सातधाराका महिला भन्छन् : गाउँलाई हामीले सफा र स्वच्छ बनायौं

  वास खबर सम्वाददाता  847 पटक हेरिएको
🔗
49
Shares


सिन्धुली : सिन्धुली जिल्लाको कमलामाई नगरपालिका, वडा नं. १ मा पर्ने ५१ घरधुरी रहेको सातधारा टोल बुधबार सफा र स्वच्छ क्षेत्र घोषणा भयो । बागमती प्रदेश मन्त्रालय, विकास साझेदार, सहजीकरण गर्ने संस्था, कमलामाई नगरपालिकाका प्रतिनिधि लगायतको उपस्थितिमा समुदायलाई सफा र स्वच्छ क्षेत्र स्वघोषणा गरियो । घोषणामा सबैभन्दा बढी खुशी स्थानीय महिला देखिनुभयो ।

“यो सबै हामीले गर्दा भएको हो”, स्थानीय प्रमिला सुनुवारले सुनाउनुभयो, “पुरुष घरमा नै बस्दैनन्, कामका लागि बाहिर जान्छन् । हामीले अगुवाइ नगरेको भए टोल सफा र स्वच्छ क्षेत्र बन्ने थिएन ।” परिवारका सदस्यहरुको सरसफाइदेखि घरायसी सरसफाइ, पानीको स्वच्छता, सुरक्षित खानाको प्रयोगमा महिलाको भूमिका बढी हुने भए पनि वातावरणीय सरसफाइमा भने महिला पुरुष दुबैको भूमिका बराबर हुने गरेको उहाँले बताउनुभयो ।

टोल सफा र स्वच्छ क्षेत्र स्वघोषणा कार्यक्रमअघि महिलाकै नेतृत्वमा गाउँ गौरव यात्रा पश्चात् सहभागी सबैले आगामी दिनमा पूर्ण सरसफाइ अभियानलाई निरन्तरता दिने प्रतिवद्धतापत्रमा हस्ताक्षर गर्नुभयो । टोल सफा र स्वच्छ क्षेत्रको रुपमा विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने दुई जनालाई सम्मान समेत गरियो ।


“मेरो घरमा ८० वर्षकी आमा र १०५ वर्षकी सासू आमा हुनुहुन्छ, उहाँहरुको हेरचाह र सरसफाइदेखि घरायसी सरसफाइको काम समेत म एक्लै गर्दै आएकी छु”, पुरस्कृत भएपछि हर्षित हुँदै लेखमाया आलेले भन्नुभयो, “घरको कामबाट समय मिलाएर अरु घरधुरीमा समेत म वास च्याम्पियनसँगै पुगें ।”

घरमा वृद्ध श्रीमान् श्रीमती मात्र रहे पनि सरसफाइ तथा स्वच्छताका सबै सूचक पूरा गरेकोमा माइतसिंह लोप्चनलाई समेत सम्मानित गरियो । “पहिले त पूर्ण सरसफाइ भन्ने कुरो बुझिएको थिएन”, उहाँले सुनाउनुभयो, “सबैले घरमा आएर सफा रहनुपर्छ, पानी फिल्टर गरेर खानुपर्छ, खाना सफा राख्नुपर्छ भनेर सिकाउनुभयो, हामीले त्यही गर्दै गयौं ।”


सहरको नजिक, आदिवासी जनजाति समुदायको बाक्लो बस्ती, सरसफाइका आधारभूत सूचकको बारेमा सामान्य ज्ञान भएको समुदाय । “सुरुमा सफा र स्वच्छ क्षेत्रका सूचक र तिनको महत्व बुझाउन निकै कठिन थियो”, सरसफाइ तथा स्वच्छता व्यवहार परिवर्तनका लागि सहजीकरण गर्ने वास च्याम्पियन बुना थापा भन्नुहुन्छ, “सबै सूचकका फाइदा र महत्वबारे बुझाउँदै गएपछि समुदायको सक्रियता बढ्दै गयो । व्यवहार परिवर्तन सत्र सञ्चालनपछि उहाँहरुलाई सरसफाइ तथा स्वच्छताको महत्वबारे जानकारी भयो ।”

पूर्ण सरसफाइ अभियानअघि अधिकांश घरमा चर्पी भए पनि केही घरधुरीमा चर्पीको पुनःनिर्माण गर्नुपर्ने थियो, घरमा जुठ्यान र भाँडा सुकाउने मचान निर्माण गर्नुपर्ने थियो । फोहर वर्गीकरण र व्यवस्थापन गर्नुका साथै वातावरणीय सरसफाइ प्रवद्र्धन गर्न बाँकी नै थियो । “सबै काममा महिलाहरुले निकै सक्रियताका साथ नेतृत्व लिनुभयो”, पूर्ण सरसफाइ अभियान सहजीकरण गर्ने संस्था मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपालद्वारा सञ्चालित वास एसडिजी परियोजनाका वास च्याम्पियन तारादेवी पाण्डे भन्नुहुन्छ, “त्यसैले छोटो समयमा नै समुदायलाई सफा र स्वच्छ क्षेत्र स्वघोषणा गर्न सम्भव भयो ।”


वडा अध्यक्ष एवम् वडास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष नरेश गोलेले विकास साझेदार र सहजीकरण गर्ने संस्थाको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

विकास साझेदार संस्था प्लान इन्टरनेशनल नेपालका वास विज्ञ वासुदेव पाण्डे, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) का राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्याल, ह्याण्ड्स नेपालका अध्यक्ष वासुदेव अधिकारी, कार्यक्रम संयोजक रोहित ढकालले सरसफाइ तथा स्वच्छता व्यवहार परिवर्तनको दिगोपनमा जोड दिनुभयो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार