सरसफाइ अभियानलाई सशक्त बनाउन ४ सहयोग समिति गठन

झापा : झापामा सञ्चालित खुल्ला दिसामुक्त अभियानलाई सहयोग पु-याउन जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले चार सहयोग समिति गठन गरेको छ ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, कार्यदलको बैठकले सहयोग समितिहरु गठन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सरसफाइ फोकल पर्सन रुद्रबहादुर न्यौपानेले जानकारी दिनुभयो ।

खुल्ला दिसामुक्त अभियानमा शिक्षा र स्वास्थ्य क्षेत्र संस्थागत रुपमा परिचालन हुन नसकेको गुनासो आइरहेको बेला सहयोग समिति गठन गरिएको हो । समितिले क्षेत्रगत परिचालन गरेमा खुल्ला दिसामुक्त अभियान संस्थागत हुन सक्ने खुल्ला दिसामुक्त अभियान सहजीकरण गरिरहेको सहारा नेपालका खुल्ला दिसामुक्त अभियानका संयोजक किसन गौतमले जानकारी दिनुभयो ।

कसको नेतृत्वमा कुन समिति ?

१. राजनीतिक एवम् सामाजिक क्षेत्र परिचालन सहयोग समिति :

संयोजक – जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल

जिम्मेवारी – राजनीतिक एवम् सामाजिक क्षेत्रको परिचालन गर्ने ।

 

२. प्राविधिक समिति : 

संयोजक -जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवम् खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख इञ्जिनियर सीताराम काफ्ले

जिम्मेवारी – स्थानीय तहसम्म खुल्ला दिसामुक्त अभियानमा प्राविधिक सहयोग गर्ने

 

३. प्रशासनिक क्षेत्र परिचालन सहयोग समिति : 

संयोजक – सहायक प्रमुख जिल्ला अधिकारी
जिम्मेवारी – प्रशासनिक क्षेत्र परिचालन गर्ने

 

४. क्षेत्रगत परिचालन सहयोग समिति : 

संयोजक — उप जिल्ला शिक्षा अधिकारी

जिम्मेवारी – विद्यालय क्षेत्रलाई परिचालन गर्ने 

 

समितिको औचित्य

खुल्ला दिसामुक्त अभियानमा आ – आफ्नो क्षेत्रबाट सकिने सहयोग जुटाई संस्थागत गर्न र अभियानलाई अझ प्रभावकारी बनाउन समिति गठन गरिएको हो ।

स्वास्थ्य शिक्षाको जिम्मेवारी लिएका महिला स्वास्थ्य स्वयंसेविका र शिक्षककै घरमा समेत शौचालय नभएको अवस्थामा विद्यालय र स्वास्थ्य चौकीहरुले क्षेत्रगत परिचालन गर्ने हो भने खुल्ला दिसामुक्त अभियानले तीव्रता लिने सहारा नेपालका खुल्ला दिसामुक्त अभियानका संयोजक किसन गौतमले जानकारी दिनुभयो ।

आसन्न संघ र प्रदेश सभाको चुनाव लगत्तै जिल्ला शिक्षा कार्यालय श्रोत केन्द्र मार्फत खुल्ला दिसामुक्त अभियान प्रवद्र्धन र घरायसी शौचालय निर्माणका लागि सम्पूर्ण विद्यालय क्षेत्रलाई परिचालन गरिने उप जिल्ला शिक्षा अधिकारी उद्धव विष्टले प्रतिबद्धता जनाउनुभयो ।

यस्तै सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले भने खुल्ला दिसामुक्त राष्ट्रिय अभियानलाई सफल बनाउनका लागि आवश्यक सम्पूर्ण प्रशासनिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

बैठकले खुल्ला दिसामुक्त घोषणा गर्ने साविकका गाउँ विकास समितिहरु र नगरपालिकालाई खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको तर्फबाट दिइने प्रोत्साहन पुरस्कारलाई निरन्तरता दिने समेत निर्णय गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार