
सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ५ स्थित पोखरी टोललाई सफा र स्वच्छ टोल घोषणा गरिएको छ । ५ नं. वडा कार्यालयको आयोजनामा ५५ घरपरिवारलाई समेटेर पोखरी टोललाई सफा र स्वच्छ समुदाय घोषणा गरिएको बराहक्षेत्र नगरपालिकाका वास फोकल पर्सन मोतिलाल चौधरीले जानकारी दिनुभयो ।
प्लान इन्टरनेशनल नेपाल, सिएसडिसी र बराहक्षेत्र नगरपालिकाको साझेदारीमा बराहक्षेत्र नगरपालिकाको सबै वडामा सन् २०१९ देखि लैङ्गिक रुपान्तरित खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना मार्फत खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेका छन् ।

परियोजनाद्वारा खानेपानी, सरसफाइ र स्वच्छता व्यवहार परिवर्तन अन्तर्गत विभिन्न टोल तथा समुदायमा स्वच्छता बानी व्यवहार परिवर्तन सम्बन्धी विभिन्न कक्षहरु सञ्चालन गरी नियमित अनुगमन गरिन्छ । निश्चित टोल भित्र बसोबास गर्ने समुदायको सबै घरपरिवारको सरसफाइ र स्वच्छता सम्बन्धी व्यवहार परिवर्तन भई स्वच्छ र सफा क्षेत्र घोषणाका लागि आवश्यक सूचकहरु पूरा भएपछि वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रमाणीकरण गरी टोललाई सफा र स्वच्छ क्षेत्र घोषणा गर्ने गरिएको सिएसडिसी सुनसरीका फिल्ड सुपरभाइजर रेखा चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा वास दिगो विकास लक्ष्य परियोजनाका परियोजना संयोजक हरि बुढाथोकीले स्वच्छ बानी व्यवहार आफ्नै स्वास्थ्यका लागि भएकाले सबैले स्वच्छ बानी व्यवहोरा अपनाउनु आग्रह गर्नुभयो । उहाँले साबुन पानीले हात धुने र सुरक्षित पानी तथा सुरक्षित खाना खानले सरुवा रोगहरु नलाग्ने बताउनुभयो ।
सफा र स्वच्छ क्षेत्र घोषणा कार्यक्रममा वडा कार्यालयको तर्फबाट प्रत्येक घरपरिवारलाई १र१ थान हार्पिक र ब्रस उपलब्ध गराईएको थियो । समुदायमा खानेपानी, सरसफाइ र स्वच्छता व्यवहार परिवर्तनका लागि अनवरत खटिने वास च्याम्पियनहरुलाई भने साईकल बितरण गरिएको थियो ।


484 पटक हेरिएको 

