काठमाडौ : अपाङ्गता तथा शारीरिक कठिनाइ भएका व्यक्तिको सरसफाइमा पहुँच बढाउने उद्देश्यले खानेपानी तथा ढल निकास विभागले अपाङ्गता तथा शारीरिक कठिनाइ भएका व्यक्तिहरुको लागि घरायसी चर्पीका प्रकारहरु समेटिएको हाते पुस्तिका प्रकाशन गरेको छ ।
अहिले निर्माण भएका शौचालयको संरचना तथा चर्पीमा पुग्ने बाटाहरुले अपाङ्गता तथा शारीरिक कठिनाइ भएका व्यक्तिहरुको आवश्यकतालाई समावेश नगरिएको हुनाले सबैलाई सरसफाइमा पहुँच पु-याउन शौचालयको नमुना प्रकाशित गरिएको विभागले जनाएको छ ।
अब पुस्तिकामा उल्लेख गरिएका शौचालय हेरेर आफ्नो घरमा रहेका अपाङ्गता भएका व्यक्तिको प्रकृति अनुसारको शौचालय बनाउन सकिनेछ । चर्पी घरायसी स्तरमा बनाइने भएपनि हाते पुस्तिका सरसफाइ र स्वच्छतालाई प्रबद्र्धन गर्ने कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधी, सामाजिक परिचालक, सरसफाइ प्राविधिक, मिस्त्री र डकर्मीहरुका लागि समेत उपयोगी हुने विभागको दाबी छ ।
हाते पुस्तिकामा कस्ता अपाङ्गता भएका व्यक्तिलाई कस्तो शौचालय उपयोगी हुने र शौचालय बाहिर र भित्र हुनुपर्ने सरसफाइ सुविधाको समेत व्याख्या गरिएको छ ।
खानेपानी तथा ढल निकास विभाग अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रले प्रकाशन गरेको हाते पुस्तिका तराइका ५, पहाडका २ र हिमालका १ गरी आठ जिल्लाका लक्षित समूह र सरोकारवाला निकायसँगको छलफल र सुझाव संकलन गरी तयार पारेको हो ।
कस्तो चर्पीमा के सुविधा ?
जस्तो सुकै चर्पी बनाए पनि शुरुमा ठाउँको छनौट गर्नुपर्छ । चर्पीको घरको नजिकै हुनुपर्ने, चर्पी जाने बाटो सहज, सुरक्षित र चिप्लो नहुने हुनुपर्दछ । अपाङ्गता भएका व्यक्तिका लागि बनाइने चर्पी भएकाले हात धुने ठाउँ पनि अपाङग मैत्री नै हुनुपर्छ ।
-याम्प भएको चर्पी
यो चर्पी ह्वील चेयरमा हिडडुल गर्नुपर्ने अपाङ्गताका लागि हो । त्यसैले यो चर्पी बनाउँदा जाने बाटो, ह्वील चेयर गुडाउने प्रशस्त ठाउँ पनि हुनुपर्छ । चर्पीको भित्र पनि ह्वील चेयर राख्न मिल्ने गरी प्रशस्त ठाउँ हुनुपर्छ ।

-याम्प भएको चर्पीमा हुनुपर्ने विशेषताहरु :
यदि तपाईको घर परिवारमा ह्वील चेयरमा हिड्नुपर्ने कोही हुनुहुन्छ भने -याम्प भएको चर्पी बनाउनुपर्छ । यस्तो चर्पी बनाउँदा निम्न विशेषता भएको हुनुपर्छ ।
- चर्पी घरको भित्री नाप ह्वील चेयर राख्न मिल्ने गरी लम्बाइ ८ फिट तथा चौडाइ ७ फिट ६ इन्च हुनुपर्दछ ।
- ढोकाको बाहिर खुल्ने गरी ३ फिट ३ इन्च चौडाइ भएको हुुनुपर्छ ।
- ढोको ह्यान्डलको उचाइ भित्री तथा बाहिरी भागमा २ फिट ६ इन्चको हुनुपर्दछ ।
- -याम्पको भिरालोपन १ः१५ (१५ फिट लम्बाइमा १ फिट उचाई) भएको हुनुपर्दछ ।
- -याम्पको चौडाई ३ फिट हुनुपर्दछ ।
- -याम्पको प्लेटफर्मको नाप ५ फिट लामो तथा चौडाई ३ फिटको हुनुपर्दछ ।
- -याम्पको दायाँबायाँ तिरको छेकबारको उचाई २ फिट ३ इन्च देखि ३ फिट सम्मको हुनुपर्दछ ।
- -याम्पको सतह चिप्लो हुनुहँदैन
- हाल रहेको चर्पीलाई सुधार गरी ह्वील चेयर राख्नमिल्ने गरी ५ फिट ९ इन्च लम्बाइ तथा चौडाइ भएको प्लेटफर्म बनाउन सकिन्छ ।
अन्य अपाङ्गता भएका व्यक्तिका लागि उपयोगी चर्पीको नमुना क्रमशः प्रकाशन गर्दै जानेछौं । washkhabar.com हेर्दै गर्नुहोला ।
साभार : राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रद्धारा प्रकाशित हाते पुस्तिका ‘अपाङ्गता तथा शारीरिक कठिनाइ भएका व्यक्तिहरुको लागि घरायसी चर्पीका सुविधाका प्रकारहरु’ बाट ।


1096 पटक हेरिएको 

