भेरीगंगामा फोहोर सङ्कलन तथा पुनः प्राप्ति केन्द्र निर्माण

  वास खबर सम्बादाता  485 पटक हेरिएको


सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकामा एकीकृत फोहोर व्यवस्थापनका लागि फोहोर सङ्कलन तथा पुनः प्राप्ति केन्द्र (डब्लुसीआरसी) निर्माण भैरहेको छ । खानेपानी, सरसफाइ र स्वच्छता दिगो विकास लक्ष्य परियोजना मार्फत वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को आधारमा फोहोर सङ्कलन तथा पुनःप्राप्ति केन्द्र निर्माणको काम भैरहेको भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकालले बताउनुभयो ।

फोहोर सङ्कलन तथा पुनःप्राप्ति केन्द्र (डब्लुसीआरसी) को हाल सम्म उक्त क्षेत्रका वरपर ग्रावेल बाटो र केही ब्लकहरु निर्माण भैसकेको वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का परियोजना संयोजक अनिल महर्जनले जानकारी दिनुभयो ।


केन्द्र निर्माणका लागि गत सालदेखि प्रदेश सरकारले पनि नियमित बजेट विनियोजन गर्न थालेको र नगरपालिका र प्रदेशको संयुक्त बजेटबाट ब्लकहरु निर्माण भैरहेको नगर प्रमुख ढकालले बताउनुभयो । उहाँले वास दिगो विकास लक्ष्य परियोजना मार्फत प्राप्त भएको १७ लाख ६६ हजार रुपैयाँबाट फोहोर सङ्कलन तथा पुनः प्राप्ति केन्द्रमा कार्यरत कर्मचारी तथा सरसफाइकर्मीका लागि नुहाउने ठाउँ र शौचालय निर्माण गरिने बताउनुभयो ।

फोहोर सङ्कलन तथा पुनः प्राप्ति केन्द्रको अनुगमन गर्दै उहाँले अघिल्लो जनप्रतिनिधीकै पालोमा केन्द्र निर्माणका लागि सामुदायिक बन सँग सम्झौता भएको र आगामी सय बर्षसम्मका लागि फोहोर व्यवस्थापन गर्न सकिने बताउनुभयो ।


‘यो सरसफाइ केन्द्र हो, यो केन्द्रमा फोहोरहरुको वर्गीकरण तथा प्रशोधन समेत हुनेछन् । यो केन्द्र पूर्ण रुपमा सम्पन्न भै सञ्चालनमा आएपछि यो सिकाई स्कुलको रुपमा परिणत हुनेछ’ प्रमुख ढकालले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार