
कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नं. ६ मा त्रिभुवन बस्ती खानेपानी संस्था स्थापना हुँदा जीवनराज थापा लाई अध्यक्षमा चयन गरियो । २०५६ सालमा स्थापना भएको खानेपानी संस्थाले २४ बर्षको यात्रा पार गरिसकेको छ। तर अहिलेसम्म नेतृत्व फेरिएका छैनन् । स्थापनाकालकै अध्यक्ष थापाले संस्थालाई डोर्याईरहेका छन् ।
अघिल्लो पटक पुनर्वास नगरपालिकाको प्रमुख हुँदा समेत थापाले खानेपानी संस्थाको अध्यक्ष पद छोडेनन् । खानेपानी संस्थाको अध्यक्ष पनि नछोड्ने खानेपानीको कुशल नेतृत्व पनि नगर्ने थापाको अड्डीका कारण उपभोक्ताहरु भने खानेपानी सेवाबाटै बञ्चित हुन थालेका छन् । संस्थामा न साधारण सभा छ, न लेखापरिक्षण नै । खानेपानी संस्थाको अपारदर्शिताका कारण आर्थिक पक्ष चौपट भएको छ।
उपभोक्ता भेला बोलाई नयाँ समिति चयन गर्न पटक पटक सुझाव दिए पनि कुनै सुनवाई नभएको समितिका कोषाध्यक्ष ईन्दु कडारीया बिष्टले गुनासो गर्नुभयो । खानेपानी संस्थाले नयाँ समिति बनाउने तर्फ कुनै महत्त्व नदिएको उहाँको गुनासो छ । समितिका सदस्य राजकुमार रायमाझी समेत खानेपानी सेवालाई चुस्त बनाउन खानेपानी उपभोक्ताको भेला बोलाई नयाँ समिति चयन गरिनुपर्ने बताउनुहुन्छ ।
स्थापनाकालमा जिल्ला खानेपानी डिभिजन कार्यालयले खानेपानी संस्था उपभोक्तालाई हस्तान्तरण गर्दा पहिलो बर्ष दुई लाख, दोस्रो बर्ष एक लाख अनुदान रकम दिने शर्त गरेकोमा शर्त बमोजिमको एक रूपैया रकम पनि प्राप्त नभएकोले खानेपानी सेवा सञ्चालनमा थप समस्या हुन गएको सदस्य रायमाझीले बताउनुभयो ।
वडा नम्बर ६ मा रहेको त्रिभुवन बस्ती खानेपानी सेवालाई प्रभावकारी बनाउन वडाबाट समेत पटक पटक पहल गरिएको वडा अध्यक्ष मित्र सिंह लामाले बताउनुभयो । खानेपानी संस्थाका अध्यक्ष जीवनराज थापाले ३ बर्ष अघि नै संस्थानलाई हस्तान्तरण गरी सकिएको भने पनि अहिलेसम्म पनि हस्तान्तरण नभएको सदस्यहरु बताउँछन् ।
त्रिभुवन बस्तीमा विगत एक वर्षदेखि खानेपानी ठप्प छ । तर खानेपानी सञ्चालक समिति भने मौन बसेको छ । लाखौं मूल्यको वैकल्पिक विद्युतीय सोलार बिग्रेको पाँच वर्ष वितिसक्दा समेत मर्मतका लागि रकम अभावले त्यतिकै थन्किएको खानेपानी कार्यालयका प्राविधिक विक्रम बरालले बताउनुभयो । अस्तव्यस्त अवस्थामा रहेको खानेपानी सेवा सञ्चालन सुधार तर्फ संस्थाको ध्यान नजाँदा खानेपानी सेवा ठप्प भएको उहाँले बताउनुभयो ।
धेरै जसो उपभोक्ताले बिद्युतीय मोटर जडान गरी खानेपानीको आपूर्ति गर्दै आईरहेका छन्। खानेपानीको स्तरोन्नतिका लागि सञ्चालक समितिले एक बर्ष अघि सम्बन्धित सरोकारवाला र स्थानीय सरकार प्रमुख, उपप्रमुख तथा विभिन्न सरोकारवालासँग सम्पर्क गरी खानेपानी सेवा सुधारका लागि संवाद गरिएको थियो ।
संस्थाका अध्यक्ष थापाले २०७९ वैशाख २५ गते भित्रै खानेपानी उपभोक्ता तथा स्थानीय सरोकारवाला बीच भेला बोलाई समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे पनि अहिलेसम्म पनि कुनै पहलकदमी हुन नसक्दा उपभोक्ता निराश भएका छन्।
खानेपानी सेवा अनियमित हुँदा खानेपानी कार्यालयमा कार्यरत कर्मचारीको पारिश्रमिक समेत लामो समयदेखि वक्यौता छ । खानेपानी कार्यालयका पाले धर्मराज गिरीले २०७६ साल माघ देखि खानेपानीको मासिक ६ हजारका दरले पाउनुपर्ने पारिश्रमिक समेत नपाएको बताउनुभयो । यस्तै खानेपानी कार्यालयका प्राविधिक विक्रम बरालले समेत गत ३ वर्षदेखि पारिश्रमिक पाउन नसकेको बताउनुभयो । ‘


485 पटक हेरिएको 

