निर्देशित जग्गा विकास नक्सा नसच्याए भूमिगत खानेपानीका पाइप समस्या बन्न सक्ने

  वास खबर सम्वाददाता  525 पटक हेरिएको

काठमाडौ : काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले निर्देशित जग्गा विकास – गाइडेड ल्याण्ड डिभलपमेन्ट (जीएलडी) नक्सालाई बस्ती, समाज र भूगोलको वास्तविक अवस्थामा आधारित बनाउनु पर्ने बताउनुभएको छ । पूर्वाधार निर्माण र सहरी व्यवस्थापनमा काम गर्ने कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसँगको समन्वय बैठकमा उहाँले भन्नुभयो ‘यस अघिको नक्सा टेबुलमा बसेर बनाइएको हो । यो नक्सा योजना कार्यान्वयन गर्ने ठाउँमा गएर बस्तुस्थिति अध्ययन गरेर मात्र तयार पार्नुपर्छ, यसले कार्यान्वयन योग्य नक्सा बन्छ, विकासमा स्थानीय सहभागिता बढ्छ, अपनत्व हुन्छ ।’

डंगोलले पूर्वाधार निर्माण र उपयोगका विषयमा धारणा राख्दै भन्नुभयो, ‘युनिभर्सल डिजाइनमा काम गरौँ । यसबाट पूर्वाधार पहुँचयुक्त हुन्छन् । विकास सबैका लागि हुन्छ ।’

बैठकमा योजनाका विषयमा धारणा राख्दै महानगरपालिकाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले भन्नुभयो ‘विद्युत प्राधिकरणले जमिन सतहबाट ५० सेन्टिमिटर तल तार विछ्याएको छ । जवकि खानेपानीका पाइपलाइन ९० सेन्टिमिटर तल छन् । यसले निर्माण अवधिमा त खासै समस्या हुँदैन तर मर्मत उपयोगमा ठूलो समस्या सिर्जना गर्छ ।’

यस्तै खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजन इञ्जिनियर रविन्द्र पोखरेलले भन्नुभयो, ‘यो डिजाइन गलत छ । भोलि आउन सक्ने जोखिम आजै आँकलन गरौँ ।’ उहाँका अनुसार सडकमा खानेपानीका पाइप धेरै भएका ठाउँमा ५ वटा सम्म छन् । तर वितरण प्रणालीका लागि भूमिगत गरिएका ठाउँमा कतिवटा सम्म तार छन्, भन्न सकिने अवस्था छैन ।

उहाँको यो भनाइमा बैठकमा सहभागी नेपाल विद्युत प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख ताराप्रसाद प्रधानले कुनै प्रतिक्रिया दिनुभएन । महानगरपालिकाले बसन्तपुर सम्पदा क्षेत्रमा ढुङ्गा बिछ्याउने योजना कार्यान्वयनमा जानु अघि प्राधिकरणबाट विजुली वितरण प्रणालीको काम सक्नका लागि गरिएको अनुरोधमा प्रधानले यसमा राखिने बक्स ठूला हुने र यस्ता बक्स राख्न मिल्ने भए काम गर्न सकिने बताउनुभयो ।

सहरी व्यवस्थापनका विषयमा महानगरपालिका आएका गुनासा र सम्बोधनका लागि साझेदारको सहभागिता विषयमा महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले, चकुन्चा खोला, धोवीखोला लगायत नदी तथा खोलाको पूर्वाधार सुधारमा बर्खा अगाडि नै काम गर्न सकिएन भने डुवानको समस्या हुने बताउनुभयो ।

‘सडकका किनारामा रहेका रेलिङ्गमा रङ्ग लगाउँदा, कुच्चिएका, भाँचिएका, बाङ्गिएकालाई नसोझ्याई जस्तो छ त्यस्तैमा लगाइएको छ । सहरमा ठाउँ ठाउँमा पानीको चुहावट भएर आवागमन र सुन्दरतामा समस्या देखिने गरेको छ । साझेदारले समयमा आफ्ना मातहतका संरचनाको सुधार गरिदिए महानगरमा आउने गुनासाको संख्या घट्ने थियो ।’ उहाँको भनाइ थियो ।

उपत्यका विकास प्राधिकरणका सूचना अधिकारी सौरभ ढकालका अनुसार महानगरपालिका क्षेत्रभित्र ४७५ किलोमिटर निर्देशित जग्गा विकास अन्तर्गतको सडक छ । यसमध्ये ३ सय किलोमिटर खोलि सकिएको छ ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले एकीकृत विकासका लागि साझेदार बीच समन्वय र सहअस्तित्व स्वीकारमा जोड दिँदै भन्नुभयो, ‘काठमाडौँका लागि आफूले मात्र उत्कृष्ट काम गरेर पुग्दैन । अरुको कामलाई पनि उत्कृष्ट बनाउने संस्कार विकास गर्नुपर्छ । सहज र दिगो विकास सबैको दायित्व हो भन्ने भावना जागृत गराउनु पर्छ ।’

काठमाडौं महानगरपालिकाले निर्माण गरिरहेको पैदल मार्गमा मेलम्ची खानेपानी आयोजना र नेपाल विद्युत प्राधिकरणवाट ठाउँ ठाउँमा खन्न थालेको विषय सहित बैठकमा पूर्वाधार निर्माणमा देखिएका असमन्वय सम्बन्धी प्रस्तावहरु थिए । विगत कमजोरी कसरी सुधार गर्न सकिन्छ । प्रस्ताव आउनु पछाडिका कारण हुन् ।

बैठकमा प्रस्ताव पेश गर्दै सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले भन्नुभयो, ‘सार्वजनिक जग्गा संरक्षण गर्न र नदीको सीमाङ्कनका लागि महानगरपालिकाले नापी कार्यालयवाट नापी नक्सा तथा फिल्ड बुक र नापी तथा मालपोत कार्यालयवाट स्रेस्ता प्राप्त गर्ने अपेक्षा राखेको छ ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार