनाई दिनुभएको छ, जत्तिबेला धाराको टुटी खोल्यो त्यत्ति नै बेला पानी आउँछ ।’
उहाँका अनुसार अहिले प्रसुती कक्ष, बिरामी परिक्षण गर्ने ठाउँ र बाहिरको प्यासेजमा गरी तीन ठाउँमा हात धुने बेसिन राखिएको छ । ‘चाहेकै बेला हात धुन पाईने भएपछि बिरामीबाट स्वास्थ्यकर्मी संक्रमण हुने जोखिम पनि हटेको छ ।’ उहाँले भन्नुभयो ।
सुत्केरी गराउन सबै भन्दा सजिलो
पहिले स्वास्थ्य चौकीकै आँगनमा पानी जम्मा गर्ने ५ सय लिटरको ड्रम थियो । एक त नियमित पानी नआउने, त्यसमा पनि लेदो जमेर फोहोर हुन्थ्यो ।
सुत्केरी ब्यथाले च्यापेर आईपुगेका महिलालाई प्रसुती कक्षमा आराम गराएर पानी बनाउन गएका कतिपय दिनहरु सम्झिँदै कार्यालय सहयोगी धनबीर पुन भन्नुहुन्छ ‘पानीले सबैभन्दा सजिलो त सुत्केरी गराउने लाई भएको छ ।’

सुत्केरीका फोहोरहरु धुन, भुँई पुछ्न, कपडाहरु धुन, स्वास्थ्य उपकरणहरु अटोक्लेभ गरी निर्मलीकरण गर्न एक जना सुत्केरी गराउँदा करिब सय लिटर पानी आवश्यक पर्ने अहेव रावलको अनुभव छ ।
आग्रीगाउँ स्वास्थ्य चौकीमा मासिक बढीमा तीन/चार जना र बार्षिक ३५/४० जना सुत्केरी हुने गरेको आँकडा छ । बहिरङ्ग सेवामा भने दैनिक ८/९ जना र बार्षिक करिब ३ हजार जना बिरामी आउने गरेका छन् ।

स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता सुविधा मार्फत स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवाको गुणस्तर बढाउने उद्देश्यले USAID’s Health and Hygiene Activity (स्वच्छता परियोजना) ले कर्णाली प्रदेशको सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम, जाजरकोट, डोल्पा र लुम्बिनी प्रदेशको रुकुम पूर्व गरी सात वटा जिल्लाका २ सय ४८ स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।



753 पटक हेरिएको 

