
धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिकामा सरोकारवालाहरुका लागि सञ्चालित ‘पूर्ण सरसफाइ सम्बन्धी तालिम सम्पन्न भएको छ । बेनिघाट रोराङ गाउँपालिकाको आर्थिक सहयोग तथा बेनिघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डको आयोजनामा सञ्चालित तालिम आइतबार सम्पन्न भएको हो ।
खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा सरोकारवालाहरु तथा सम्बन्धित कर्मचारीहरुको क्षमता विकास गराई पूर्ण सरसफाइ सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक ज्ञान, सीप प्रदान गर्ने हेतुले तालिमको आयोजना आयोजना गरिएको बेनिघाट रोराङ ग्रामीण खानेपानी ब्यबस्थापन बोर्डका कार्यकारी निर्देशक अर्चिता उप्रेती श्रेष्ठले बताउनुभयो ।
गाउँपालिकामा वास योजना तर्जुमा भएको तर कुन सुचकबाट काम सुरु गर्ने भन्ने अन्यौलतालाई हटाउन र सफा र स्वच्छ क्षेत्र घोषणाको सुचकहरुलाई प्राथमिकीकरण गरेर योजना बनाई कार्य अगाडि बढाउन २ दिने तालिमको आयोजना गरिएको गरिएको कार्यकारी निर्देशक उप्रेतीले बताउनुभयो । तालिमबाट गाउँपालिकाले वास क्षेत्रमा राखेको लक्ष्य प्राप्तिमा सघाउ पुग्ने अपेक्षा लिईएको छ ।
तालिमको समापनमा बेनिघाट रोराङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ब्रजेज तामाङले सफा र स्वच्छ क्षेत्र घोषणाका सूचकहरू पुरा गरेर गाउँपालिकालाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्न सकिएमा समग्र वालावालिकाको पोषण अवस्थामा सुधार ल्याउन सकिने बताउनुभयो । उहाँले वडा स्तरमा भएको वास समन्वय समितिलाई सक्रिय बनाई टोल स्तरमा वास कमिटी गठन तथा अभिमुखीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

बेनिघाट रोराङ गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष राजु बहादुर मगरले गाउँपालिकालाई खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा उत्कृष्ट बनाउनुपर्ने बताउनुभयो । ‘बेनिघाट रोराङको ग्रामीण भेगका समुदाय गाउँ टोलमा पूर्ण सरसफाइका कार्यक्रमलाई तिब्रता दिनुपर्छ’ उहाँले भन्नुभयो ।
‘तालिममा सिकेका कुराहरुलाई ब्यबहारमा लागु गर्दै स्वच्छ र सफा समुदाय बनाउनका लागि मानिसको व्यवहार परिवर्तन गराउन नितान्त आवश्यक छ’ अध्यक्ष मगरले भन्नुभयो ‘हामीले बनाएका कार्ययोजनालाई तत्काल समुदायमा केन्द्रित गरी सञ्चालन गर्न आवश्यक छ जसको लागि सबै सरोकारवालाहरु लागि पर्नुपर्छ ।’
यस्तै बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले तालिमको क्रममा बनाईएको कार्ययोजना ठूलो उपलब्धि भएको र दिगो बिकासको सबै लक्ष्य पुरा गर्नको लागि पहिले व्यक्ति स्वयं स्वस्थ हुनेपर्ने र यसका लागि खानेपानी, सरसफाइ र स्वच्छताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । ‘यसमा हर तरहले स्वस्थ, सफा, सुन्दर र समृद्ध गाउँपालिका बनाउने र सिकेका कुराहरुलाई कार्यन्वयनमा उतार्ने प्रतिबद्ध ब्यक्त गर्दछु’ उहाँले भन्नुभयो ।

बेनिघाट रोराङ गाउँपालिका तथा बेनिघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष कृष्ण बहादुर थपलियाले गाउँपालिकाको वास योजनालाई कार्यान्वयन गर्ने र हरेक नागरिकमा खानेपानी, सरसफाइ तथा स्वच्छतामा पहुँच पु¥याउन गाउँपालिका तथा खानेपानी बोर्ड अगाडि बढिरहेको बताउनुभयो । ‘पालिका स्तरीय वास व्यवस्थापन समिति गठन र त्यसको सक्रिय परिचालन गर्न २ दिने तालिमले धेरै नै सघाउ पुर्याउने ठानेको छु’ उहाँले भन्नुभयो ।
तालिममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष,सबै वडाका वडा अध्यक्षहरु, खानेपानी बोर्डका कार्यकारी समितिका पदाधिकारीहरु, गाउँपालिका इन्जिनियर,स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य संस्थाका प्रमुख र खानेपानी ब्यबस्थापन बोर्डको कर्मचारीको सहभागिता थियो ।
२७ जनाको सहभागितामा सञ्चालित तालिमको पहिलो र दोस्रो दिन पूर्ण सरसफाइको परिचय, बेनीघाट रोराङ गाउँपालिकामा खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था र योजनाहरु, सरसफाइ सेवा श्रृङ्खला, व्यक्तिगत स्वच्छता, खानेपानी गुणस्तर तथा घरेलु उपचार प्रणाली, खाद्य सुरक्षा, घरेलु स्तरको सरसफाइ, बातावरणीय सरसफाइ लगायत बिषयमा छलफल गरिएको थियो ।


1221 पटक हेरिएको 

