खानेपानी सेवा प्रदायकको तालिममा नगरव्यापी समावेशी सरसफाइको बिषयमा पनि सहजीकरण गरिदै

  वास खबर सम्बाददाता  228 पटक हेरिएको

भक्तपुर : राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र, नगरकोटमा खानेपानी तथा सरसफाइ सेवा अभिवृद्धिका लागि सेवा प्रदायकहरूको क्षमता विकास सम्बन्धी तीन दिने तालिम सञ्चालन भइरहेको छ । हिजोदेखि सुरु भएको उक्त तालिममा खानेपानीका साथै समावेशी र समतामूलक सरसफाइको विषय पनि समावेश गरिएको छ ।

समावेशी र समानतामूलक खानेपानी तथा सरसफाइ सेवा (Inclusive and Equitable Water and Sanitation Services) सम्बन्धी विषयलाई सेवा प्रदायकहरूको तालिममा समावेश गर्नु अत्यन्त आवश्यक र सान्दर्भिक रहेको तालिमका सहभागीहरूले बताएका छन् ।

सबै वर्ग, समुदाय, भौगोलिक क्षेत्र तथा सामाजिक-आर्थिक अवस्थाका मानिसहरूले कुनै भेदभाव बिना सुरक्षित, पर्याप्त र दिगो सरसफाइ सेवामा पहुँच पाउन सकून् भन्ने उद्देश्यले तालिममा समावेशी र समतामूलक सरसफाइको विषय समावेश गरिएको तालिम संयोजक चन्द्रा शोभा खाइतुले बताउनुभयो ।

नेपाल जस्तो विविधतायुक्त देशमा खानेपानी र सरसफाइ सेवामा अझै पनि असमानता देखिन्छ । दुर्गम क्षेत्र, विपन्न समुदाय, दलित, अपांगता भएका व्यक्ति तथा महिला र बालबालिकाहरू प्रायः यी सेवाबाट पछाडि परिरहेका हुन्छन् । कतिपय स्थानमा सेवा उपलब्ध भए पनि पहुँच, क्षमता वा सामाजिक कारणले सबैले समान रूपमा प्रयोग गर्न नसकेको अवस्था रहेकोले सेवा प्रदायकहरूलाई समावेशी र समानतामूलक दृष्टिकोणबारे तालिम दिनु अत्यन्त जरुरी रहेको उहाँले बताउनुभयो ।

तालिममा समावेशी तथा समतामूलक सरसफाइको विषय समावेश गर्नुको औचित्य मुख्य रूपमा तीन कारण छन् । ‘पहिलो, नीतिगत र मानवअधिकारको दृष्टिकोणबाट खानेपानी तथा सरसफाइलाई आधारभूत मानव अधिकार मानिएकोले कुनै पनि नागरिकलाई सेवा पहुँचबाट वञ्चित गर्नु हुँदैन भन्ने बुझाइ सेवा प्रदायकमा विकास गर्नु आवश्यक हुन्छ । दोस्रो, सामाजिक न्यायको दृष्टिले समाजका कमजोर र पछाडि परेका समूहलाई प्राथमिकता नदिए असमानता अझ बढ्ने भएकाले त्यसलाई घटाउन समावेशी दृष्टिकोण आवश्यक हुन्छ । तेस्रो, दिगो सेवा व्यवस्थापनका लागि सबै समुदायको सहभागिता सुनिश्चित हुँदा सेवा प्रणाली अझ प्रभावकारी, पारदर्शी र दिगो हुन्छ’ तालिम संयोजक खाइतुले भन्नुभयो।

तालिमले सेवा प्रदायकहरूको क्षमता विकास गर्दै योजना निर्माण, कार्यान्वयन र व्यवस्थापनमा समावेशी दृष्टिकोण अपनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । साथै, समुदायको सहभागिता बढेसँगै सेवा प्रणालीप्रति विश्वास र अपनत्व पनि वृद्धि हुने सहभागीहरूको भनाइ छ ।

नेपालमा नगरव्यापी समावेशी सरसफाइ (Citywide Inclusive Sanitation – CWIS) अवधारणा क्रमशः विकास हुँदै गएको छ । सरसफाइ व्यवस्थापन अझै पनि चुनौतीपूर्ण रहेको वर्तमान अवस्थामा दिगो र समावेशी समाधानको आवश्यकता बढ्दो छ । यही आवश्यकतालाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) ले नेपालका सातै प्रदेशका सात वटा नगरपालिकामा नमुनाको रूपमा ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार (नेपाल) कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।

यस कार्यक्रमले नगरपालिकाहरूलाई समावेशी योजना, प्रविधि छनोट, सेवा व्यवस्थापन तथा वित्तीय मोडेल विकासमा सहयोग पुर्‍याउँदै आएको नगरव्यापी समावेशी सरसफाइ एलायन्स संयोजक सतीश जंग शाहीले बताउनुभयो ।

उहाँका अनुसार यस्ता पहलहरूले खानेपानी तथा सरसफाइ सेवा प्रदायकहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछन् । सेवा प्रदायकहरूले समावेशी र नगरव्यापी दृष्टिकोण बुझ्न सकेमा सेवा विस्तार गर्दा कुनै पनि समुदायलाई पछाडि नछोड्ने (Leave No One Behind) सिद्धान्तलाई व्यवहारमा लागू गर्न सकिन्छ ।

संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (UN-Habitat) र राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र, नगरकोटको संयुक्त आयोजनामा भइरहेको उक्त तालिममा खानेपानी तथा उपभोक्ता समिति र खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड गरी २५ सेवा प्रदायक संस्थाका ४० जनाको सहभागिता रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार