चाँगुनारायण नगरपालिकाको स्कुल-स्कुलमा ‘विस्वास अभियान’

  वास खबर सम्बाददाता  723 पटक हेरिएको
🔗
48
Shares

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका भित्रका हरेक माध्यमिक विद्यालयमा ‘विद्यालय स्वास्थ्य सचेतना अभियान’ सञ्चालन भैरहेको छ। विद्यालयको सुरक्षित शौचालयको प्रयोग, व्यक्तिगत सरसफाइ र बानी व्यवहार परिवर्तनका लागि सचेतनामूलक अभियान सञ्चालन गरिएको खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाका प्रमुख सुरेन्द्र लामिछानेले जानकारी दिनुभयो।

‘विद्यालय स्वास्थ्य सचेतना अभियान’ अन्तर्गत तारे पद्धति अनुसार विद्यालयको स्थितिको स्वमूल्याङ्कन गरिनुका साथै विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधिमा भएका सूचक तथा मापदण्डहरुका बारेमा जानकारी गराईन्छ।

अभियान अन्तर्गत बाल क्लव, वास सम्पर्क शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र विद्यालय स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका पदाधिकारीहरुको सहभागितामा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी बानी व्यवहार परिवर्तनका लागि अभिप्रेरित गर्न जोड दिईन्छ।

विस्वास इनोभेशन सेन्टरको सहजीकरणमा खानेपानी, सरसफाइ तथा स्वच्छता शाखाले आयोजना गरेको विद्यालय स्वास्थ्य सचेतना अभियान हालसम्म चुनादेवी माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, बालमिकेश्वर माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, चाँगुनारायण माध्यमिक विद्यालय र आजात माध्यमिक विद्यालयमा सञ्चालन भैसकेका छन् ।

बालभुषण आधारभूत विद्यालय र दोलागिरी माध्यमिक विद्यालयमा भने बुधबार मात्र यो अभियान सञ्चालन गरिएको छ।

यो अभियान पञ्चकन्या माध्यमिक विद्यालय र महेन्द्रग्राम माध्यमिक विद्यालयमा भने आज सञ्चालन हुनेछ।

विद्यालयमा हुने यस प्रकारका अभियानले बालबालिकाहरुको खानेपानी, सरसफाइ र स्वच्छता आनीबानीमा परिवर्तन आउने विद्यालयका शिक्षकहरु बताउँछन् । विद्यालयमा सिकेका ज्ञानहरु बालबालिका मार्फत आफ्ना बुबा आमा र समुदायसम्म पुग्ने भएकाले यस्ता अभियानहरु निक्कै प्रभावकारी हुने शिक्षकहरुको भनाइ छ।

विद्यालयले स्वमूल्याङ्कन गर्दा आफ्नो विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छताको अवस्थाबारे अवगत हुने र भावी कार्ययोजनाहरु बनाउन सघाउ पुग्ने वास शाखा प्रमुख लामिछानेले बताउनुभयो ।

‘खानेपानी, सरसफाइ र स्वच्छताको कुन सूचक कमजोर रहेछ, कुन सूचकमा बलियो छ भन्ने थाहा पाए पछि कमजोरलाई सुधार्न तर्फ लाग्नुहुन्छ’ लामिछाने भन्नुहुन्छ ‘कमजोर पक्षलाई सुधार्न विद्यालय सुधार योजनामा समेत योजनाहरु समावेश गर्न सक्नुहुन्छ।’

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार