
धादिङ : धादिङको खनियाबास गाउँपालिकालाई २०८३ साल पुस मसान्त भित्रमा नमुना सफा र स्वच्छ गाउँपालिका घोषणा गर्ने गरी अम्वोटे घोषणा पत्र जारी गरिएको छ। धादिङको खनियाबास गाउँपालिकाका सम्पूृर्ण वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका पदाधिकारीहरुको २ दिने अध्ययन, अबलोकन भ्रमण तथा पूर्ण सरसफाइ सम्वन्धी क्षमता अभिवृद्धि सम्वन्धी तालिममा यो घोषणा पत्र जारी गरिएको हो।
धादिङकै गंगाजमुना गाउँपालिकाको वडा नं. ३ स्थित नमुना सफा र स्वच्छ अम्बोटे गाउँको अध्ययन अवलोकन भ्रमण तथा पूर्ण सरसफाइ सम्बन्धी क्षमता अभिवृद्धि तालिममा वडा नं. १ लाई आर्थिक बर्ष २०८२/०८३ भित्र, वडा नं. २ लाई २०८३ साल भित्र सफा र स्वच्छ वडा घोषणा गर्ने लक्ष्य तोकेको छ।
यस्तै वडा नं. ३ लाई आ.व.२०८२ भित्र, वडा नम्बर ४ लाई आ.व. २०८२/०८३ भित्र र वडा नम्बर ५लाई आ.व. २०८२/०८३ भित्र सफा र स्वच्छ क्षेत्र घोषणा गरी २०८३ साल पुस मसान्त भित्र खनियाबास गाउँपालिकालाई नै नमुना स्वच्छ र सफा क्षेत्र घोषणा गर्ने लक्ष्य राखिएको शान्ति नेपालका परियोजना संयोजक ईन्द्रमान शाक्यले जानकारी गराउनुभयो।

खनियाबास गाउँपालिकाको आयोजना तथा शान्ति .नेपालको साझेदारी र सहजीकरणमा गाउँपालिकाका ५ वटा वडाका वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यहरुलाई २ चरणमा गरी तालिम प्रदान गरिएको थियो।
खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रमका लागि वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने मुख्य उद्देश्यका साथ अध्ययन अवलोकन भ्रमण तथा तालिम प्रदान गरिएको उहाँले बताउनुभयो।
कार्यक्रममा वडाका वडा अध्यक्ष्य, स्वास्थ्य संस्थाका प्रतिनिधि, पालिका स्वास्थ्य शाखा प्रमुख लगायत सम्पूर्ण वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यहरु, आमा समूह, विद्यालयका प्रधानाध्यापक, विद्यालय नर्सहरु गरी जम्मा ६५ जनाको सहभागिता थियो।।
कार्यक्रमबाट खनियावास गाउँपालिकालाई नमुना सफा तथा स्वच्छ गाउँ घोषणा अभियानलाई सहयोग पुग्ने विश्वास गरिएको छ।


961 पटक हेरिएको 

