सिरहा : सबैको घरमा शौचालय बनाएर खुला दिसामुक्त घोषणा गर्ने काम चुनौतीपूर्ण बन्दै गएपछि सिरहामा प्रहरी परिचालन गरिएको छ । सिरहा नगरपालिकाको पहलमा आजदेखि सशस्त्र प्रहरी, नेपाल प्रहरी र चुनावका लागि खटिएका म्यादी प्रहरी र युम्स तथा नगरपालिकाका कर्मचारी संयुक्त रुपमा परिचालन गरिएको हो ।
पक्राउ परेपछि खुला ठाउँमा दिसा गर्नेहरुले के भने ? हेर्नुहोस् यो भिडियो :
सिरहा नगरपालिकाको १९ वटा वडा खुला दिसामुक्त घोषणा भएपनि वडा नंं. २, ७ र ८ लाई खुला दिसामुक्त घोषणा गर्न समस्या भएपछि खुला दिसा गर्नेहरुलाई निरुत्साहित गरी चर्पी बनाउन लगाउने उद्देश्यले टोली परिचालन गरिएको हो ।
टोलीले खुला दिसा गर्नेलाई पक्राउ गरी चर्पी बनाउन सम्झाई बुझाई पठाउने गरिएको छ ।
खुला दिसा गर्नेलाई चियाको स्वागत
सशस्त्र प्रहरी, नेपाल प्रहरी, म्यादी प्रहरी र युम्स तथा नगरपालिकाको संयुक्त टोलीले आज ११ जनालाई खुला दिसा गरिरहेको अवस्थामा पक्राउ गरी चिया खुवाएर छाडिएको छ । खुला दिसा गरिरहेकाहरुलाई पक्राउ गरेपछि गाडीमा हालेर करिब चार किलोमिटर दुरीमा पर्ने प्रहरी कार्यालय अगाडि चोकमा ल्याएर चिया खुवाएर पठाएको हो ।
खुला दिसा गरिरहेका तीन जना बालक समेत पक्राउ परेको र उनीहरु होटलमा काम गर्ने बालकहरु रहेको बुझिएको युम्सकी सामाजिक परिचालक मनिसा कार्कीले जानकारी दिनुभयो । उनीहरु पक्राउ परेको अरुलाई पनि थाहा दिई व्यंग्य स्वरुप चिया खुवाएर पठाएको उहाँले जानकारी दिनुभयो ।
‘तीन वटा वडाका कारण सिरहा नगरपालिकालाई खुला दिसामुक्त गर्न समस्या भएको छ, त्यसैले अभियानलाई तीब्रता दिएका छौं, अभियान सफल बनाउन सिरहा नगरपालिकाको पहलमा खुला ठाउँमा दिसा गर्ने व्यक्तिलाई समातेर सम्झाई बुझाई गरी चिया खुवाएर पठाएका हौं’ उहाँले भन्नुभयो ।
सिरहाको ९० प्रतिशत घरमा चर्पी बनिसकेको र अझै १० हजार ५ सय घरमा चर्पी बनाउन बाँकी रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिरहाका प्रमुख राजेश कुशहवाले जानकारी दिनुभयो ।


861 पटक हेरिएको 

