मेलम्चीको पानी काठमाडौ उपत्यकामा पुनः वितरण, प्रधानमन्त्री प्रचण्डद्वारा शुभारम्भ

 644 पटक हेरिएको


काठमाडौं : मेलम्चीको पानी काठमाडौं उपत्यकामा आजदेखि आजदेखि पुनस् वितरण गरिएको छ । मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार परिसरमा निर्मित धाराको अनावरण गरी उद्घाटन गर्नुभएको हो । मेलम्चीको पानी वितरण भएको यो चौथो पटक हो ।

बर्षा रोकिएको पाँच महिना भए पनि मेलम्चीको मुहान क्षेत्र मर्मत गर्ने काम भने मात्र २६ दिनमा सकिएको छ । बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मर्मत गरी २८ दिनभित्र पानी पथान्तरणका लागि सिनो हाईड्रो । मेलम्ची खानेपानी विकास समिति बीच समझदारी भएको थियो ।

मेलम्चीको पानी पुनः वितरण समारोहका प्रधानमन्त्री दाहालले पानी पथान्तरणको लागि आफूले २८ दिनको कार्ययोजना बनाउन निर्देशन दिएको र निर्धारित समय अगावै खानेपानी वितरण गर्न सफल भएको बताउनुभयो । ‘यो महत्वपूर्ण छ, हामी जुनसुकै काममा तोकिएको समय भन्दा ढिला हुने गथ्र्यौ, तर यसपाली हामी तोकिएको समय भन्दा अगाडि नै काम गर्न सफल भएका छौं’ प्रधानमन्त्री दाहालले भन्नुभयो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

पानी वितरणको शुभारम्भ कार्यक्रममा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले मेलम्ची खानेपानी आयोजनाको दिर्घकालीन समस्या समाधान नहुँदा सम्म अस्थायी तरिकाले पानी वितरण गर्नुको अरु विकल्प नभएको बताउनुभयो ।

आयोजना निर्माण सुरु भएको २२ वर्षपछि सम्पन्न भएको मेलम्चीका २०७७ साल फागुन २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक उदघाटन गर्नुभएको थियो । त्यसको एक महिनापछि चैत २० गते पहिलोपटक मेलम्चीको पानी काठमाडौंमा झारिएको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर मेलम्चीको पानी वितरण शुभारम्भ गर्नुभएको थियो ।

सोही वर्षको जेठ मसान्तमा आएको ठूलो बाढी र पहिरोले मेलम्चीको मुहान क्षेत्र र हेडवर्क्स लगायतका क्षेत्रमा क्षति पुगेपछि पानी वितरण पूर्ण रुपमा बन्द भएको थियो । त्यसको मर्मत गरी २०७९ मंसिर २३ गते तत्कालीन खानेपानीमन्त्री उमाकान्त चौधरीले पुनः महाँकाल केन्द्रबाट मेलम्चीको पानी वितरण शुभारम्भ गर्नुभएको थियो ।

यसरी एउटै खानेपानी आयोजनाको पटक पटक शुभारम्भ गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले आज चौथो पटक मेलम्चीको पानी वितरणको शुभारम्भ गर्नुभयो । शुभारम्भ कार्यक्रममा सरकारका मुख्य सचिव वैकुण्ठ अर्यालले मेलम्ची खानेपानीको स्थायी तथा दिगो व्यवस्थापनको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची बाहेक सिस्नेरी, ठोस्ने, महादेव खोला लगायतबाट पनि काठमाडौ उपत्यकामा खानेपानी आपूर्ति गर्ने बिषयमा अध्ययन भईरहेको बताउनुभयो ।

मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष एवं खानेपानी सचिव सुरेश आचार्यले मेलम्ची खानेपानी आयोजनाको हेड्वर्क्स स्थानान्तरण गरी स्थायी व्यवस्थापन गर्ने बिषयमा परामर्शदाताले उपलब्ध गराएको प्रतिवेदन अध्ययन भईरहेको र त्यसपछि राजनीतिक तहमा पनि उक्त प्रतिवेदन बारे छलफल गरी ठोस निष्कर्षमा पुग्ने बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार