गढी २ को तीन टोल एकैसाथ सफा र स्वच्छ समुदाय घोषणा

  वास खबर सम्वाददाता  747 पटक हेरिएको
🔗
48
Shares

सुनसरी : सुनसरीको गढी गाउँपालिका वडा नं. २ को तीन वटा टोललाई एकैसाथ सफा र स्वच्छ टोला घोषणा गरिएको छ । गढी गाउँपालिकाकी उपाध्यक्ष अनिता साहको प्रमुख आतिथ्यमा ४२ घरको जितिया मन्दिर मुसहरी टोल, ४६ घरको पश्चिम राधाकृष्ण मन्दिर टोल र ३९ घरको कोल्हवी स्कुल टोललाई सफा र स्वच्छ समुदाय स्वघोषणा गरिएको हो ।

पूर्ण सरसफाइ मार्गदर्शन अनुसार स्वच्छ र सफा क्षेत्र स्वघोषणाका लागि आवश्यक सबै सूचकको पूरा भएपछि गढी गाउँपालिकाको जितिया मन्दिर मुसहरी टोल, पश्चिम राधाकृष्ण मन्दिर र कोल्हवी स्कुल टोललाई सफा र स्वच्छ क्षेत्र घोषणा गरिएको लैङ्गिक रुपान्तरित वास दिगो विकास लक्ष्य परियोजनाकी फिल्ड सुपरभाइजर रक्षा सिंहले जानकारी दिनुभयो ।


प्लान इन्टरनेशनल नेपाल, सिएसडिसी र गढी गाउँपालिकाको त्रिपक्षीय साझेदारीमा गढी गाउँपालिकामा सन् २०१९ देखि लैङ्गिक रुपान्तरित खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना मार्फत खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेका छन् ।

परियोजनाले खानेपानी, सरसफाइ र स्वच्छता व्यवहार परिवर्तन अन्तर्गत विभिन्न टोल तथा समुदायमा स्वच्छता बानीव् यवहार परिवर्तन सम्बन्धी विभिन्न कक्षहरु सञ्चालन गरी नियमित अनुगमन गरिन्छ । निश्चित टोल भित्र बसोबास गर्ने समुदायको सबै घरपरिवारको सरसफाइ र स्वच्छता सम्बन्धी व्यवहार परिवर्तन भई स्वच्छ र सफा क्षेत्र घोषणाका लागि आवश्यक सूचकहरु पूरा भएपछि वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रमाणीकरण गरी टोललाई सफा र स्वच्छ क्षेत्र घोषणा गर्ने गरिएको फिल्ड सुपरभाइजर सिंहले बताउनुभयो ।


घोषणा कार्यक्रममा स्थानीय अमदा रिषिदेवले मुसहर जाति भनेको फोहोरमै बस्ने, सरसफाइ नगर्ने, स्वच्छता प्रति कुनै मतलव नराख्ने जाति हो भन्ने अन्य मानिसको बुझाईलाई यो कार्यक्रमले परिवर्तन गर्ने बताउनुभयो । उहाँले सिएसडिसीले सञ्चालन गरेको व्यवहार परिवर्तन सम्बन्धी कक्षले आफ्नो समुदायमा ठूलो परिवर्तन ल्याएको र त्यसको परिणाम स्वरुप स्वच्छ र सफा समुदायको बासिन्दा हुन पाएको बताउनुभयो ।

यस्तै गढी गाउँपालिकाकी उपाध्यक्ष अनिता साहले सभ्य समाज निर्माण हुनु आजको सबैभन्दा ठूलो आवश्यकता रहेको बताउनुभयो । उहाँले यसको एउटा मूल आधार नै सरसफाइ र स्वच्छता भएको र यसले मानिस कतिको शिक्षित र आफ्नो स्वस्थ्य प्रति कतिको जिम्मेवार छ भन्ने कुरालाई समेत दर्शाउने बताउनुभयो ।


उपाध्यक्ष साहले भन्नुभयो ‘मानवीय सोंचको विकास विना भौतिक विकासको कुनै अर्थ रहँदैन ।’ उहाँले संस्थाका वास च्याम्पियनहरु नै यसको संवाहक भएको र आफूहरुलाई समेत विकास भनेको खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी मानिसको आनीबानी परिवर्तन पनि हो भन्ने कुरा महसुस गराएको बताउनुभयो ।

समुदाय घोषणा सभामा सिएसडिसीका परियोजना संयोजक हरि बुढाथोकी, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, समाजसेवीहरु, वास च्याम्पियनहरु, सामाजिक अभियन्ताहरु र स्थानीय बासिन्दाको बाक्लो उपस्थिति थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार