
सिरहा : सिरहाको लहान नगरपालिकाले मुसहर समुदायलाई बेड रुम, भान्छा कोठा र शौचालय सहितको नयाँ घर हस्तान्तरण गरेको छ। सुरक्षित आवास कार्यक्रम अन्तर्गत मुसहर समुदायलाई नयाँ घर हस्तान्तरण गरेको हो । वडा-१५ मा ३८ र वडा-१२ मा १२ गरी ५० घर परिवारलाई घर हस्तान्तरण गरिएको नगर प्रमुख महेश चौधरीले जानकारी दिनुभयो।
आर्थिक वर्ष ०७९/०८० मा नगरपालिकाले विनियोजन गरेको १ करोड रुपैयाँ रकमबाट घर निर्माण गरिएको हो। त्यसमा गैरसरकारी संस्थाले १ करोड थप सहयोग गरेको नगर प्रमुख चौधरीले सुनाउनुभयो। उहाँका अनुसार यस वर्ष फेरि ६० वटा घर निर्माण गर्नका लागि बजेट विनियोजन गरिएको छ। चालु आवमा वडा १३, २१ र २२ मा ६० घर निर्माण गरि मुसहर समुदायलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले वडा-१५ मा ६७६ र वडा-१६ मा ३७६ जनालाई निस्सा वितरण गरेको छ। केही महिना भित्रै सबैलाई लालपूर्जा प्रदान गरिने नगरपालिकाको योजना छ। सुरक्षित घर पाएपछि उनीहरू खुशी भएका छन्। नगरपालिकाले निर्माण गरेको घरमा दुई बेड रुम, भान्सा कोठा र शौचालय छन्।


541 पटक हेरिएको 

