ट्रेन्च अर्थात खाडल विधिबाट पनि व्यवस्थापन गर्न सकिन्छ दिसाजन्य लेदो

खडकले देखाउँदैछ पूर्ण सरसफाइको बाटो

  वास खबर सम्वाददाता  753 पटक हेरिएको
🔗
33
Shares

सप्तरी : खडक नगरपालिका भित्र मानवमूत्र जथाभावी विसर्जन गर्न पाईदैन । नगरपालिकाले ‘मानव मलमूत्रजन्य फोहोर व्यवस्थापन ऐन २०७९’ जारी गरी कुनै पनि ठाउँमा खुला रुपले मलमूत्र विसर्जन गर्न प्रतिबन्ध लगाएको छ । तर खड्क नगरपालिकासँग दिसाजन्य लेदो व्यवस्थापन केन्द्र भने छैन ।

अब प्रश्न उठ्न सक्छ, प्रशोधन केन्द्र नै नभएको नगरपालिकामा नदीनाला, खोला खोल्सीमा पनि फ्याँक्न नदिएर कहाँ लगेर मिल्काउने त ?’

यसको समाधान नगरपालिकाले ट्रेन्च अर्थात खाडल विधिबाट गर्दै आएको छ । नगरपालिकाले वस्तीभन्दा करिब २ किलोमिटर टाढा वडा नं. ६ को जंगलभित्रको खाली ठाउँमा ट्रेन्च अर्थात खाडल निर्माण गरेको छ ।


नगरपालिकाको ट्याङ्कर तथा निजी क्षेत्रबाट सञ्चालित ट्याङ्करले समेत यही लगेर विसर्जन गर्छन्। निजी व्यवसायीले फूलबारी, नदी, खेतबारी कतै फ्याँकिरहेको देखेमा स्थानीयले तत्काल नगरपालिकामा फोन गर्न सक्छन् ।

नगरपालिकाका मेयर जय प्रकाश चौधरी भन्नुहुन्छ ‘खडक नगरपालिकाको जनता यत्ति चेतनशील छन् कि, खुला ठाउँमा दिसाजन्य लेदो फ्याँकेको देखेमा नगरपालिकामा फोन आईहाल्छ।’ यसको लागि नगरपालिकाले कल सेन्टर छुट्याएको छ, ९८५२८५४०५९

ट्रेन्च विधिबाट यसरी गरिन्छ व्यवस्थापन

दिसाजन्य लेदो व्यवस्थापन स्थलमा १५/२० वटा खाडलहरु लाइनै खनेका छन् । ढलको पाइप विछ्याउन खनिने खाडल जस्तै यी ट्रेन्चहरु करिब १०/१२ मिटर लम्बाईका छन् । सेप्टिक ट्याङ्कीबाट उठाएको दिसाजन्य लेदो ट्याङ्कर चालक (सरसफाइ कर्मचारी) ले सुरक्षित तवरले ढुवानी गरी यिनै ट्रेन्चहरुमा खन्याउँछन् ।


एउटा खाडल भरिएपछि अर्को खाडल र एवं रीतले अन्तिम खाडल भरिएपछि पुनः पहिलो खाडलमा विसर्जन गरिदै आएको सरसफाइकर्मी बताउँछन् ।

यसरी विसर्जन गरिएको दिसाजन्य लेदो सूर्यको किरण र हावाको माध्यमबाट बाष्पीकरण हुने र जमिनमा माटोले सोसेपछि सुख्खा माटोको डल्ला जस्तै बन्छ । यसको परिक्षण समेत भैसकेको र जुकाको अण्डा बाहेक अन्य हानिकारक रसायन नभेटिएको नगरपालिकासँग सहकार्य गर्दै आएको संस्था सवल नेपालका वास अफिसर परमेश्वर झाले बताउनुभयो ।

बाहिरी मानिस र जनावरको प्रवेशलाई रोक्न दिसाजन्य लेदो व्यवस्थापन स्थलमा तारको घेराबार लगाईएको छ । त्यहाँ लेखिएको छ ‘सुरक्षित दिसाजन्य लेदो व्यवस्थापन स्थल, ट्रेन्च’

एस.एन.भी.को सहयोग र सवल नेपालको समन्वयमा निर्माण गरिएको दिसाजन्य लेदो व्यवस्थापन स्थलमै ठोस फोहोरमैलाको समेत व्यवस्थापन गरिदै आएको छ ।

प्रशोधन केन्द्र निर्माण गर्ने नगरपालिकाको योजना

नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापनको लागि प्रशोधन केन्द्र निर्माण गर्ने योजना बनाएको छ । कार्यक्रम ‘टक अफ द टाउन’ सँग आगामी योजनाबारे सुनाउँदै मेयर चौधरीले नगरपालिकालाई आर्थिक लाभ हुने किमिसले प्रशोधन केन्द्र बनाउने योजनामा रहेको सुनाउनुभयो। ‘दिसाजन्य लेदो प्रशोधन केन्द्र बनाउने योजना छ, यसको लागि ठूलो आर्थिक लगानी लाग्ने भएकाले स्रोतको खोजी गरिरहेको छु’ उहाँले भन्नुभयो ।

साथै उहाँले सफाइ कर्मचारीको बीमा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘सरसफाइ कर्मचारीको बीमाको लागि आउँदो अधिवेशनमा बजेट विनियोजन गर्छु’ उहाँले भन्नुभयो।

दुई बर्ष भित्र सरसफाइयुक्त नगरपालिका घोषणा

कार्यक्रम ‘टक अफ द टाउन’सँग कुराकानी गर्दै मेयर जय प्रकाश चौधरीले दुई बर्ष भित्र नगरपालिकालाई सरसफाइयुक्त नगरपालिका घोषणा गर्ने गरी काम भैरहेको बताउनुभयो । उहाँले पाँच वटा सफा नमुना गाउँ घोषणा भईसकेको र आगामी दुई बर्षभित्र सबै वडाहरु सफा र स्वच्छ वडा घोषणा गरी नगरपालिकालाई नै घोषणा गर्ने योजना रहेको बताउनुभयो ।


खडक नगरपालिकाको ४ नम्बर वडाको कर्मनियाँ टोल स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यहरुको बीचमा बसेर मेयर चौधरीले वाचा गर्नुभयो ‘यो बर्षमा केही टोलहरुलाई सरसफाइयुक्त टोल घोषणा गर्दैछौं, अर्को बर्ष बृहत कार्यक्रम गरी दुई बर्षको लक्ष्य राखेर कार्यक्रमहरु निर्धारण गर्नेछौं त्यसपछि नगरपालिकालाई सरसफाइयुक्त नगरपालिका घोषणा गर्नेछौं।’

यसका लागि नगरपालिकाको हरेक टोलमा टोल स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन भईसकेको छ ।

नगरपालिकामा खानेपानी, सरसफाइ र स्वच्छता प्रबर्द्वनका लागि एस.एन.भी.नेपालको सहयोगमा सवल नेपालले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

सवल नेपालका वास अफिसर परमेश्वर झाका अनुसार नगरपालिकामा मेयरको अध्यक्षतामा नगर स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, वडामा वडाध्यक्षको अध्यक्षतामा वडा स्तरीय र टोलमा टोल स्तरीय खानेपानी, सरसफाइ र स्वच्छता समन्वय समिति गठन गरिएको छ ।


टोल स्तरीय समन्वय समितिको नियमित बैठकमा खानेपानी, सरसफाइ र स्वच्छताको बिषयमा छलफल हुन्छ । टोल स्तरीय समन्वय समितिको प्रतिनिधी वडा स्तरीय समन्वय समितिमा समेत सदस्य हुन्छन् । टोल स्तरीय समितिमा समाधान नभएका बिषयहरु वडा स्तरीय समन्वय समितिमा र त्यहाँ पनि नभए नगरस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिमा पठाउने गरिन्छ । यसरी मेयरकै अध्यक्षतामा रहेको नगर स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिबाट समस्याको निदान हुने गरेको झाले बताउनुभयो । ‘यसरी टोल तहको खानेपानी, सरसफाइ र स्वच्छताका सवालहरु नगर प्रमुखसम्म पुग्ने माध्यम सिर्जना भएको छ’ वास अफिसर झाले भन्नुभयो।

सरसफाइ कार्यक्रमको सिकाई

एस.एन.भी.नेपाल र सवल नेपालसँगको सहकार्यमा सरसफाइ र स्वच्छता सम्बन्धी कार्यक्रम सञ्चालन गरेपछि स्थानीय सरकारको नेतृत्व बिना यो सम्भव छैन भन्ने निष्कर्षमा पुग्नुभएको छ मेयर जय प्रकाश चौधरी । ‘सरसफाइ सम्बन्धी कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउनका लागि स्थानीय सरकार मात्रै सक्षम छ’ उहाँले जोड दिदै भन्नुभयो ‘स्थानीय सरकार एक्टिभ भई दिएन भने प्रदेश र केन्द्र सरकारले जत्ति सुकै ऐन कानुन नियमहरु लादे पनि सरसफाइयुक्त पालिका हुन सक्दैन ।’


सरसफाइयुक्त प्रदेश र देश बनाउन सबै स्थानीय सरकारले ऐन, नीति नियम, कानुनहरु बनाएर सक्रिय रुपमा लागु गर्नुपर्ने उहाँको धारणा छ । ‘सरसफाइ भएपछि मात्र देश स्वस्थ हुन्छ र स्वस्थ भएपछि मात्र विकास हुन्छ । स्वस्थ जनता छैन भने कसरी काम गर्छ ? कसरी विकास हुन्छ ? त्यो सम्भव नै छैन’ उहाँले भन्नुभयो ।

उहाँको एउटै सन्देश छ ‘देश विकास गर्नुछ भने सरसफाइ हुनुपर्छ ।’

नगरपालिकामा बनेका सरसफाइ सम्बन्धी ऐन, नियम

खडक नगरपालिकाले एस.एन.भी.नेपालको सहजीकरणमा सरसफाइ र स्वच्छता सम्बन्धी निम्न ऐन, नियमहरु बनाएको छ ।

√ सार्वजनिक शौचालय सेवा तथा व्यवस्थापन कार्यविधि

√  दिसाजन्य लेदो व्यवस्थापन पेशागत स्वास्थ्य तथा सुरक्षा सम्बन्धी सञ्चालन कार्यविधि

√  मानव मलमूत्रजन्य फोहोर व्यवस्थापन ऐन २०७९

√  फोहोरमैला व्यवस्थापनमा केन्द्रित शहरी सरसफाइ र स्वच्छताको लागि सामाजिक व्यवहार परिवर्तन सञ्चार रणनीति

√  नगर सरसफाइ योजना २०७७

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार