फोहोर वर्गीकरण कसरी गर्ने ?

  वास खबर सम्वाददाता  717 पटक हेरिएको

काठमाडौं : भान्छामा कुहिने र नकुहिने गरी दुई खालको फोहर जम्मा हुन्छन् । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो । फोहोरको स्रोतमै वर्गीकरण गर्ने काम फोहोर व्यवस्थापनको पहिलो काम हो । फोहोरलाई वर्गीकरण गरेपछि जसले फोहोर उत्पादन गर्छ उसैले व्यवस्थापन गर्न सकिन्छ।

नकुहिने फोहर उत्पादक आफैंले बेच्न सक्छन् । कुहिने फोहर उत्पादकले नै मल बनाउन सकिन्छ । मल बनाउन सकिएन भने नगरपालिकाबाट फोहर संकलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ ।

तरकारी, बढी भएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रुखका पात कुहिने फोहर हुन् । यस्तै प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतल, फलाम आदि नकुहिने फोहर हुन् ।

यससँगै सेनेटरी प्याड, डाइपर, विषादीको खाली बोटल, म्याद नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोसाक (पिपीइ), पञ्जा, फुटेका सिसा, घरआँगल बढार्दा आएको धुलो तथा माटो पनि फोहरका रुपमा संकलन हुन्छ । हिजो आज सहरी क्षेत्रमा सेनेटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहरको मात्रा बढ्दै गएको छ ।

यस्तो फोहर कुहिने र नकुहिने भाँडामा नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्छ । फोहरलाई आवश्यकता हेरी छुट्टाछुट्टै भाँडामा राख्नु वर्गीकरण हो।

वर्गीकरण गरिएको फोहर मात्र व्यवस्थापन गर्ने

काठमाडौं महानगरपालिकाले फोहरको दिगो व्यवस्थापनका लागि घरेलु फोहर पुनः वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन गर्ने भएको छ । अहिले काठमाडौं महानगरपालिकाले वडा नम्बर ५, १२ र २७ बाट वर्गीकरणको काम तत्काल थाल्ने जनाएको छ । केही समयपछि ३२ वटै वटाबाट वर्गीकरण भएको फोहर मात्र व्यवस्थापन गर्ने तयारी गरेको छ ।

कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार विगत डेढ वर्षअघि पनि फोहर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएपछि पुनः उक्त प्रक्रिया सुरु गर्न लागिएको हो । वर्गीकरण गरिएको फोहर व्यवस्थापन गर्ने बन्चरेडाँडामा पनि स्थान पहिचानको काम भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो।

फोहर वर्गीकरणसँगै काठमाडौ महानगरपालिकाले वर्गीकरण गर्दा निस्किएका पुनः प्रयोग गर्न सकिने फोहरजन्य सामग्री बिक्रीको प्रबन्ध गरिने महानगरले जनाएको छ । श्रेष्ठका अनुसार स्रोतमा नै फोहरको वर्गीकरण गर्नुको फाइदा र आवश्यकताका बारेमा पहिलो चरणमा नगरवासीलाई जानकारी गराइनेछ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार